लोकगीत खोज्दै गाउँगाउँ डुल्दा...

गीत सिक्न गाउँमा बारी खनेँ, हलो जोतेँ

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

एक समयका चर्चित लोकगायक हुन्, कुमार बस्नेत । रेडियो नेपालमा उनका गीत खुब घन्किन्थे । खासगरी, गाउँघर, वनपाखामा गुञ्जिने लोकभाकालाई संकलन गरी रेकर्ड गर्थे । उनलाई कतिपयले जनताको भाका गाउने गायक भने, कतिपयले गाली पनि गरे । तर, उनी ठेट नेपाली भाका ल्याएको बताउँछन् । ८२ वर्षे बस्नेतले गाउँघरमा गीत संकलन गर्दाका अनुभव पवन बराइलीलाई सुनाएका छन् :

दोलखामा भेटेँ, कुखुरा काटी भोग दिउँला...

मेरो जन्म काठमाडौंको कमलपोखरीमा भए पनि हुर्काइ दोलखामा भयो । त्यसैले, गाउँले परिवेशसँग गहिरो रूपमा जोडिएँ । सानैदेखि दोलखाको संस्कृति, जात्रा र लोकभाकामा रमाउँदै हुर्किएँ । त्यहाँको हावापानी, मेलापर्व, जात्रा अनि सांगीतिक परिवेशले मेरो सिर्जनात्मकतालाई ढाल्दै लग्यो । जात्राको वेला गाउँका केटाहरू भेला भएर भाका हाल्थे, गीत गाउँथे । यही वातावरणमा आफूलाई ढाल्दै लगेँ । एक दिन जात्रामै मैले पहिलोपल्ट एउटा भाका सुनेँ :

‘कुखुरा काटी भोग दिउँला कालिञ्चोके माई,
छोरी दिने सासूलाई मोहोर राखी ढोग दिउँला कालिञ्चोके माई...

यो सुन्नासाथ मेरो मन रोमाञ्चित भयो । भावनाले भरिएको त्यो भाका सुनेपछि, एकछिन त म चुपचाप भएँ । यो गीत बन्नुपर्छ भन्ने लाग्यो । समय लाग्यो, तर त्यो भाकालाई शब्द र लयमा बाँधी मैले गीत बनाएँ । गीत तयार भयो । त्यतिवेला काठमाडौं–दोलखा यात्रा पैदलै गर्नुपथ्र्थाे । बाटोमा यात्रा गर्दा बलेफी भन्ने गाउँमा बसिन्थ्यो । बलेफीमा एकजा तामाङ बुढीआमाको घरमा बसेँ । ती आमाले ‘छोरी दिने सासूलाई मोहर राखी ढोकदिउँला...’ भन्ने शब्द सिकाउनुभयो । त्यो शब्द समावेश गरेँ । यो गीत बनाउन बलेफी गाउँका मान्छेसँग संगत गरेँ । उनीहरूको उठबसबाट धेरै कुरा सिकेँ । खासगरी भाषा र बोली गाउँका मान्छेबाट सिकेँ । त्यहाँका कतिपय शब्द मैले पछि गीतमा जस्ताको तस्तै समावेश गरेँ । कोदारीतिरका मान्छेसँग बसेर पनि थुप्रै मौलिक भाका र शब्द बटुलेँ । पछि गीत चर्चित बन्यो । म पनि चिनिएँ । ‘कुखुरा काटी भोग दिउँला’ मेरो दोस्रो गीत हो । तर, यसले दिएको परिचय, सम्मान र स्थान भने जीवनभरको बन्यो ।

ज्ञानेश्वरको उकालोमा सुनेँ, ओई नाना, ओई नाना...

