पोखरा एभेन्जर्सले नेपथ्यसँग मिलेर गर्न लागेको कन्सर्ट विवादमा

वैकल्पिक मैदान हुँदाहुँदै मुख्य मैदान दिएकोमा खेलकर्मी रुष्ट

बुधबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको पूर्वसन्ध्यामा लिगको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले सांगीतिक ब्यान्ड नेपथ्यसँग मिलेर पोखरामा गर्न लागेको कन्सर्ट आयोजना स्थललाई लिएर विरोध सुरु भएको छ। 

‘क्रिकेटका लागि नेपथ्य’ भन्ने नारासहित क्रिकेटलाई संगीतसँग जोड्ने उद्देश्यका साथ आउँदो शुक्रबार अर्थात् २१ कात्तिकमा पोखरा रंगशालामा कन्सर्ट आयोजना गर्न लागेको हो। 

पोखरा रंगशालाभित्र एक अर्ब २८ करोड लागतमा निर्माण गरिएको मुख्य फुटबल स्टेडियममा कन्सर्ट गर्न दिएपछि खेलाडी एवं खेलकर्मीले कन्सर्टका कारण मैदान बिग्रने भन्दै त्यसको विरोध गरेका हुन्। मुख्य फुटबल स्टेडियमसँगै करिब १० मिटरको दूरीमा अर्को वैकल्पिक फुटबल मैदान रहेको छ। उक्त मैदानमा कन्सर्ट नगरी मुख्य मैदानमा गर्न दिएको भन्दै विरोध भएको हो। 

एक खेलाडीले भने, ‘पोखरामा कन्सर्ट गर्न मिल्ने धेरै स्थान छन्, आयोजकले किन रंगशालामा गर्न खोजे र अनुमति दिनेले किन दियो। रंगशाला नै चाहिने भए वैकल्पिक पनि छ।’ जाडो मौसम यसै पनि दुबो मर्ने समय भएकाले त्यहाँ आठदेखि १० हजार दर्शक उफ्रिँदा मैदानको दुबो नष्ट हुने उनको भनाइ छ। मैदानमा दुबो मरेपछि खेल्नयोग्य बनाउन धेरै मिहिनेत र समय लाग्ने खेलाडीहरूको तर्क छ। 

खेल संघका एक पदाधिकारीका अनुसार विभिन्न प्रतियोगिताहरू आयोजना गर्न मैदान माग्दा नदिने, तर कन्सर्ट आयोजना गर्न दिनु शंकास्पद रहेको बताए। 
जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले संसारका अधिकांश कन्सर्टहरू रंगशालामै हुने गरेको जिकिर गरे। नेपथ्यले खेलकुदको विकासका लागि कन्सर्ट गर्ने भनेपछि मैदान उपलब्ध गराएको उनको भनाइ छ। 

कन्सर्टका लागि आठ हजार दर्शक मात्र प्रवेश गर्ने गरी अनुमति दिएको उनले बताए। कन्सर्टको स्टेज स्कार्प फोल्डिङ हुने भएकाले मैदानमा कुनै असर नगर्ने र दुबो नमर्ने गरी मैदानमा कार्पेट बिछ्याउने उनले बताए। कन्सर्टबाट समितिलाई केही आम्दानी पनि हुने उनले बताए। हरेक टिकटबाट समितिलाई आउने तीन सयबाट एक सय रुपैयाँ विद्यालयहरूमा खेल सामग्री वितरण गर्ने र दुई सय रुपैयाँ रंगशाला विकासका लागि खर्च गर्ने उनले बताए।

सुझावित समाचार