ध्रुवीकरणतिर रास्वपा

वैकल्पिक शक्ति र जेन–जीहरूसँग छलफल, धेरैको जोड एकतामा

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साझा एजेन्डामा सम्भावित सहकार्यका लागि गृहकार्य थालेको छ । यही सिलसिलामा रास्वपाले शुक्रबार परिवर्तन पक्षधर जेन–जी समूह, वैकल्पिक धारका विभिन्न दल, स्वतन्त्र नागरिक अभियन्ता र सरोकारवालासँग अन्तरक्रिया गरेको छ । 

उपसभापति एवं उच्च संवाद समिति संयोजक स्वर्णिम वाग्लेको अगुवाइमा शुक्रबार भएको वैकल्पिक शक्ति र जेन–जी समूहहरूसँग छलफलमा सहभागीले एकतामा जोड दिएका छन् । ‘जेन–जी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ शीर्षकमा बृहत् राजनीतिक संवाद आयोजना गरेको रास्वपाले सहकार्य गर्न सकिने एजेन्डा र शक्तिमाथि नजर लगाएको छ ।

कार्यक्रममा वाग्लेले वैकल्पिक शक्तिबिच सहकार्य र एकताका लागि रास्वपाले प्रयास गरिरहेको बताए । ‘दुईपक्षीय, त्रिपक्षीय र बहुपक्षीय संवादहरू एकदमै घनीभूत ढंगले भइरहेको छ । पुकार बमको नेतृत्वमा समिति बनाएर संवाद र सहकार्य चलिरहेको छ । त्यसलाई विन्दुमा पुर्याएपछि शीर्ष नेतृत्व, स्थापित राजनीतिक पात्रहरूसँग संवाद गर्नका लागि मेरै संयोजकत्वमा उच्चस्तरीय संवाद समिति छ,’ उनले भने, ‘हामीले वार्ता गरेर सबै कुरा टुंग्याउने भन्दा पनि एक–अर्काको कुरा बुझौँ, समानुभूति बनाउँ भन्ने दृष्टिले दुईपक्षीय र बहुपक्षीय संवाद आयोजना गरेका हौँ । यस्तो संवाद निरन्तर गर्नेछाैं ।’

वाग्लेले छलफलमा जेन–जीको आन्दोलनलाई संस्थागत गर्नुपर्ने, पुराना गल्तीबाट सच्चिएर जानुपर्ने, आर्थिक समृद्धिलाई केन्द्रमा राख्नुपर्ने, एजेन्डामा सहकार्य र एकता गरेर जानुपर्ने धारणा आएको बताए । साथै उनले एकताका लागि रास्वपा न्यूनतम उदारता देखाउन तयार रहेको पनि सुनाए । ‘रास्वपाबारे आएका धारणा सकारात्मक छन् । विधि–प्रक्रियाबाट सबै निरूपण हुन्छ । हामी सहकार्य गर्ने मूल विन्दु नै विचार र सिद्धान्त हो, त्यो स्पष्ट छ,’ उनले भने, ‘पुराना उपलब्धि ग्रहण गरेर जाने हो । वैकल्पिक शक्तिबिच सहकार्य र एकताका लागि न्यूनतम उदारता रास्वपाले देखाउँछ । कुनै अहमता नदेखाई हामी निहुरिनुपर्छ, झुक्नुपर्छ र मिलाउनुपर्छ भन्ने चेत छ ।’

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति सबै एक ठाउँमा नआए कांग्रेस र कम्युनिस्टलाई परास्त गर्न कठिन हुने बताए । ‘मुख्यत: पहाडी भेगमा तपाईंहरूको शक्ति छ । मधेश महत्वपूर्ण क्षेत्र हो । मूल मधेशबाट पनि केही शक्ति यसमा जोडिनुपर्छ । तपाईंहरू सबै यी न्यूनतम कुरामा सहमत भएर एउटै पार्टी बनाउनुस्,’ डा.भट्टराईले भने, ‘यसका लागि रवि लामिछानेजीलाई पनि निकालौँ । उहाँको नेतृत्व पनि आवश्यकता छ । त्योसँगसँगै राम्रो टिम बनाएर जाने हो भने कांग्रेस र कम्युनिस्ट नामका पार्टीहरूले जनतालाई ठगेर जुन दुर्दशामा पुर्याएका छन्, त्यसबाट मुक्त गरेर साँच्चैको विकल्प दिन सकिन्छ । त्यसमा लाग्नुस् । मेरो पूर्ण साथ–सहयोग रहन्छ ।’

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले आफूहरू जहिले पनि परिवर्तनमा लागेको र जेन–जीहरूको मुद्दा संस्थागतका लागि सहकार्य गर्न तयार रहेको बताए । ‘हाम्रो आवाज बोल्नुस्, हामी तपाईंसँगै छौँ । नागरिक जेन–जीको जनविद्रोहको साथमा छन् । सबै प्रकारको आन्दोलनलाई संस्थागत गर्न आवाज उठोस्,’ उनले भने, ‘सबै मिलेर जाउँ, सहकार्य गरौँ । यो समूहले थारूहरूको सम्मान गरोस् । हामी छाती खोलेर सहकार्य गर्न तयार छौँ ।’ 

