एक साताअघिको बेमौसमी वर्षा र हुरीबतासले संखुवासभामा करिब ४० प्रतिशत अन्नबालीमा क्षति पुगेको छ। कात्तिक दोस्रो साताको मोन्था चक्रवातका कारण भएको अविरल वर्षाले संखुवासभामा पाक्न लागेको धान र कोदोमा ठुलो क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
जिल्लाको मध्यपहाडी र उच्च हिमाली क्षेत्रमा वर्षा र हुरीबतासले ठुलो क्षति पुगेको ज्ञान केन्द्रका प्रमुख छत्रबहादुर विश्वकर्माले बताए। उनका अनुसार जिल्लाको तल्लो औल क्षेत्रमा भने क्षति कम भएको छ। उनका अनुसार ३९.८८ प्रतिशत धान खेतीमा क्षति पुगेको छ। जिल्लाभर आठ हजार ४९३ हेक्टर क्षेत्रफल धान खेती गरिएकोमा पाँच हजार ९६ हेक्टर क्षेत्रफल अर्थात् ४० प्रतिशत धानमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
त्यसैगरी, कोदो खेतीमा २८ प्रतिशत क्षति पुगेको छ। कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लाभर ६ हजार ६६६ हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गरेको छ। त्यसमध्ये काटेको, पाकेको ढलेको, नपाकेको ढलेको गरी वर्गीकरण गरेर हेर्दा संखुवासभामा २८ प्रतिशत कोदो खेतीमा क्षति पुगेको पाइएको कार्यालय प्रमुख विश्वकर्माले बताए। वर्षाले अन्नबालीका साथै सडक पूर्वाधारमा समेत ठुलो क्षति पुर्याएको छ।
पाकेर थन्क्याउनलाई काटेको धानमा वर्षाले क्षति गरेपछि किसान चिन्तित छन्। ‘पानीले भिजाएको धानको परालसमेत कालो भएपछि गाईवस्तुले खाँदैनन्, पानीले धान भिजेपछि उठाउँदा सबै भुइँमा झर्छ, खेती गरेको र नगरेको उस्तै भयो,’ खाँदबारी– ४, सेकाहाका गोरे गुरुङले गुनासो गरे।