धौलागिरि सर्किटमा अलपत्र परेका १५ जना पर्यटकको उद्धार

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

म्याग्दीको धौलागिरि सर्किट गई फर्कने क्रममा मुस्ताङ र म्याग्दीको बिचभागमा फसेका १५ जना पर्यटकको शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने बतासेडाँडानजिकैबाट उनीहरूको उद्धार गरिएको हो । तीनजना विदेशी र १२ जना नेपाली गरी जम्मा १५ जना पर्यटक धौलागिरि सर्किट गई फर्कने क्रममा कात्तिक ११ गते उनीहरू अलपत्र परेको भन्ने ट्राभल्स एजेन्सीद्वारा सुरक्षा निकायलाई जानकारी गराएपश्चात् कात्तिक १२ गते उनीहरूको उद्धारका लागि सुरक्षा निकाय त्यसतर्फ गएको थियो ।

मुस्ताङको सदरमुकाम जोमसोमबाट पैदल हिँडेर जानुपर्ने भएको हुँदा उनीहरूको उद्धारमा केही समय लागेको हो ।

उद्धार गरी उनीहरूलाई मुस्ताङको सदरमुकाम जोमसोमतर्फ ल्याइँदै गरेको र उनीहरूको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सुझावित समाचार