- दोस्रो संस्करणको एनपिएलमा इमर्जिङ, सर्वाधिक विकेट तथा सर्वाधिक रन बनाउने क्रिकेटरलाई गोल्छा ग्रुपले पल्सर बाइक दिने
दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का इमर्जिङ प्लेयर, सर्वाधिक विकेट लिने र सर्वाधिक रन बनाउने खेलाडीले पल्सर मोटरसाइकल पाउने भएका छन् । एनपिएलको आयोजक नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुपबिच बिहीबार भएको प्रायोजन सम्झौताअनुरूप तीन खेलाडीले पल्सर बाइक पाउने भएका हुन् । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
एनपिएलसँग जोडिएपछि गोल्छाले दिने रकमबारे खुलाउन चाहेन् । खेलकुदमा लामो समयदेखि जोडिएको गोल्छा ग्रुपले एनपिएलमा आबद्ध हुनुलाई अवसरका रूपमा लिएको निर्देशक गोल्छाले बताए । ‘लामो समयदेखि खेलकुदमा जोडिरहेका छौँ । विश्व क्रिकेटको फ्रेन्चाइज लिगमा छोटो समयमै नाम राख्न सफल भएको एनपिएलसँग जोडिनु हाम्रो लागि सुन्दर अवसर हो,’ गोल्छाले भने ।
क्यानका सचिव खड्काले गोल्छासँगको सम्झौताले क्रिकेटको विकासमा ठुलो योगदान पुर्याउने बताए । ‘नेपालको प्रसिद्ध गोल्छा ग्रुपसँगको सम्झौताले नेपाली क्रिकेटको विकासमा सहयोग पुग्ने विश्वास लिएका छौँ,’ पारसले भने । पहिलोको तुलनामा दोस्रो संस्करणको एनपिएल भव्य हुने खड्काले बताए । ‘दोस्रो संस्करणको एनपिएल पूर्वाधारका रूपले पनि निकै उत्कृष्ट हुने अपेक्षा छ,’ उनले भने, ‘यसपटक पनि क्रिकेट प्रशंसकलाई निराश हुन दिँदैनौँ ।’ साथै खड्काले एनपिएलको तयारी अन्तिम चरणमा पुगेको बताए ।
गत वर्ष भएको पहिलो संस्करणमा जनकपुर बोल्टले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधि जितेको थियो । आगामी १ देखि २७ मंसिरसम्म त्रिवि क्रिकेट मैदानमा चल्ने दोस्रो एनपिएलमा काठमाडौं गोर्खाज, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौंमा अमेरिकाका मिलिन्द
एनपिएलको फ्रेन्चाइज टोली काठमाडौंले तेस्रो विदेशी खेलाडीका रूपमा अमेरिकाका ब्याट्सम्यान मिलिन्द कुमारलाई अनुबन्ध गरेको छ । ३४ वर्षे मिलिन्द अहिले उत्कृष्ट लयमा छन् । काठमाडौंले यसअघि इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान रिकार्डो भास्कोनेसेलोस र नामिबियाका कप्तान जेहार्ड इरसमसलाई भित्र्याएको थियो । मिलिन्द अहिले युएईमा चलिरहेको आइसिसी विश्वकप डिभिजन लिग २ मा अमेरिकाबाट प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपाल सम्मिलित विश्वकप लिग २ मा उनले नेपालविरुद्ध ५० बलमा ७० र युएईविरुद्ध ८१ बलमा ७१ रन बनाएका थिए । ‘मिलिन्दले अमेरिकी टोलीका लागि आफ्नो भूमिका निर्वाह गर्दै आएका छन्,’ काठमाडौंका प्रशिक्षक मोन्टी देसाईले भने, ‘फरक परिस्थिति र दबाबमा पनि खेल्न सक्ने उनको क्षमता उत्कृष्ट छ ।’
मिलिन्दले नयाँदिल्लीबाट सन् २०११ मा रणजी ट्रफीमा डेब्यु गरेका थिए । मिलिन्द दुईपटक इन्डियन प्रिमियर लिगको टोलीमा समावेश थिए । सन् २०१४ मा दिल्ली डेयरडेभिल्सले १० लाख र २०१९ मा रोयल च्यालेन्जर्स बेंग्लोरले बेस प्राइस २० लाखमा उनलाई लिएको थियो । तर, उनले आइपिएलमा खेल्न भने पाएका थिएनन् । २०२१ मा उनी माइनल लिग क्रिकेट हुँदै अमेरिकी क्रिकेटमा स्थापित भएका थिए । अहिले चलिरहेको विश्वपक लिग २ मा उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीको तेस्रो स्थानमा छन् । उनले २० खेलमा दुई शतक र ६ अर्धशतक जोडेका छन् ।
युगान्डाका रमजानी चितवनमा
युगान्डाका अलराउन्डर अल्पेस रमजानीले चितवनबाट खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत रमजानीलाई अनुबन्ध गरेको जनाएको हो । ३१ वर्षीय रमजानी बाँयाहाते ब्याटिङ तथा बाँयाहाते स्पिन बलिङ गर्छन् । उनले युगान्डाका लागि ६५ टी–२० आईमा ८५० रन बनाउँदा १०२ विकेट पनि लिएका छन् ।
उनले सन् २०२४ को टी–२० विश्वकप पनि खेलेका थिए । एनपिएलको पहिलो संस्करणको एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएर चौथो भएको चितवनले यसअघि इंग्ल्यान्डका डेभिड मलानलाई अनुबन्ध गरेको थियो । रवि बोपारा र सोहेल तनभिरलाई चितवनले रिटेन गरेको छ ।