लगातारको वर्षातले संखुवासभाको खाँदबारी नगरपालिका– ९, तुम्लिङटारस्थित मनकामनाधाममा लाग्ने एकादशी मेलाको अवसरमा आयोजना गरेको ‘खेमराज स्मृति साँझ’ स्थगित भएको छ । आज (शुक्रबार) दिउँसोदेखि स्थानीय तथा राष्ट्रिय कलाकारहरूको उपस्थितिमा भव्य रूपमा ‘खेमराज स्मृति साँझ’ कार्यक्रमको आयोजना गरी प्रचारप्रसार गरिएको थियो ।
केही दिनदेखि लगातार वर्षात् भइरहेको हुँदा कार्यक्रम आयोजना गर्न समस्या भएको भन्दै आयोजक एकादशी बजार व्यवस्थापन समिति, मनकामना सन्न्यास आश्रम र तुम्लिङटार स्पाेर्टिङ क्लबले शुक्रबार सूचना प्रकाशन गर्दै क्षमायाचनासहित कार्यक्रम स्थगित भएको जनाएको हो ।
जलवायु परिवर्तनका कारण पछिल्लो केही दिनदेखि लगातार वर्षात् भइरहेको हुँदा प्राविधिक कठिनाइका बाबजुद ‘खेमराज स्मृति साँझ’ कार्यक्रम स्थगित गर्न बाध्य भएको आयोजकको भनाइ छ ।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको एकादशी मेलामा पाल्नुहुने श्रद्धालु भक्तजन, आगन्तुक, सहयोगी संघसंस्थाहरू र गीत–संगीतप्रेमीहरू सबैसमक्ष क्षमायाचना गरिएको सूचनामा उल्लेख छ । वि.सं. १९८२ सालबाट पूर्वको प्रसिद्ध मनकामना धाममा बर्सेनि हरिबोधनी एकादशीको अवसरमा मेला लाग्ने गर्दछ । अरुण नदीकिनारमा लाग्दै आएको एकादशी मेला यो वर्ष १००औँ वर्ष पूरा भएकाले शतवार्षिकी एकादशी मेलाको आयोजना गरिएको थियो ।