२३ भदौमा प्रयोग भएका गोली प्रहरीका थिएनन् भन्ने प्रमाण ओलीले दिनुपर्छ : मोहनविक्रम सिंह

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

नेकपा मसालले देशमा व्यापक रूपमा बढेको भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धका कारणले नै जेन–जी आन्दोलन विस्फाेटक रूपमा देखापरेको निष्कर्ष निकालेको छ।

केन्द्रीय समितिको बैठकले देशको तत्कालीन राजनीतिक परिस्थितिबारे गरेको विश्लेषण र निष्कर्षहरू प्रस्तुत गर्ने क्रममा सो पार्टीले जेन–जी आन्दोलन, विदेशी हस्तक्षेपदेखि मुलुकको अवस्थाबारे दृष्टिकोण सार्वजनिक गरेको हो।

प्रगतिशील पत्रकार संघ केन्द्रीय समितिले शुक्रबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले भदौ २३ को आन्दोलनमा भएको शक्तिको अनावश्यक प्रयोग र नरसंहारको भर्त्सना गर्दै सो दिन प्रयोग भएका गोलीबारे पनि प्रश्न उठाएका छन्। तत्कालीन प्रधानमन्त्री केपी ओलीले त्यस दिन प्रयोग भएका गोली प्रहरीका होइनन् भनी दिएको अभिव्यक्तिलाई पुष्टि गर्न प्रमाणहरू प्रस्तुत गर्नुपर्ने सिंहले बताए।

त्यस्तै, २४ गतेको ध्वंसात्मक कार्यको विरोध गर्दै उनले सो कार्य जेन–जीबाट सम्भव नभएकाले घुसपैठ भएको भन्दै छानबिन गरी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

महामन्त्री सिंहले वर्तमान अन्तरिम सरकार तथा प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको पनि जिकिर गरे। साथै मसालले संसद् पुनर्स्थापनालाई पनि गलत नमान्ने र चुनाव भए बहिष्कार नगर्ने स्पष्ट पारेको छ। पार्टीको नवौँ महाधिवेशनले चुनावमा एक्लै भाग लिने निर्णय गरेको भन्दै मसालले अहिले पनि त्यही नीति हुने, तर अपवादमा पारस्परिक समझदारी वा विश्वासको वातावरण बनेको अवस्थामा कतिपय स्थानहरूमा तालमेल गर्ने नीति हुने जनाएको छ।

पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विगतका तालमेलहरूमा आबद्ध भएका दलभित्रकै प्रतिपक्षले बदमासी गरेका तितो अनुभव राख्दै मूल रूपमा एक्लै लड्ने निर्णय भएको बताए।

उनले मुलुकमा विदेशी हस्तक्षेप बढ्दो रहेको भन्दै जनता ब्युँझिनुपर्नेमा जोड दिए। जनताले भ्रष्टाचारीहरूलाई बारम्बार स्वीकृति दिएको भन्दै उनले देशव्यापी रूपमा जनता ब्युँझिनुपर्नेमा जोड दिए।

सुझावित समाचार