अमेरिकी दबाबले थप बलियो बनाउन सक्छ मदुरोलाई

सोमबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

दक्षिण अमेरिकाको उत्तरी तटीय क्षेत्रमा हिजोआज दिनप्रतिदिन अमेरिकी सेनाको उपस्थिति बाक्लिँदै गएको छ । ट्रम्पले ती सेना ‘लागुऔषध–आतंकवाद’विरुद्ध लक्षित रहेको बताए पनि विश्लेषकहरू भने त्यसप्रति विश्वस्त छैनन् । ट्रम्प प्रशासनको ध्यान भेनेजुएलामा शासन परिवर्तनमा रहेको उनीहरूको आशंका छ । भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलस मदुरो सन् २०१३ देखि निरन्तर सत्तामा छन् । गत वर्ष जुलाईमा सम्पन्न निर्वाचनबाट पुनः निर्वाचित मदुरोले व्यापक धाँधली गरेको आरोप छ । 

आफ्नो देशको तटनजिक अमेरिकाको बढ्दो सैन्यकरणलाई मदुरोले पनि सैन्य वृद्धिमार्फत जवाफ दिएका छन् । यस दिशामा सेप्टेम्बरमा उनले संकटकाल घोषणा गरे । उनले सेना, प्रहरी र अर्धसैनिक मिलिसियालाई २८४ क्षेत्रमा तैनाथ रहन आदेश दिएका छन् । यी तैनाथी मुख्यतः देशको संवेदनशील सीमाक्षेत्रमा लक्षित छ । त्यसबाहेक भेनेजुएलाले अलग रूपमा छिमेकी कोलम्बियातर्फ २५ हजारभन्दा बढी सेना तैनाथ गरेको छ । त्यस अतिरिक्त सन् २००५ मा गठित नेसनल बोलिभेरियन मिलिसियाका लगभग ४५ लाख सदस्य परिचालन गरिएको रिपोर्ट आएका छन् । यसका अलावा सेनाले स्थानीय ‘जनरक्षा’ समितिलाई रक्षा संरचनामा जोड्न नागरिकलाई हतियार चलाउने तालिम दिइरहेको समाचार आएको छ ।

आफ्नो देशको तटनजिक अमेरिकाको बढ्दो सैन्यकरणलाई मदुरोले पनि सैन्य वृद्धिमार्फत जवाफ दिएका छन्

उसो त भेनेजुएलाको तुलनामा अमेरिकी सेना धेरै परिष्कृत र शक्तिशाली छ भनेमा कुनै शंका छैन । तर, काराकासाले गरिरहेको तयारी हेर्दा प्रत्यक्ष मुडभेड भए अमेरिकालाई भेनेजुएलाले बलियो प्रतिक्रिया दिने देखिन्छ । त्यसले अन्ततः देशभित्र मादुरोको अवस्थालाई थप बलियो बनाउन सक्छ । अन्तर्राष्ट्रिय रूपमा भेनेजुएलालाई रुस, क्युबा र इरानको बलियो साथ छ । तर, ती मुलुकले मदुरोको शासन लम्ब्याउन सहयोग त गर्न सक्छन्, तर कुनै दृढ अमेरिकी सैन्य अभियान सुरु भए उनको रक्षामा अघि आउने सम्भावना भने छैन । हुन त वासिङटनले पनि प्रत्यक्ष मुठभेडभन्दा आफ्नो दबाबमार्फत भेनेजुएलाभित्र मदुरोविरोधी शक्तिलाई अघि बढाउने प्रयास गरेको हुन सक्छ । तर, घरेलु दृश्य भने वासिङनको अपेक्षाअनुरूप छैन । 

मदुरोविरोधी विपक्षी समूह विभाजित र कमजोर छन् । सन् २०२४ को विवादास्पद निर्वाचनपछि मदुरोले विरोधीमाथि तीव्र दमन अभियान चलाएपछि विपक्षी गठबन्धन ‘डेमोक्रेटिक युनिटरी प्लाटफर्म’ नै छिन्नभिन्न अवस्थामा छ । अक्टोबर १० मा विपक्षी उम्मेदवार मारिया कोरिना माचादोले नोबेल शान्ति पुरस्कार जितेपछि विपक्षीको मनोबल त बढेको छ, तर त्यसको असर अझै व्यावहारिक देखिएको छैन ।