०१८–०१९ सालतिरको कुरा हो । म र कोकिल गुरुङ काठमाडौंको ज्ञानेश्वरको उकालो हुँदै हिँडिरहन्थ्यो । बाटोछेउमा रहेको एउटा पुरानो पाटीमा फाटेका कपडामा, काँधमा कपडाको कुम्लो बोकेका एकजना मान्छे गीत गाउँदै बसेका हुन्थे । उनको स्वरले मेरो ध्यान तान्यो । दोलखातिरको लप्टन हुन्, भन्थे । कसैबाट सुनेको थिएँ, उनी कुनै मुद्दा हारेपछि जीवनबाट विरक्तिएर हिँडेका रहेछन् । एक दिन करिब १० बजेको हुँदो हो, घर फर्किंदै गर्दा फेरि उनले गीत गाइरहेको सुनेँ, स्वरमा वेदना मिसिएको, तर मधुर । त्यो वेला ज्ञानेश्वर अहिलेको जस्तो व्यस्त र व्यवस्थित थिएन । घरहरू भर्खरभर्खर बन्न थालेका थिए । उनलाई चिया पसलसम्म लगेँ । चिया–बिस्कुट खुवाएँ र भनेँ, ‘ल, अघिको गीत फेरि गाएर सुनाउँनुस् ।’ उनी हाँस्दै गाउँन थाले । अभाव र गरिबीले जीवनलाई थिचे पनि स्वरमा अझै केही बाँकी रहेछ । भात खाने सिल्भरको थाल ठटाउँदै गीत गाउन थाले । ‘ओई नाना, ओई नाना... ।’ उनले गाएको भाकाले मन लोभियो । मसँग त्यहाँ कागज थिएन । मैले चुरोटको खोलमा गीतका शब्द टिप्न थालेँ । उनले गाइरहे, मैले गीत लेखिरहेँ ।

भाका पनि मनमा बसाल्दै लगेँ । कोकिल गुरुङ कृष्ण पाउरोटीनजिकै बस्थे । म कोकिल गुरुङकै घरमा गएँ । त्यही रात उनी सुतिसकेपछि गीतलाई विस्तार गर्न थालेँ । उनका शब्दहरू अलमलिएका थिए । मैले शब्द मिलाएँ, भाका सन्तुलित बनाएँ र गीतलाई पूर्णता दिएँ । मायाप्रेम, वेदना, जीवनका भोगाइका गीत बन्यो । गाउँले शैलीको भाका, स्थानीय शब्द र स्वर मिलाएपछि निकै राम्रो गीत बन्यो । यो गीतले मलाई चिनायो । केही समयपछि गंगा गुरुङ दिदीले एक दिन नाचघरमा भनेकी थिइन्, ‘गुरुङकी छोरीका अगाडि यस्तो मिठो गीत गाउने ?’ उहाँ मभन्दा अग्रज हो । त्यसपछि मैले गीतलाई महिलाका लागि शब्द थपेँ । त्यसपछि म र गंगादिदीले गायौँ । गीतले चमत्कारी ढंगले लोकप्रियता पायो । त्यो गीतले मलाई चिनायो । त्यो गीतले नै मलाई उठायो ।

सिकार खेल्न जाँदा सिकेँ, रुम्जाटारे गुरुङनी, हेलम्बुकी शेर्पिनी...

त्यसवेला भाका टिप्न र गीतका शब्द उच्चारण गर्न सकस हुन्थ्यो । गीतलाई पूर्णता दिन गाउँमै गएर बस्नुपथ्र्याे । मैले यो गीत धेरै दु:ख गरेर बनाएँ । गाउँ–गाउँ डुलेको छु । गीत बनाउन गाउँलेसँग बसेको छु । चौँरी गोठालासँग बसेर गीत सिकेको छु । यो गीत तयार गर्न आठ–नौ दिन कोदारीको गाउँमा बसेँ । पैसा थिएन त्यतिवेला । म सिकार खेल्न कोदारीको जंगलतिर पुगेको थिएँ । एकजना लाहुरेले भैँसी चराउँदै गीत गाएको देखेँ । उनले साह्रै मिठो भाकामा गाए । उनकै घरमा पाहुन लाग्न गएँ । उनीसँगै गीत सिक्न वास बसेँ । उनकै घरको बारी खन्ने र हलो जोत्ने काम गरेँ । गाईलाई घाँस काटेँ । बारी खन्दै गीत सिकेँ । यो गीत तयार हुन ६ महिना लागेको थियो । काठमाडौं फर्किएर गीत बनाएँ । त्यसपछि चर्चित भयो, रुम्जाटारे गुरुङनी, हेलम्बुकी शेर्पिनी... ।

तामाङ गाउँमा भेटिएको भाका, चौतारी छाङला नानी कान्छा...

