पूर्वमन्त्री खड्काको कम्पनीलाई स्काउटको सातदिने अल्टिमेटम : साढे तीन करोड बक्यौता नतिरे जायजेथाबाट असुलिने

शुक्रबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण

पटक–पटक ताकेता गर्दा पनि वर्षौँदेखिको करिब साढे तीन करोड बक्यौता नतिरेको पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको कम्पनीलाई नेपाल स्काउटले सातदिने अल्टिमेटम दिएको छ । यसलाई अन्तिम मौका भनेको स्काउटले अझै अटेरी गरे जायजेथाबाट उक्त रकम असुल्ने चेतावनी दिएको छ । 

०६५ देखि स्काउटको जग्गा र संरचना भाडामा लिएको खड्काको कम्पनी खड्काल्यान्ड डेभलपमेन्ट प्रालिले भाडा तिर्न आनाकानी मात्रै गरेको छैन, सम्झौता अवधि सकिँदा पनि स्काउटको सम्पत्ति हडप्दै आएको छ । स्काउटका एक अधिकारीका अनुसार पूर्वमन्त्री खड्काको कम्पनीले तिर्नुपर्ने बक्यौता ६० लाख साँवासहित साढे तीन करोड पुगेको छ । स्काउटले बिहीबार सार्वजनिक सूचना नै जारी गरेर उक्त रकम भुक्तानी गर्न भनेको हो । 

‘सिलबन्दीपश्चात् पनि खड्काल्यान्ड डेभलपमेन्ट प्रालिले भाडा चुक्ता गर्नुको साटो मुद्दा गरी पटक–पटक मुद्दा हटाई बहाल चुक्ता नगरेकाले नेपाल स्काउटलाई अपूरणीय क्षति पुगेका कारण सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको छ,’ स्काउटले जारी गरेको सूचनामा भनिएको छ, ‘उक्त समयावधिभित्र बहाल तिर्न नआए नेपाल स्काउट र त्यस खड्काल्यान्ड डेभलपमेन्ट प्रालिबिच भएको सम्झौताको बुँदा नं. ४ बमोजिम र मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १२ दफा ६१९, ६२० (४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिने र उक्त जफतबाट समेत अपुग हुन आउने रकम घरघराना वा जायजेथाबाट असुलउपर गर्ने व्यहोरासमेत सूचित गरिन्छ ।’

स्काउटको केन्द्रीय कार्यालय रहेको काठमाडौं महानगरपालिका– २६, लैनचौरस्थित खानी विभागसँग सिमाना जोडिएको कित्ता नं. १० को ३ रोपनी रैकर जग्गा १० वर्ष भोगचलनका लागि  स्काउट र खड्काल्यान्डबिच ०६५ मा सम्झौता भएको थियो । तर, न्यून मूल्यमा उक्त जग्गा हत्याएको खड्काल्यान्डले करिब १२ रोपनी कब्जा गरेर पार्टी प्यालेस, रेस्टुराँ र अन्य व्यवसाय गर्यो भने भवनहरू भाडामा लगायो । 

०७५ मा सम्झौता अवधि समाप्त भएपछि पनि भोगचलन अवधि र पार्किङलगायतका विषयमा विवाद झिकेर खड्काल्यान्ड अदालत गयो । काठमाडौं जिल्ला अदालतले १८ असार ०७६मा खड्काल्यान्डको पक्षमा फैसला गरिदियो । सोही फैसलाका आधारमा खड्काल्यान्डले स्काउटको सम्पत्तिमा निरन्तर रजाइँ गर्दै आएको छ । जब जिल्लाको फैसलाविरुद्ध स्काउट पुनरावेदन गयो, तब १३ असार ०७९ मा पाटन उच्च अदालतले जिल्लाको फैसला बदर गरिदियो । त्यस्तै, मुद्दाको अन्तिम फैसलाउपर पुनरावेदन नलाग्ने ठहर पनि उच्चले गरिदियो । उच्चको फैसलाका आधारमा २८ मंसिर ०७९ मा स्काउटले भाडामा लिएको तीन रोपनी जग्गा र पार्किङ खाली गर्न स्काउटका नाममा ३५ दिने सूचना जारी गर्यो । तर, खड्काल्यान्डले टेरेन । उच्चको फैसला र स्काउटको पटक–पटकको पत्राचारको पनि अवज्ञा गर्यो । 

खड्काल्यान्डले अदालतको फैसलासमेत उल्लंघन गरेपछि स्काउटले बक्यौता चुक्ता नगरेसम्म करार गरिएको क्षेत्रभित्र प्रवेश गर्न रोक लगायो । तत्कालका लागि सम्झौताको अवधि समाप्त भइसकेको संरचनासमेतमा सिलबन्दी गरी बाँकी बक्यौता असुलउपर गरेर घरजग्गा खाली गर्ने प्रक्रियामा स्काउट अघि बढेको थियो । स्थानीय प्रशासन ऐनको व्यवस्थाबमोजिम स्काउटले ६ वैशाख ०८१ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट मुचुल्कासमेत गरेर खड्काल्यान्डका पार्टी प्यालेस र रेस्टुराँमा सिलबन्दी गरिदिएको थियो । यो सिलबन्दी हालसम्म जारी छ । 

बक्यौता उठाउने प्रयास सफल नभएपछि बहाल रकम दिलाई जग्गा र संरचना खाली गरिपाऊँ भनेर स्काउटले ०८१ असारमा काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको छ । तर, सम्पूर्ण बक्यौता तिर्न नसक्ने भन्दै बक्यौताको जरिवाना छुट पाउनुपर्ने मागसहितको खड्काल्यान्डको तर्फबाट अर्को मुद्दा पनि काठमाडौं अदालतमै परेको छ । सँगैसँगै हेर्ने गरी उक्त मुद्दा विचाराधीन छ । ११ पटक पेसी चढे पनि टुंगिएको छैन । 

पछिल्लो समय त बक्यौताबारे खड्काल्यान्डसँग कुनै संवाद नै नभएको स्काउटका अधिकारीहरू बताउँछन् । ‘अब सूचनाको अवधिभित्र पनि बक्यौता नतिरे स्काउटले खड्काल्यान्डका संरचना मूल्यांकन गरी जफत गर्छ, त्यसले पनि नपुगे जायजेथासमेतबाट असुलउपर गर्छ,’ स्काउटका एक अधिकारीले भने । 
 

सुझावित समाचार