२२ कात्तिकमा ‘राप्तीसोनारी नेचर रन’ हुने भएको छ । राप्तीसोनारी गाउँपालिकाको पर्यापर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न राप्तीसोनारी नेचर रन हुन लागेको हो । ११ वर्षदेखि आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनले भगिनी इभेन्टका रूपमा गत वर्षदेखि राप्तीसोनारी नेचर रन सुरु भएको हो।
यसमा राप्तीसोनारी गाउँपालिकाअन्तर्गतका विद्यालयका छात्रछात्राले सहभागी हुने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । विजेता खेलाडीलाई नगद र पदकले पुरस्कृत गरिने उनले बताए।
स्कुले बालबालिकालाई सानैदेखि प्रकृतिको महत्व दर्शाउन र प्राकृतिक स्रोतसाधनको जगेर्ना तथा सदुपयोगसम्बन्धी जागरण फैलाउने उद्देश्यले राप्तीसोनारी नेचर रन गत वर्षदेखि गर्न थालिएको धारा नेपालगन्ज म्याराथनका रणनीतिक एवं अन्तर्राष्ट्रिय समन्वय प्रमुख तीर्थ ओलीले बताए। राप्तीसोनारीमा जन्मिएका ओली हाल जर्मनीमा एथ्लेटिक्स प्रशिक्षक छन्।
विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) को पूर्णकालीन सदस्य नेपालगन्ज म्याराथनको भगिनी रेस इभेन्टका रूपमा नेपालगन्ज १० नाइट रन, गौघाट ग्रिन रन, काठमाडौं २५ के हेरिटेज रेस, कर्णाली हाफ म्याराथनलगायत रहेका छन्।