सानैदेखि म ढिकी–जाँतो भएको गाउँमा रमाएँ, मेलापातमा मिसिएँ । गाउँका मानिसको आ–आफ्नै संस्कृति थियो । गाउँका तामाङका म्हाने, गुम्बाहरू देखेँ । भाका पनि फरक, लय मौलिक हुन्थे । यस्ता भाकाका मुहान गाउँ नै हुन्थ्यो । दोलखाको कालिञ्चोकतिर चौँरीगोठमा बस्ने गोठालाहरूले गाउने भाका सुनेँ । उनीहरूले मिठो स्वरमा गाउँथे । मैले गीत बनाएँ । त्यहाँ मान्छेहरू गाउँदै हिँड्थे । त्यो भाका मनमै बस्यो । मैले उनीहरूसँगै बसेर त्यो गीत सिकेँ । गीतको जरा दोलखामा भए पनि ‘चौतारी’ शब्दले मलाई सिन्धुपाल्चोकतिरको झल्को पनि दिलायो । सांस्कृतिक रूपमा यो भाका तामाङ समुदायसँग गहिरो रूपमा गाँसिएको छ । २०१६ सालमा यो गीत मैले रेडियो नेपालमा प्रस्तुत गरेँ । यो गीतलाई रेडियो नेपालले छानेको हो । मैले यही गीतलाई गाएँ । त्यही गीत रेडियो नेपालले रेकर्ड गर्यो । यो मेरो पहिलो रेकर्डेड गीत बन्यो । गीत जताततै गुञ्जिन थाल्यो । ‘चौतारी छाङला नानी कान्छा’ले मलाई सांगीतिक यात्रामा नयाँ मोड दियो ।

धादिङ पुगेर रचेँ, छोरीभन्दा आमा तरुनी...

यो गीत मैले धादिङ जाँदा रचेको हुँ । ०४३–०४४ सालतिरको कुरा हो । मलेखु मास्तिरको गाउँतिर गएको थिएँ । बाटो हिँड्दा देखिने कतिपय दृश्यले ध्यान खिच्थ्यो । गाउँमा एक विवाह समारोहमा पुगेको थिएँ । त्यहाँ आमाछोरीहरू विवाहमा आएका थिए । त्यही वेला मैले पहिलोपटक सुनेँ– छोरीभन्दा आमा तरुनी । त्यो कुरा त्यहाँ गाउँलेहरू ठट्टा गर्दै भन्ने गर्थे । त्यही ठट्टा नै गीत बन्ने बिउ बन्यो । मैले त्यहाँका केटाहरूको भाका सिकेँ, उनीहरूसँग बसेर शब्दहरू लेखेँ । गाउँका अरू मानिसले पनि आ–आफ्नो तरिकाले शब्द थप्दै गए । यस्तै गर्दागर्दै गीत तयार भयो । यो गीत तयार पार्न तीन वर्षभन्दा बढी समय लाग्यो । रेडियो नेपालमा रेकर्ड गर्नुअघि मैले अग्रजहरूलाई सुनाएँ, गीतको भाका, शब्द र अर्थ कस्तो लाग्छ भनेर बुझ्न । गीतको अर्थ सन्देश जनस्तरमा प्रस्ट बुझियो, सर्वसाधारणको मन छोयो । तर, पछि यो गीतलाई बन्देज पनि गरियो । अश्लील गीत पनि भनियो । तर, मेरो मनमा सधैँ यो गीत जनताका लागि बनाइएको हो । गाउँमा गीत खोज्न जाँदा हरेक गीत राम्रो हुँदैन, हरेक शब्द मिलेको हुँदैन । त्यसलाई राम्रो बनाउने, जनताले मन पराउने खालको गीत बनाउने, त्यो जिम्मेवारी हामी गीतकारको हो । 

बुद्धि परियारसँग मागेँ, हेर्दा राम्रो माछापुच्छ्रे... 

