टोखामा निःशुल्क आँखा शिविरसँगै सचेतनामूलक कार्यक्रम सम्पन्न

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

टोखा नगरपालिका– १, झोरमा रहेको झोर महाँकाल स्वास्थ्य चौकीमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । केडिसी जनरल अस्पताल र झोर महाँकाल स्वास्थ्य चौकीको आयोजना तथा बिएमटिपिबी फाउन्डेसनको सहयोगमा गत बुधबार आयोजना गरिएको शिविरमा त्यस क्षेत्रका ११२ जनाले आँखा परीक्षण गराएका थिए। तीमध्ये ७७ जना महिला र ३५ जना पुरुष रहेका थिए।

शिविरमा ५६ जनामा प्रेस्बायोपिया (पढ्ने चस्मा चाहिने समस्या), आठजनामा क्याटर्याक (मोतियाविन्दु), २६ जनामा दृष्टिदोष (रिफ्र्याक्टिभ एरर), १० जनामा ड्राई आई र केहीमा प्टेरिजियम, ट्रिकियासिस, स्युडोफोबिया तथा आँखाको एलर्जी देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।

उक्त शिविरमा ६० जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने १० जनाभन्दा बढी बिरामीलाई थप उपचारका लागि रिफर गरिएको बताइएको छ । 

कार्यक्रममा अप्टोमेट्रिस्ट पूजा पाण्डित, नेत्र सहायक अमिशा आचार्य र युना राई, तथा जनस्वास्थ्य अधिकृत स्वेच्छा मरासिनीलगायतले सेवा प्रदान गरेका थिए।

यस्तै, कार्यक्रममा वडाध्यक्ष रामेश लामिछाने, स्वास्थ्य चौकी इन्चार्ज पवन यादव, नर्स सरस्वती कार्की तथा स्वयंसेवक बलराम सापकोटाको सहभागिता रहेको थियो। शिविर बिहान १० बजेदेखि साँझ ४ बजेसम्म  चलेको थियो । 

झोरका स्थानीयले आफ्नै टोलमा आँखा जाँच गर्न पाएकोमा खुसी व्यक्त गरे । उनीहरूले नियमित रूपमा आँखाको जाँच आवश्यकता र महत्त्वबारे सचेत भएकोसमेत प्रतिक्रिया दिएका थिए । 

त्यसो त टोलीले शिविर भएकै दिन दिउसो आँखा स्वास्थ्य र मधुमेहजन्य रेटिनोप्याथीसम्बन्धी जनचेतनामूलक सत्र पनि आयोजना गरेको थियो । सो कार्यक्रममा विद्यार्थी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय समुदायका ३० जनाभन्दा बढीको सहभागिता थियो ।

सुझावित समाचार