प्रधानमन्त्री सुशीला कार्कीले विद्युत् बक्यौता विवाद समाधानका लागि पहल लिएलगत्तै पञ्चकन्या ग्रुपसहितका चार उद्योगीले प्राधिकरणको बिलअनुसार तिर्नुपर्ने रकमको पहिलो किस्ता बुझाएका छन् ।
डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीका चार उद्योग पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेको प्राधिकरणले जनाएको छ । पहिलो किस्ता तिरेपछि उद्योगहरूको विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उद्योगहरूले ०७२ माघदेखि ०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् । पञ्चकन्या प्लास्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टिलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको एक करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगहरूले पहिलो किस्ता तिरेका हुन् ।
अझै जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट उद्योग, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज, त्रिवेणी स्पिनिङ मिल्स, सोनापुर मिनरल एन्ड आयल, जगदम्बा सिन्थेटिक, बुटवल सिमेन्ट, हिमाल आइरन एन्ड स्टिल, कसमस सिमेन्ट फ्याक्ट्री, एभरेस्ट पेपर मिल, निगाले सिमेन्ट प्रालि, त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज, विशाल सिमेन्ट इन्डस्ट्रिज, एसआर फुड्स, भलबारी स्वचालित कारखाना, एभरेस्ट रोलिङ मिल र एसआर स्टिल इन्डस्ट्रिज बक्यौता तिर्न आएका छैनन् ।
उद्योगीले पहिलो किस्ता तिरे पुनरावेदन मानिने, त्यसपछि उद्योगमा लाइन जोडिने
उद्योगीले लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनबाट प्रयोग गरेको बिजुलीको प्रिमियम महसुल तिर्न आनाकानी गरेर लम्बिरहेको विवाद सुल्झाउन उद्योग वाणिज्य महासंघको पहलमा प्रधानमन्त्री सुशीला कार्कीले अग्रसरता लिएकी छिन् ।
सोमबार प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योगमन्त्री अनिलकुमार सिन्हा र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितका उद्योगीले छलफल गरेका छन् । सो छलफलमा प्राधिकरणले हाल जारी गरेको बिलअनुसार पहिलो किस्ताबराबरको रकम उद्योगीले तिरेको खण्डमा पुनरावेदन गरेको मानिने र लगत्तै प्राधिकरणले पनि सम्बन्धित उद्योगमा लाइन जोड्ने सहमति जुटेको छ ।
‘आइतबार पनि महासंघका अध्यक्ष चन्द्र ढकाल र प्रधानमन्त्रीबिच छलफल भएको थियो । त्यसपछि सोमबार प्रधानमन्त्रीज्यूले महासंघका अध्यक्ष ढकालसहित अर्थमन्त्री, ऊर्जामन्त्री र कानुन तथा उद्योगमन्त्रीलाई राखेर छलफल गर्नुभएको हो,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘छलफलमा पहिलो किस्ताबराबरको रकम तिरेपछि उद्योगमा लाइन जोड्ने सहमति भएको छ । चित्त नबुझेका उद्योगीले पहिलो किस्ताबराबरको रकम तिरेसँगै आफ्नो गुनासोसहित निवेदन दिने र त्यसमा क्रमश: अधिकारप्राप्त निकायले उचित निर्णय गर्ने सहमति भएको छ । साथै, अन्य कानुनी प्रक्रियामा जान पनि सकिने सहमति भएको छ ।’ यसअघि प्राधिकरणले पठाएको बिलमा चित्त नबुझेका उद्योगीलाई ५ प्रतिशत धरौटी राखेर पुनरावेदन गर्न पाउने सुविधा दिइएको थियो, तर पहिलो किस्ताबापत बुझाएको रकमलाई नै पुनरावेदनबापतको धरौटीसमेत मानेर जाने गरी सरकारले अहिले थप सुविधा प्रदान गरेको हो ।
महासंघले पनि विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीसहितको छलफलमा डेडिकेटेड फिडर र टंकलाइनको शुल्कसम्बन्धी विवादको मध्यमार्गी प्रस्ताव गरेको जनाएको छ । ‘छलफलमा भएको प्रस्तावअनुसार उद्योगीहरूले विद्युत् प्राधिकरणलाई यसअघि रकम बुझाउने गरी दिएको सुविधा २८ किस्ताको एक किस्ताबराबरको रकमलाई किस्ताका रूपमा नभई विवादित रकम मानी धरौटीका रूपमा बुझाएपछि काटिएको विद्युतकाे लाइन तुरुन्त जोडिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।