विराटनगरस्थित बालसुधार गृहबाट नौजना बिझ्याइँकर्ता फेरि फरार भएका छन्। बिहीबार दिउँसो आपसमा झगडाको बहाना बनाएर प्रहरीमाथि हातपात गर्दै विराटनर–३, कञ्चनबारीस्थित बाल सुधारगृहबाट नौ भागेका हुन्।
बिहीबार दिउँसो करिब ४ बजेतिर कर्मचारीहरू घर जान गेट खोलेको अवसर पारेर ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्दै बिझ्याइँकर्ता भागेका थिए। बिझ्याइँकर्ताको आक्रमणबाट ड्युटीमा रहेका तीनजना सादा पोसाकका प्रहरी सामान्य घाइते भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले बताइन्।
उनका अनुसार भागेकाहरू सबै बिझ्याइँकर्ताहरू १८ वर्षभन्दा माथिका छन्। गत २५ भदौमा पनि सुधारगृहबाट २५० जना सुधारगृह तोडफोड गर्दै फरार भएका थिए।