लोकतन्त्र द्वन्द्वमा होइन, संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल

शुक्रबार, २२ कार्तिक, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमार्फत बलियो हुने बताएका छन्। 

प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेश सभाका सभामुख, उपसभामुखसँग आज राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा उनले जनताको आवाज सुनेर लोकतान्त्रिक आचरणलाई जीवनमा अंगाल्न जरुरी भएको बताए । 

यसले लोकतन्त्र र संसदीय प्रणाली अझ सुदृढ हुन्छ भन्ने बिर्सन नहुने उनको धारणा थियो । 

राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधानको रक्षा र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन प्रतिनिधिसभा सदस्यको आगामी फागुन २१ गतेकाे निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा दायित्व हो भन्ने मर्म बुझेर अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताए ।  

राष्ट्रपति पौडेलले संसदीय प्रणालीको मजबुती कुनै एक दल, एक सरकार वा एक नेतृत्वको मात्र उत्तरदायित्व नभई सामूहिक राष्ट्रिय दायित्व भएको बताए । उनले भने, ‘संसद् र सरकारको विशिष्ट भूमिका भनेकै जनताको आवाजलाई सुनिन सक्ने, बुझिन सक्ने र कार्यान्वयन गर्न सक्ने संरचना निर्माण गर्नु हो ।’ 

उनले नेपालको संविधान केवल एउटा कानुनी दस्ताबेज मात्र नभई यो सहयात्रा, सहमति र सामूहिक संकल्पको मार्गचित्र भएको बताउँदै यसको संरक्षणमा सबैको प्रतिबद्धता भएको बताए । राष्ट्रपति पौडेलले असन्तुष्ट स्वरहरूलाई बेवास्ता गरेर होइन, सुनेर समाधान खोज्ने नीति सबैमा हुनुपर्ने स्पष्ट पारे । 

राष्ट्रपति पौडेलले नेपालको संविधानले राष्ट्रपतिलाई कुन अवस्थासम्म हस्तक्षेप गर्ने अधिकार दिएको छ भन्ने सबैलाई जानकारी भएको बताउँदै मुलुक जटिल र गम्भीर अवस्थामा पुगेको अवस्थामा त्यो आपत्तिबाट मुलुक र जनता जोगाउन मात्र कार्यकारी भूमिकामा देखिनेजस्तो गरी निर्णय लिएको बताए। उनले भने, ‘राष्ट्रपतिले हस्तक्षेप गर्नुपर्ने अवस्थाको दुरुपयोग नहोस् भन्नेमा म चिन्तित र सचेत छु ।’ 

सुझावित समाचार