- कथामा दैनिक जीवनका सामान्य लाग्ने पात्रहरू भयंकर र खुंखार अवतारमा देखिने गर्छन् । लेखक गिरीले आफ्ना कथामा वर्तमानदेखि इतिहाससम्मका विकृतिहरूमाथि तीक्ष्ण व्यंग्य पनि गरेका छन् ।
पत्रकार तथा कथाकार खगेन्द्र गिरीको कथासंग्रह ‘भग्न प्रेमशाला’ लोकार्पण गरिएको छ । शुक्रबार एक कार्यक्रमबिच संग्रह सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै पत्रकार तथा लेखक वसन्त बस्नेतले नेपाली साहित्यमा गडगडाएर कथाकारको प्रवेश भएको बताए । ‘संग्रहमा सफा, सौम्य र स्निग्ध कथा छैनन् । फोहोर, जुठा कथाहरू छन्, जसले कथा पढ्न झन् मजा आउँछ । संग्रहमा सुकिलो–मुकिलो कथाभन्दा जहाँ जस्तो छ, त्यस्तै कथा लेखौँ भन्ने कथाकारको आशय देखिएको छ,’ बस्नेतले भने । यस्तो कथासंग्रहले नेपाली साहित्यलाई अघि बढाउन राम्रो भूमिका खेल्ने उनको भनाइ छ ।
लेखक, रंगकर्मी सगुना शाहले ‘भग्न प्रेमशाला’ एउटा अब्बल कथासंग्रहको रूपमा आएको बताइन् । ‘मजस्तो काठमाडौंमा हुर्किएको मान्छे यस्तै कथामार्फत धेरै ठाउँमा पुग्न सकेको छु । साधारण जनजीवनको असाधारण कथा पढ्न पाएको छु । मलाई यस्तै कथा पढ्नु छ । सुन्नु छ,’ शाहले भनिन्, ‘यति गहिराइमा पुगेर यसरी पनि लेख्न सकिने रहेछ भनेर कथासंग्रहले मेरो मथिंगल हल्लायो ।’
आख्यानकार नयनराज पाण्डेले कथासंग्रह यो वर्ष आएका केही उल्लेखनीय कथासंग्रहमध्ये एक भएको बताए । ‘कहिले सिद्धान्तको आँखाले हेरेर, कहिले राजनीतिक र सामाजिक विभेदको कसीमा घोटेर कहिले लेखकीय जिम्मेवारी र उसको बैसाखीको झ्यालबाट नियालेर हामीले कथाको फराकिलो संसार, विशाल सतहलाई साह्रै साँघुरो क्षेत्रमा खुम्च्याएछौ भन्ने बोध भयो,’ आख्यानकार पाण्डेले भने । संग्रहमा कथाकारले कथावाचनलाई आफ्नो किसिमको पद्धतिको विकास गरेको, जुन नेपाली साहित्यमा खासै प्रयोग नभएको समेत तर्क गरे । उनका अनुसार कथामा आक्रोशलाई पनि उदास भावमा व्यक्त गरिएको छ, त्यो कथाकारको सामथ्र्य हो ।
लेखक गिरीले आफ्नो पहिलो कथासंग्रहमा स्वैरकल्पनालाई हतियार बनाएर यथार्थहरूको वर्णन गरेका छन् । उनका कथामा दैनिक जीवनका सामान्य लाग्ने पात्रहरू भयंकर र खुंखार अवतारमा देखिने गर्छन् । पत्रकारिता पेसामा आबद्ध लेखक गिरीले आफ्ना कथामा वर्तमानदेखि इतिहाससम्मका विकृतिहरूमाथि तीक्ष्ण व्यंग्य पनि गरेका छन् ।
आख्यानकार तथा निबन्धकार नारायण ढकालले गिरीले आफ्ना कथामा सामाजिक, आर्थिक, राजनीतिक, नैतिक सबैखाले संकटलाई विषयवस्तु बनाएको उल्लेख गरेका छन् । गिरीको मुख्य साहित्यिक उपकरण स्वैरकल्पना भए पनि त्यसलाई उडन्ते तवरले प्रयोग नगरिएको ढकालको भनाइ छ ।
गिरीले एन फ्र्यांकको विश्वप्रसिद्ध किताब ‘द डायरी अप ए योङ गर्ल’को नेपाली अनुवाद ‘एक किशोरीको डायरी’ प्रकाशन गरिसकेका छन् । ‘भग्न प्रेमशाला’लाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।