उपत्यकाको फोहोर अवरोधको समाधान खोज्न बसेको बैठक निष्कर्षविहीन

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

बन्चरेडाँडाको फोहोर अवरोधको समाधान खोज्न बसेको बैठक निष्कर्षविहीन बनेको छ। यसअघि ०७९ मा सरकार र स्थानीयवासीबिच भएको १८बुँदे समहति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले आक्रोश पोखेपछि बैठक निष्कर्षविहीन बनेको हो।

शुक्रबार दिउँसो २ बजेदेखि ७ बजेसम्म सहरी विकास मन्त्रालयको सभाहलमा बसेको बैठकमा मन्त्रालयका सचिव, काठमाडौंका प्रजिअ, काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत, धुनीबेँसी नगरपालिकाका प्रमुख, ककनी गाउँपालिकाका प्रमुख, स्थानीय वडाध्यक्ष र स्थानीयवासी सहभागी थिए। 

तर, सहभागी स्थानीयवासीले फोहोर र मानव बस्ती एकैठाउँ बस्न नहुने भन्दै सदाका लागि उपत्यकाको फोहोर उपत्यकाभित्रै वा अन्यन्त्र व्यवस्थापनको समाधान खोज्न सरोकारवालालाई अनुरोध गरे। उनीहरूले यसअघिको १८ वटा बुँदा महानगरपालिका र मन्त्रालयले कार्यान्वयन नगरेको भन्दै सहमति कार्यान्वयन भएपछि मात्रै वार्तामा बस्न सकिने अडान लिए।

स्थानीयवासीले अबको बैठक काठमाडौं महानगरपालिकाका मेयर, सहरी विकास मन्त्रालयका सचिव, प्रमुख प्रशासकीय अधिकृतसहित बस्नुपर्ने र त्यहाँबाट मात्रै समाधान निकाल्न सकिने बताउँदै आजको बैठक निर्णायक हुन नसक्ने भनेपछि बैठक सकिएको हो। स्थानीयवासीले फोहोर ढुवानीमा अवरोध गरेपछि बिहीबारदेखि उपत्यकाको फोहोर विसर्जन हुन सकेको छैन। स्थानीयवासीले यसअघि भएको १८ बुँदे सहमतिको कुनै पनि बुँदा कार्यान्वयन नभएको आरोप लगाएका छन्।

सुझावित समाचार