२०१५/०१६ सालमा हुनुपर्छ । गीत–संगीतको विषयमा रिसर्च गर्न जापानको एउटा टेलिभिजन टिम नेपाल आएको थियो । म तिनीहरूका लागि गाइडको रूपमा संलग्न भएँ । उनीहरूसँगै पोखरा गएँ । त्यसवेला हामी धेरै ठाउँ घुम्यौँ, रमायौँ । त्यो टेलिभिजनले नेपालका गीतबारे रिसर्च गर्न थाल्यो । त्यो क्रममा पोखराका गन्धर्व भेला गरेर गीत गाउन लगायो । त्यसवेला बुद्धि परियार आएर रेडियोबाट बज्ने मेरो गीत गाए । तर, हामीले यस्तो गीत खोजेको होइन भन्यौँ । पछि उनले ‘हेर्दा राम्रो माछापुच्छ्रे’ गाए । एकदमै मिठो लाग्यो गीत । म त्यो गीतबाट यति प्रभावित भएँ कि उनीसँग त्यो गीत मागेँ । म पनि त्यतिवेला सिकारु नै थिएँ । बुद्धि परियार पनि गायकका रूपमा चिनिएका थिएनन् । मेरो बुबाको जागिर पनि पोखरामै थियो, त्यसैले गर्दा पोखराका बुद्धि परियारसँग वेलावेला भेट भइरहन्थ्यो । उनको आर्थिक रूपमा गीत रेकर्ड गर्ने अवस्था थिएन होला । उनी बारम्बार मसँग आइरहन्थे । हामी गीत–संगीतमा कुरा गथ्र्याैँ । त्यसवेला रेडियो नेपालले सजिलैसँग सबैलाई गीत गाउने मौका दिँदैनथ्यो । मैले रत्न रेकर्ड स्टुडियोमा गएर ‘हेर्दा राम्रो माछापुच्छ्रे’ गीत रेकर्ड गरेँ । मैले यो गीतलाई निकै मिहिनेत गरेँ । मैले धेरै कुरा बुद्धि परियारबाटै सिकेँ । त्यसैले त मैले सम्मानपूर्वक यो गीतमा उनकै नाम राखेको छु । मैले जसबाट गीतसंगीत सिकेँ, सधैँ तिनकै नाममा श्रेय दिन्छु ।

मैले गाएपछि गीत विवादमा आयो । यो गीतको दमाईं भन्ने शब्दलाई लिएर विवाद गरियो । यो गीत रि–रेकर्ड गर्दा भने त्यो शब्द निकालेँ । मानिसले बुझ्दै नबुझी विवाद गरेँ । यो गीत जापानमा आयोजित सन् १९७० को एक्स्पोमा नेपालबाट छानिएको थियो । यो गीत जापानी टोलीलाई निकै मन पर्यो । उनीहरूले यसलाई नेपालको उत्कृष्ट गीतहरूमध्येको एक माने । सुनेको थिएँ, यो गीतको टेप जापानमा समेत बिक्री भएको रहेछ । 

गाउँका बच्चाहरूले सुनाए, तिम्रो बाउलाई सलाम छ, आमालाई नमस्ते...

यो गीत २०२३ सालतिरको हुनुपर्छ । यो धादिङको गीत हो । धादिङको गल्छीमा सिकार खेल्न गएको थिएँ । फर्केर आउँदा बाटोमा टिपेको भाका हो यो । बेलुका भात खाने वेला सिकेँ । गाउँका बच्चाहरूले ‘तिम्रो बाउलाई सलाम छ, आमालाई नमस्ते,’ भनेको सुनेँ । मलाई यो शब्द राम्रो लाग्यो । गीतलाई टिपेर ल्याएँ । गाउँले जीवनका विभिन्न भोगाइ उतारेर गीत पूरा गरेँ । गीत गाएपछि निकै चर्चित बन्यो ।

घाँस काट्नेहरूले गाएको सुनेँ, लैबरी लै...

