केही दिनदेखिको वर्षा र हिमपातका कारण हिमाली क्षेत्रको पदयात्राका क्रममा मुस्ताङको ‘हिडन भ्याली’ आसपासमा फसेका १५ जनाको टोली सकुशल उद्धारपछि जोमसोम आइपुगेकाे छ ।
नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटेको टोलीले तीन बेलायती महिला पर्यटक र उनीहरूसँग गएका गाइड, भरिया, सहयोगी १२ गरी १५ जनाको टोलीलाई शुक्रबार उद्धार गरेको थियो । धौलागिरि हिमालको आधारक्षेत्र हुँदै मुस्ताङ प्रवेश गर्ने क्रममा आएको वर्षा र हिमपातका कारण उनीहरू सोमबारदेखि मुस्ताङको थासाङ गाउँपालिका– १ स्थित टुकुचे हिमालको ‘हिडन भ्याली’ आसपासको बाटोमा फसेका थिए ।
समुद्र सतहबाट पाँच हजार एक सय मिटर उचाइमा रहेको ‘हिडन भ्याली’ क्षेत्रमा फसेका उनीहरूलाई चार हजार नौ सय मिटर उचाइमा रहेको बतासेडाँडा क्षेत्रबाट शुक्रबार उद्धार गरेर जोमसोम ल्याइएको हो ।
तीन दिनको अथक प्रयास र मिहिनेतपछि बतासेडाँडा इलाकाबाट उद्धार गरिएका उनीहरूको साधारण स्वास्थ्य परीक्षणपछि नेपाली सेनाको इन्द्र बक्स गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरसैनिक पथ प्रदर्शकसहितको संयुक्त उद्धार टोलीले जोमसोम ल्याएको हो ।
१५ जनाको टोलीमा बेलायती महिला पर्यटकहरू मारी रिपी, क्याथरिन विल्सन र इस्माइली जेन रहेका थिए । हिमालय ट्रेड एन्ड एक्स्पिडिसन ट्राभल एजेन्सीबाट पदयात्राका लागि गएका उनीहरूको साथमा एजेन्सीका दीर्घलाल लामा, निमाराज लामा, मानध्वज लामा, नवीन लामा, टासी शेर्पा, छिरिङ तामाङ, निमा लामा, काइँला तामाङ, बुद्धराज तामाङ, सोनम तामाङ, कान्छामान तामाङ र दोर्जे तामाङसहित गाइड, भरिया र सहयोगी गरी १२ जना गएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए ।
उनीहरूको हेलिकाेप्टरमार्फत उद्धार गर्ने भनिएकोमा मौसम खराबीका कारण नसकिएपछि सेनाको टोली उनीहरू फसेको स्थानमा गएर उद्धार गरेको हो । ‘हिडन भ्याली’ क्षेत्रमा पाँच फिटभन्दा बढषी हिउँ जमेको र बाक्लो हिमपात भइरहेकाले उद्धारमा कठिनाइ भएको थियो ।