कञ्चनपुरको बेलौरीका जेन-जीले एमाले नगर अध्यक्ष नवराज शाहीले जेन-जीका सहिदलाई अपमान गरेको आरोप लगाएको छ।
आइतबार बेलौरीमा जेन-जी चोक राख्ने विषयमा जेन-जी समूह र राजनीतिक दलसहितको सर्वदलीय बैठक आह्वान गरिएको थियो। बैठकको सुरुवातमै एमाले नगर अध्यक्ष शाही जेन-जी आन्दोलनमा मारिएका मान्छे सहिद नभएर लुटपाट गर्न गएको चोर, अराजक भएको लाञ्छना अपमान गरेपछि बैठक बहिष्कार गरेको जनाएको छ।
जेन-जीका बेलौरी संयोजक केशवकुमार बोहराले हस्ताक्षर गरेको विज्ञप्तिमा एमाले नगर अध्यक्ष शाहीले बैठकको सुरुवातमै बैठक लाइभ गर्ने वा नगर्ने भन्ने विषयमा छलफल बहस भइरहेका वेला अनावश्यक रूपमा सहिदको अपमान हुने अभिव्यक्ति दिएको आरोप लगाएको छ।
जेन-जीका बेलौरी उपसंयोजक विष्णुदत्त अवस्थीले एमाले नेता शाहीका कारण बेलौरी नगरपालिका र जेन-जी समूहबिच वार्ता भाँडिएको बताए। बैठक लाइभ पनि नहुने भएपछि शाहीले सहिदमाथि अपमान गरेपछि आफूहरू बैठक छाडेर आएको बताए। उनले अनिश्चितकालका लागि बैठकमा सहभागिता नजनाउने बताए।
बेलौरी नगर एमाले अध्यक्ष नवराज शाहीले बैठकको सुरुवातमै जेन-जीहरूले लाइभको कुरा राखेको, अनि जेन-जी चोकबारे छलफलकाे साटो उनीहरूले अन्य विषयमा विषयान्तर गर्दा आफूले जेन-जीका सहिदप्रति अपमान नभई जेन-जीका नाममा लुटपाट गर्नेहरूका नामबाट किन सहिद चोक राख्नुपर्ने मात्रै भनेको बताए।
‘मैले जेन-जी र उनीहरूलाई अपमान गरेको होइन, ‘एमाले नगर अध्यक्ष शाहीले भने, ‘जेन-जीका नाममा लुटपाट गर्ने, आगजनी गर्ने विध्वस मच्चाउनेप्रति मात्रै कुरा उठान गरेको हुँ।’ बेलौरीमा जेन-जी युवाहरूले संस्थागत भ्रष्टाचारविरुद्ध र जेन-जी चोकको विषय उठान गर्दै संघर्ष गर्दै आएका छन्।