यो भाका मैले घाँस काट्नेहरूले गाएको सुनेको थिएँ । मैले उनीहरूसँगै सिकेको गीत हो यो । ०२३–२४ सालतिर बनाएको गीत हो यो । गाउँले परिवेश र छोरी मान्छेलाई बिम्ब बनाएर गीत रचेँ । निकै लोकप्रिय भयो । अरूले गाएको गीतको शब्द बिगार्नुहुँदैन भन्थे । त्यसैले जस्तो सुनेँ, त्यस्तै गाएँ । तर, मलाई नराम्रोसँग गाली गर्न थालियो । ‘कुमार बस्नेतले खाली छाडा गीत गाउँछ’ भन्ने आरोप लाग्यो । पछि राम्रा शब्दहरू थपेर गीत बनाएँ । आईमाई भन्ने शब्दमा विरोध गरियो । यो ठेट लोकभाका थियो । धादिङतिरको सन्दर्भलाई जोडेको छु । 

भोगाइबाट जन्मियो, भात जति खाए नि...

यो गीत ०४८ सालतिर लेखिएको हुनुपर्छ । त्यो वेला गाउँका मानिस सहरका रहनसहनलाई हेरेर चकित हुन्थे । गाउँका मान्छे सहर आउँदा हेपिन्थे । दौरा–सुरुवाल र ढाकाटोपी लगाउनेलाई पाखे भन्ने चलन छ । जबकि पाइन्ट, सुटकोट लगाउने र मोटर चढ्नेहरूलाई ‘ठुला मान्छे’ ठानिन्छ । तर, जीवनको मूल कुरा त आवश्यकता हो । भोक लागेका वेला खानाको स्वादभन्दा पेट भरिनु महत्वपूर्ण हुन्छ । जे भेट्यो, त्यही खाइन्छ । निद्रा लागेको वेला ओछ्यानको छनोट हुँदैन, जहाँ सुत्न पाइन्छ, त्यही ओछ्यान बन्छ । जसरी भोकले काँचो भात पनि अन्न देख्छ, निद्राले गुन्द्रीभन्दा ओछ्यानै ठान्छ, यसरी नै जीवन पनि अन्तत: आवश्यकताको खोजी हो, आडम्बरको होइन । यो गीतमा मान्छे त सबै एउटै हुन् । बैँसमा जातभातको भेद पनि हराउँछ । यो गीत मैले गाउँतिर हिँड्दा वनपाखा र खेतबारीमा काम गरिरहेका गाउँबाट टिपेको हुँ । यसमा जीवनको भोगाइ झल्किन्छ ।

यसरी जन्मियो, धनकुटा हिले, दिलचित्तै मिले...

०४४–४५ सालतिर म धनकुटा पुगेको थिएँ । धनकुटाको पाख्रीबासमा बुंगुरको सुकुटी र लोकल रक्सीको स्वाद लिँदै, स्थानीय जीवनशैलीको रमाइलो अनुभव गरेँ । त्यही वेला मैले धनकुटाका युवाले गीत गाइरहेको सुनेँ– धनकुटा हिले...। यो सरल, तर गहिरो भावले भरिएको लाग्यो । भाकाले मेरो मन छोयो । मैले उनीहरूसँग अनुमति मागेर त्यो भाका टिपेँ । त्यसपछि मैले गीतका शब्दहरू विस्तार गर्दै त्यस भाकामा भरिएको स्थानीय जीवन, भावना र प्रेमलाई गीतमा रुपान्तरण गरेँ । मैले त्यो गीत सिर्जना गर्दा धनकुटाको परिवेश, मान्छेहरूको आत्मीयता समेट्ने प्रयास गरेँ । त्यतिवेला स्थानीय भाइहरूले पनि गीत लेख्न सघाएका छन् । अधिकांश शब्द उनीहरूले थपेका छन् । यो गीत मेरो मात्र संग्रह होइन, त्यो धनकुटाका जनताको भाका हो, मैले त केवल शब्दमा बाँधेको हो । यो गीत रेकर्ड गरेपछि धेरै चर्चित बन्यो । यसले आफ्नो माटो, भाषा र भाका सम्झाउँछ । यही कारणले होला, यस्तो लोकभाका हरेक नेपालीको मनमा बस्छ ।

विवाहमा सुनेँ, मादल घनघन घन्काऊँ कि...

