विमान कम्पनीले रामेछाप–काठमाडौं उडान तालिका घटाए

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

रामेछापबाट काठमाडौंका लागि हप्ताको तीन उडान भर्दै आएका तीन निजी वायुसेवा कम्पनीहरूले अब हप्ताको एक उडान मात्रै भर्ने भएका छन्। असोज महिनादेखि रामेछाप–काठमाडौं हप्ताको तीन उडान भर्दै आएका वायुसेवा कम्पनीहरूले यात्रुको चाप घटेसँगै उडान तालिका घटाएका हुन्। असोज महिनामा परेको अविरल वर्षासँगै बिपी राजमार्ग बन्द भएपछि अलपत्र परेका यात्रुहरूलाई मध्यनजर गर्दै नियमित हवाई उडान हुनुपर्ने माग गर्दै स्थानीय शान्तिदीप युवा क्लब र जेन–जी समूहले रामेछापबाट काठमाडौंका लागि उडान भर्न माग गरेका थिए। 

यसअघि रामेछाप विमानस्थलबाट सोलुको लुक्लाका लागि मात्रै उडान भर्दै आएका थिए । रामेछापबाट सोलुका लागि उडान भरे तापनि रामेछापबाट काठमाडौं उडान नभर्दा रामेछापका नागरिकहरूले सेवा नपाएको भन्दै स्थानीयहरूले चर्को विरोध जनाउँदै आएका थिए। शान्तिदीप युवा क्लब र जेन–जीको सोही मागलाई सम्बाेधन गर्दै रामेछापबाट सोलुको लुक्ला उडान भर्दै आएका तीन वायु सेवा कम्पनीहरूले हप्ताको तीन दिन रामेछाप–काठमाडाैं उडान भर्ने सहमति जनाएका थिए। सो सहमतिअनुसार असोज महिनादेखि प्रत्येक हप्ताको बुधबार समिट एयर, शुक्रबार सीता एयर र शनिबार तारा एयरले रामेछाप–काठमाडौं उडान भर्दै आएका थिए। 

अहिले दसैँ र तिहार मनाउन आएका नागरिकहरू पनि चाडबाड मनाएर आ–आफ्नो कर्मथलो फर्किसकेका र अवरुद्ध भएको बिपी राजमार्गसमेत निर्माण भई नियमित यातायातका साधनहरू सञ्चालन भएसँगै हवाईजहाजमा यात्रा गर्ने यात्रुको संख्या घटेपछि विमान कम्पनीहरूले रामेछाप–काठमाडौं उडान तालिका हटाउने तयारी गरेका थिए । सो विषयलाई लिएर उडान तालिका हटाउनेभन्दा पनि हप्तामा एक उडान भए पनि राख्नुपर्ने मागसहित शान्तिदीप युवा क्लबका प्रतिनिधिहरूले हवाई कम्पनीका प्रतिनिधिहरूसँग लिखित रूपमा माग गरेका थिए । सोही मागबमोजिम अब प्रत्येक हप्ताको शुक्रबार विमान कम्पनीहरूले रामेछाप–काठमाडौं उडान भर्ने सहमति भएको शान्तिदीप युवा क्लबका अध्यक्ष सुरेश उदासले जानकारी दिए । 

उनले भने, ‘हप्ताको एक उडान हुँदा पनि बिरामी, अशक्त, गर्भवती महिला, ज्येष्ठ नागरिकहरूलाई आवतजावतमा सहज हुन्छ। उडान नहुँदा बिरामीहरूले बिपी राजमार्ग हुँदै यातायातका साधनमा कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।’ सहमतिअनुसार कात्तिक १४ गते सीता एयर, कात्तिक २१ गते तारा एयर र कात्तिक २८ गते समिट एयरले रामेछाप–काठमाडौं रुटमा उडान भर्नेछन्। यही तालिकाअनुसार पछिल्लो समयमा पनि नियमित रूपमा हवाई सेवा सञ्चालन हुने सहमति भएको क्लबका अध्यक्ष उदासले बताए। 

सुझावित समाचार