विवेकशील साझा पार्टीका प्रकाशचन्द्र परियारले जेन–जी विद्रोह असमानताविरुद्धको आर्थिक क्रान्ति भएको बताए । ‘बेथितिविरुद्ध ०८४ सोचिरहेका थियौँ, ०८२ मै झस्काइदिनुभयो,’ उनले भने । 

काठमाडौं विश्वविद्यालयका प्रध्यापक निर्मलमणि अधिकारीले नेपाललाई पुनर्संरचना गर्न विचार मिल्नेहरू एक ठाउँमा उभिनु राम्रो हुने बताए । ‘मिल्ने कुरामा सबै शक्तिसँग सहकार्य गर्नुपर्छ,’ उनले भने ।

डाक्टर रामजी रामले देश बनाउन वैकल्पिक शक्तिहरू मिल्नुको विकल्प नभएको बताए । ‘देश बनाउन एकजना नेता भएर हुँदैन, राजनेता बनेर हुँदैन । गरिबी बनाउने समूहसँग लड्नुपर्छ,’ उनले भने, ‘यो विशेष परिस्थितिमा तपाईंहरूको भित्रको इगो त्याग्नुपर्छ । ग्रेड लिडरसिप कसरी बनाउने भनेर लाग्नुपर्छ । देश बनाउन सबै जुटिदिनुस् ।’

स्वतन्त्र राजनीतिक अभियन्ता रेशु अर्याल ढुंगानाले जेन–जी र वैकल्पिक शक्ति मिलेर जानुपर्ने र महिला तथा अल्पसंख्यकको एजेन्डा बोक्नुपर्ने बताइन् । उनले चक्रवर्ती नेताको कुरा छोडिदिन पनि अनुरोध गर्दै कलेक्टिभ लिडरसिपमा जोड दिइन् । ‘विचार नमिल्नेहरूबिच पनि एजेन्डामा सहकार्य गर्न सकिन्छ,’ उनले भनिन् ।

जेन–जी अगुवा योगेन्द्र भण्डारीले घाइते र मृतक परिवार पहिलो प्राथमिकता हुनुपर्ने बताए । ‘भ्रष्टाचारविरोधी अभियानका क्रममा जेन–जी आन्दोलन भएको, तर आज घाइतेलाई बेवास्ता गरिएको छ,’ उनको भनाइ छ, ‘वैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्छ, चुनावअगाडि आन्दोलनका माग सम्बोधन हुनुपर्छ ।’

जेन–जी अगुवा युजनराज भण्डारीले वैकल्पिक शक्ति एक ठाउँमा आउने प्रस्ताव राम्रो भएको, तर व्यवहारमा रूपान्तरण हुनुपर्ने बताए । ‘रास्वपाप्रति सद्भाव छ । रास्वपा नयाँ होे, तर वैकल्पिक होइन । वैकल्पिक भनेको रूपान्तरण हो । रास्वपामा किन रूपान्तरण हुन सकेन ?’ उनले प्रश्न गरे । साथै उनले थपे, ‘अबका पार्टीहरू आन्दोलनको म्यान्डेट बोकेर आउनुपर्छ र नेतृत्व युवाले गर्नुपर्छ ।’

राष्ट्रिय जेन–जी पार्टी नेपालका अध्यक्ष किरण बिकेले बृहत् एकता र सहकार्यका लागि सबैले आफ्नो कार्यशैली सच्याउनुपर्ने र उदार हुनुपर्ने बताए । राष्ट्रका लागि जागरण अभियानका संयोजक शरतसिंह यादवले जेन–जी आन्दोलनमा मधेश कहाँ छ भनेर प्रश्न गरे ।

गतिशील पार्टीका अध्यक्ष निदेश प्रसाईंले जेन–जी आन्दोलनपछि सबैको ध्यान समतामूलक समृद्धितर्फ हुनुपर्ने बताए । ‘यसमा सहकार्य गर्न तयार छौँ,’ उनले भने नेसपाकी संयोजक दुर्गा सोबले जेन–जी आन्दोलनले वैकल्पिक, नयाँ र अग्रगामी शक्तिहरू एक ठाउँमा आउने वातावरण बनाएको बताइन् । ‘हामीले पार्टी, नेतृत्वभन्दा देश र जनतालाई प्राथमिकतामा राखे एक ठाउँमा आउन सक्छौँ । नभए सहकार्य हुँदैन,’ उनले भनिन्, ‘फेरि पुरानै भ्रष्टकारी पार्टी चुनाव जितेर सत्तामा आउने र तपाईं–हामी मूकदर्शक बस्ने कुरा हुन्छ ।’ 
 

See More On

सुझावित समाचार