यस्तोमा सेनाभित्र ठुलो विभाजन, लामो जनपरिचालनबाट प्रेरित भएर ठुलो संख्यामा अभिजात वर्गले परित्याग नगरेसम्म विपक्षीले मदुरोलाई हटाउन सक्ने सम्भावना न्यून छ । घरेलु सुरक्षा संरचना, अदालत, निर्वाचन परिषद्माथिको मदुरो सरकारको बलियो पकड हेर्दा सेना र अभिजात वर्गमा अचानक विभाजन असम्भव देखिन्छ । ट्रम्प प्रशासनले विगतको प्रशासनभन्दा अगाडि बढेर मदुरोमाथि दबाब बढाउँदै उनका विरोधीलाई प्रोत्साहन गर्ने तत्परता देखाएको छ । यस दिशामा अगस्टमा पेन्टागनले ‘युएस साउदर्न कमान्ड्स प्याच’मा सेनादेखि डिस्ट्रोयर्स र उभयचर जहाजको संख्या बढाएको छ । पछिल्लो समय २४ अक्टोबरमा, वासिङटनले ‘युएसएस जेराल्ड आर फोर्ड क्यारियर’ नामक युद्धपोत भेनेजुएलानजिकको तटीय क्षेत्रमा तैनाथ गर्यो । 

अमेरिकी सेनाले भेनेजुएलालाई लक्षित गरेर क्यारिबियन सागर र पूर्वी प्रशान्त क्षेत्रमा कम्तीमा १३ वटा हमला गरिसकेको छ जसमा ५७ जनाको मृत्यु भएको छ । प्रत्येक आक्रमणपछि प्रतिक्रिया दिने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प लागुऔषध कार्टेलका वाहनलाई निसाना बनाइएको बताउँछन् । ट्रम्प ती कार्टेल भेनेजुएलाको सरकार र मदुरोसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्न छुट्याउँदैनन् । आगामी दिनमा भेनेजुएलामाथि थप दबाब बढाउन अमेरिकाले देशभित्रै सटिक हमला गर्न सक्ने सम्भावना बढेको छ । क्यारिबियन क्षेत्रमा तैनाथ युद्धपोत र प्युर्टोरिकोमा तयारी अवस्थामा राखिएको एफ–३५ युद्धक विमानले पनि त्यसैतर्फ संकेत गर्छन् । 

अमेरिकाले गर्न सक्ने खुला सैन्य कारबाहीलाई गुप्तचरले पनि सघाउन सक्छ । ह्वाइटहाउसले सिआइएलाई भेनेजुएलाभित्र सञ्चालन अधिकार दिएको खुला रूपमा घोषणा गरिसकेको छ । एक रिपोर्टअनुसार एकजना अमेरिकी होमल्यान्ड सेक्युरिटी एजेन्टले भेनेजुएलाका राष्ट्रपतिका प्रमुख पाइलटलाई मदुरोलाई अमेरिका ल्याउन मनाउने प्रयास गरेका थिए । तर, अमेरिका पुगेपछि मदुरोलाई बन्दी बनाउने सो षड्यन्त्र असफल भयो । यस घटनाले अमेरिकाले भेनेजुएलाका नेताविरुद्ध मनोवैज्ञानिक अपरेसन चलाएको संकेत गर्छ ।

वैदेशिक सैन्य हस्तक्षेपले मात्र विरलै शक्तिशाली शासक ढाल्छन् । बरु त्यसले शासकलाई शासन लम्ब्याउन व्याकुलता बनाउँदै दमनका लागि प्रोत्साहित गर्न सक्छ । वासिङटनले मदुरो सरकार छिट्टै पतन असम्भव रहेको सम्झनुपर्छ । के सम्झनुपर्छ भने भेनेजुएला संकटका कारण करिब ७९ लाखले देश छाडिसके, जसमध्ये ६७ लाखभन्दा बढी विभिन्न ल्याटिन अमेरिकी तथा क्यारिबियन देशहरूमा शरण लिइरहेका छन् । ह्वाइटहाउसले हतारमा निर्णय लिएर सैन्य कदम चाले त्यसले यो संख्या बढाउने काम मात्र गर्न सक्छ ।

(मुगा क्याथोलिक युनिभर्सिटी अफ रियो द जेनेरियो, सिंगुलारिटी युनिभर्सिटीका फ्याकल्टी सदस्य हुन्) द कन्भर्सेसनबाट

सुझावित समाचार