पुराना दलको गल्ती ढाकछोप गर्न जेन–जी आन्दोलनलाई विदेशी षड्यन्त्र देखेको राजनीतिक विश्लेषकहरूको दाबी

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

राजनीतिक विश्लेषक र जेन–जी प्रतिनिधिहरूले जेन–जी आन्दोलनका मुद्दा संस्थागत गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा शनिबार आयोजित ‘जेन–जी विद्रोह र अबको बाटो’ विषयक अन्तक्र्रियामा उनीहरूले समाजमा व्याप्त असन्तुष्टि जेन–जी आन्दोलनमा परिणत भएको बताएका छन् ।

विश्लेषक खगेन्द्र संग्रौलाले पुराना दलले गल्ती ढाकछोप गर्न जेन–जी आन्दोलनलाई विदेशी षड्यन्त्र देखेको दाबी गरे । ‘पुराना दलले गल्ती ढाकछोप गर्न जेन–जी आन्दोलनमा विदेशी षड्यन्त्र देख्दै छन् । विद्रोहमा हिंसा र ध्वस्त स्वाभाविक हो । जेन–जीका अगुवा हेर्दा बहकाउमा लाग्ने, परिचालन हुने देखिएन,’ उनले भने । यद्यपि, केही बदनाम पात्रका कारण जेन–जी आन्दोलनप्रति भ्रम सिर्जना भएको उनले जिकिर गरे ।

संक्रमणकालमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको भन्दै संग्रौलाले सरकारलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । ‘संक्रमणकाल टार्ने जिम्मा सुशीला कार्कीको हातमा छ । संक्रमणकालको डुंगालाई चुनावसम्म लाने काम उनको हो । यो सरकारलाई सफल बनाउन जरुरी छ,’ उनले भने । २३ भदौको क्रूर दमनका कारण २४ को ध्वंसात्मक घटना भएको र त्यहाँ राजनीतिक–सामाजिक उद्देश्यले गएका र प्रायोजित रूपमा गएका छुट्याउनुपर्नेमा उनले जोड दिए । 

विश्लेषक झलक सुवेदीले दलका पुरानो संरचना, नेतृत्वबाट अब नचल्ने बताए । उनले नयाँ पार्टी बनाएर जाँदा सुधार गर्न सकिने औँल्याए । ‘अहिलेका दलले परिवर्तन गरेर वामपन्थीकरण गर्दैनन् । पुरानो संरचना र नेतृत्वबाट अब चल्दैन । नयाँ पार्टी बनेर जाँदा सुधार गर्न सकिन्छ । त्यसकारण जेन–जीले पार्टी बनाएर चुनावमा जानुपर्छ । पार्टी बनाएर जानेलाई चिन्छन, नत्र अरू सबै हराएर जान्छन् । राजनीतिक रूपमा लाग्नुस्,’ उनले भने । 

विश्लेषक युग पाठकले दलहरूले विचार छाडेर राजनीतिलाई प्राविधिक खेल बनाउँदा समस्या आएको बताए । ‘राजनीतिलाई प्राविधिक खेल बनाउँदा समस्या आयो, विचारले लिक छाड्यो । विचार, उत्पादन र विश्वासको जरा काटियो, त्यसले आगो लाग्ने स्थिति बन्यो । अहिले संक्रमणकाल छ । जसले जता पनि लान सक्छ । त्यसैले सचेत हुनुपर्छ,’ उनले भने ।
विश्लेषक भास्कर गौतमले दलको नेतृत्वमा समस्या भएको भन्दै पुनर्गठन र पुस्तान्तरण आवश्यक भएको बताए । उनले दण्डहीनताको जगमा सुशासन कायम हुन नसक्ने बताए । ‘दण्डहीनताको जगमा सुशासन कायम हुँदैन, दलमा नेतृत्वको समस्या भयो । त्यसकारण पुस्तान्तरण आवश्यक छ । जहाँ वैचारिक स्पष्टता र फरक विचारको सम्बोधन ग्यारेन्टी गरिनुपर्छ,’ उनले भने ।

युवा नेतृ करुणा पराजुलीले सुशासनका लागि जेन–जी विद्रोह भएको बताउँदै पार्टीहरूको पुनर्गठनको आवश्यकता औँल्याइन् । विकसित घटनाक्रमलाई भूराजनीतिसँग जोडेर हेर्नुपर्ने बताउँदै उनले जेन–जीको नाममा हुनेखाने मात्रै हाबी हुने अवस्था आउनेतर्फ सचेत रहनुपर्ने बताइन् । उनले वर्गीय रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै दलहरू चुनावदेखि चुनावसम्म केन्द्रित हुँदा समस्या आएको बताइन् ।

जेन–जी अगुवाहरू रिजन रानामगर, मोनिका, अनुशा खनाल, किरण विक, प्रतीक कार्कीलगायतले आन्दोलनलाई संस्थागत गरेर जानुपर्नेमा जोड दिए । युवाहरू बिदेसिनुपर्ने बाध्यता, वर्षौँदेखिको असन्तुष्टिलगायतका कारणले जेन–जी आन्दोलन भएको बताए । ‘जेन–जी आन्दोलनमा सरकारले बर्बर दमन गरेर आगो झोस्यो र २४ गतेको घटना भयो । युवाको ज्यान भवनसँग तुलना हुन सक्दैन,’ उनीहरूको भनाइ थियो ।

विचारमा स्पष्टता कायम गर्दै पुँजीवादले ल्याएको असमानताको खाडल पुर्ने गरी अगाडि बढ्नुपर्नेमा उनीहरूले जोड दिए । ‘विचारमा स्पष्टता आवश्यकता छ । पुँजीवादले ल्याएको असमानताको खाडल पुर्नुपर्छ । गरिखाने वर्गका लागि रूपान्तरण आवश्यक छ । समतामूलक समाजका लागि बृहत् छलफल गरेर अगाडि बढ्छौैँ,’ उनीहरूको प्रस्ताव छ । 
 

सुझावित समाचार