म दोलखामा हुँदा गाउँमा विवाह, व्रतबन्ध, सत्यनारायणजस्ता पूजामा मादल बजाएको देख्थेँ । जात्रामा मान्छेहरू जम्मा भएर मादल बजाउँदै गीत गाउँथे । अझ विवाहका वेला दर्जी दाइहरूले गीत गाउँदै नाच्थे । उनीहरूले पञ्चेबाजा बजाउँदै गीत गाउँथे । ‘मादल घनघन घन्काऊँ कि सोरठी भाकामा नाचौँ कि...’ भन्दै गीत गाउँदै नाच्थे । उनीहरूले गाएको भाकाबाट प्रभावित भएँ । उनीहरूबाटै मैले यो गीत टिपेको हुँ । पछि गीतलाई मिल्ने शब्द खोजेँ । दोलखाका स्थानीयसँग गीत गाउँदै नयाँ शब्द सिर्जना गरेँ । गीतलाई पूर्णता दिन निकै मिहिनेत गरेँ । यो गीत २०२४ सालतिर रेकर्ड भएको हो ।

लाङ्टाङको फेदीमा सिकेँ, लप्सीको गेडो चुसेर...

२०२२ सालतिरको कुरा हो । त्यसवेला म लाङटाङ घुम्न गएको थिएँ । लाङटाङबाट फर्किंदै गर्दा राम्चे भन्ने एउटा गाउँमा वास बस्नु पर्यो । राति आगो ताप्दै गीत गाउन थालियो । त्यहाँका मान्छेहरू पनि गीत गाउन थालेँ । उनीहरूले गाएको गीत सुनेँ । उनीहरूसँग गाएँ पनि । स्थानीयले गाएको भाका निकै राम्रो लाग्यो । शब्द पनि राम्रो लाग्यो । गीतको भाका टिप्न थालेँ । गीतलाई काठमाडौं आएर पूर्णता दिएँ । जाडो मौसममा भोगटे र निबुवा साँधेर खाने चलन पनि छ । गर्भवती महिलाले अमिलो खानुपर्छ पनि भनिन्छ । त्यो सन्दर्भ पनि जोडेर यो गीत राजा वीरेन्द्रको रात्रिभोजको समारोहमा पनि गाएँ । त्यसवेला राजा वीरेन्द्रको भर्खर विवाह भएको थियो ।

माझी दाजुभाइले सिकाए, फूलबुट्टे सारी...

०४५ सालतिरको कुरा हो । दोलखाको चरङ्गे दोभानमा माछा मार्न जाँदा रचेको गीत हो यो । त्यसवेला चरंगेमा पुल बनिसकेको थिएन । म पनि खोलामा माछा मार्न गइरहन्थेँ । मसँग माझीहरू पनि थिए । उनीहरूको नाम तिलके र झलके भन्ने थियो । माछा मारेर सँगै पकाएर खायौँ । एक दिन हामी खोलाको माछा मारिरहेका वेला पारिपट्टि फूलबुट्टे सारी लगाएर एकजना महिला हिँड्दै गरेको देखियो । ती दुई माझीहरू ‘फुलबुट्टे सारी माकुराको जाली...’ गीत गाउन थाले । पारिबाट पनि ती महिलाले जवाफ फर्काइन् । उनीहरूले गाएको भाका औधी मन पर्यो । मैले गीतको भाका र शब्द टिप्न थालेँ । माझीले सिकाएको गीत हो यो । 
 

See More On

सुझावित समाचार