सन् १९८० : भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनका दुई शिख अंगरक्षकले गोली हानी हत्या गरे । इन्दिराको सरकारले अप्रेसन ब्लुस्टारकाको समयमा शिखहरूको सबैभन्दा पवित्र धार्मिक स्थल स्वर्णमन्दिरमा क्षति पुर्याएको बदलामा उनको हत्या गरिएको थियो ।
सन् १५१७ : चर्चको सुधारको माग गर्दै आएका मार्टिन लुथरले विटेनवर्गस्थित चर्चको ढोकामा उनका ९५ बुँदे सुधारको माग टाँसे । यस कदमले इसाई धर्मभित्र प्रोटेस्टेन्ट सुधार अभियान सुरु गर्यो ।
सन् १८१५ : दक्षिण–पश्चिम इंग्ल्यान्डस्थित कोर्निसम्यानका बासिन्दा सर हम्फ्रे डेभीले खानीमा प्रयोग गर्न मिल्ने सुरक्षित बत्तीको प्याटेन्ट पाए ।
सन् १८६३ : न्युजिल्यान्डमा ब्रिटिस फौजले वाइकातोमाथिको आक्रमण सुरु गरेपछि माओरी जातिसँगको ब्रिटिस फौजको युद्ध पुन: सुरु भयो ।
सन् १८६४ : नेभाडा अमेरिकाको ३६औँ राज्य बन्यो ।
सन् १८७६ : तत्कालीन ब्रिटिस इन्डियाको हिस्सा ब्याकरगन्ज (हालको बंगलादेश)मा आएको भीषण आँधीले दुई लाखको ज्यान लियो । यो सबैभन्दा धेरै ज्यान लिने आँधीमध्ये एक हो ।
सन् १९२२ : इटलीका राजा इम्यानुयल तृतीयले नियुक्त गरेका मुसोलिनीले प्रधानमन्त्रीको शपथ लिए । शासन सम्हालेपछि मुसोलिनीले विपक्षी, श्रमिक संगठनमाथि प्रतिबन्ध लगाउँदै एकदलीय तानाशाही चलाए ।
सन् १९२५ : कोसाक सैनिक अधिकारी रेजा खान पल्हवीले इरानको संसद्लाई देशका तत्कालीन राजा सुल्तान अहमदलाई अपदस्थ गराउन मनाउन सफल भए ।
सन् १९४१ : अमेरिकाको साउथ डेकोटा राज्यको माउन्ट रसमोर पहाडमा देशका चार पूर्वराष्ट्रपतिका १८ मिटर अग्लो आकृति बनाउने काम सम्पन्न भयो ।
सन् १९५६ : स्वेज नहरको विषयलाई लिएर इजरायलले इजिप्टमाथि आक्रमण गरेको दुई दिनपछि बेलायत र फ्रान्सले पनि इजिप्टमाथि बमबारी सुरु गरे ।