कांग्रेस बैठकमा पक्ष–विपक्ष : धेरैको मत चुनावपछि मात्रै महाधिवेशन

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण
  • बिहीबार १५ जना बोलेकामा धेरैजसोको २१ फागुनको निर्वाचनअघि महाधिवेशन सम्भव नभएको तर्क 
  • तर, महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न कार्यवाहक सभापतिले अनुमति नदिएपछि महामन्त्री थापा बैठकमै गएनन्

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टी महाधिवेशन प्रतिनिधिसभा चुनावपछि मात्र गर्नुपर्ने पक्षमा बलियो मत उठेको छ । बिहीबार केन्द्रीय समिति बैठकमा बोल्ने धेरैजसो नेताले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपूर्व महाधिवेशन सम्भव नहुने धारणा राखेका छन् । महाधिवेशनको विषयलाई लिएर मुख्यत: तीन धार देखिएकै वेला पार्टीको शक्तिशाली निकायको बैठकमा संस्थापन पक्षधर मत धेरै देखिएको हो ।

मंसिरमा नियमित वा सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्छ भन्ने आफूहरूको प्रस्तावको विपक्षमा अधिकांश नेताले धारणा राखेपछि महामन्त्रीद्वयमाथि दबाब परेको छ । गत १ कात्तिकमा रोकिएको बैठक बिहीबारबाट पुन: चलेपछि केन्द्रीय सदस्यहरूले धारणा राख्न थालेका छन् । बिहीबार १५ जना बोलेकामा धेरैले २१ फागुनको निर्वाचनअघि महाधिवेशन सम्भव नभएको तर्क गरेका छन् । 

बैठक सुरु हुनुअगावै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेपछि बैठक सञ्चालनमा सहमति जुटेको थियो । केन्द्रीय समितिमा उल्लेख्य बहुमत रहेकाले इतरपक्षको दबाबबाट नगलेको संस्थापन पक्ष विशेष महाधिवेशनका लागि प्रस्तुत हस्ताक्षरको विषय प्रवेश गराउन भने तयार देखिएको छ ।

कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनका लागि प्राप्त हस्ताक्षरबारे बैठकमा जानकारी गराउने र महामन्त्री थापाले ‘विधानले तोकेको समयावधिभित्र नै पार्टीको १५औँ महाधिवेशन गर्नका लागि कार्यतालिका निर्माण गर्ने’ प्रस्ताव राखेर बैठक सञ्चालन गर्ने सहमति जुटेको थियो । बैठकमा कार्यवाहक सभापतिले हस्ताक्षरबारे जानकारी गराउँदै बैठक अगाडि बढाएका थिए । तर, महामन्त्री थापा बैठकमा सहभागी भएनन् । महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्न कार्यबाहक सभापति खड्काले अनुमति नदिएपछि थापा बैठकमा सहभागी नभएको नेताहरूको भनाइ छ । महामन्त्री थापा उपस्थित नभएपछि नेताहरूले सोधीखोजी गरेका थिए । यसअघिको बैठकमा पनि महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न खाजे पनि सभापति शेरबहादुर देउवाले अनुमति नदिएपछि रोकिएका थिए ।

बिहीबारको बैठकमा महाधिवेशनको प्रस्तावमा केन्द्रित रहेर १५ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । बैठकमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी., रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार वि.क., लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) ले आफ्नो मत राखेका हुन् ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार उनीहरूमध्ये अधिकांशले राष्ट्रिय निर्वाचनअघि महाधिवेशन सम्भव नभएकाले त्यसपछि नियमित महाधिवेशनमा जाँदा उपयुक्त हुने सुझाव दिएका छन् । महतका अनुसार  राष्ट्रिय निर्वाचनअघि पार्टी महाधिवेशनतिर जाँदा तयारी नपुग्ने उनीहरूको तर्क छ । ‘बिहीबारको बैठकमा बोलेकामध्ये अधिकांश सदस्यले निर्वाचन घोषणा भएकाले त्यसमा प्राथमिकता दिने र त्यसपछि नियमित महाधिवेशन गर्न उपयुक्त हुने धारणा राख्नुभएको छ,’ उनले भने, ‘केही साथीले मंसिरमै सम्भव छ भन्नुभएको छ । महाधिवेशनमा जाने विषयमा केही समस्या छैन, चुनावअगाडि कि पछाडि भन्ने मत छन् ।’

कांग्रेसको संस्थापन पक्ष विधि, प्रक्रिया र पार्टी विधान देखाएर केन्द्रीय कार्यसमितिको म्याद थप्नुपर्ने पक्षमा छ । महामन्त्री पक्षधर आसन्न मंसिरमै महाधिवेशन हुनुपर्ने अन्यथा विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छ । इतर समूहका नेता डा. शेखर कोइराला पक्ष भने नियमित महाधिवेशनमा जानुपर्ने र त्यसका लागि कार्यतालिका ल्याउनुपर्ने पक्षमा छ ।

१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको चारवर्षे म्याद आगामी मंसिरमा सकिँदै छ । विधानमा एक वर्ष म्याद थप्न पाउने व्यवस्था छ । संस्थापन पक्ष सोही व्यवस्थामा टेकेर म्याद थप्ने पक्षमा लागेको भन्दै विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरू मंसिरमै महाधिवेशन हुनुपर्ने अडानमा छन् ।

कांग्रेसका आधाभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका छन् । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरे केन्द्रीय कार्यसमितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने वैधानिक व्यवस्था छ । मंसिरमा सम्भव नभए विशेष महाधिवेशनबाट भए पनि जेन–जी आन्दोलनको भावना सम्बोधन गर्ने गरी नयाँ नेतृत्व लिएर मात्र राष्ट्रिय निर्वाचनमा जानुपर्ने महामन्त्रीद्वयको मत छ । 

केन्द्रीय सदस्य प्रदीप पौडेलले नियमित महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर २१ फागुनको चुनावमा जानु उपयुक्त हुने बताए । उनले पार्टीभित्र विशेष महाधिवेशन माग भए पनि नियमित महाधिवेशनमा जाँदा पार्टी वडा तहसम्म चलायमान हुने बताए । ‘नियमित महाधिवेशन गर्यौँ भने हामीले समयसापेक्ष नेतृत्व बदल्न सक्छौँ । फेरि संरचनागत उत्साह सिर्जना गर्न सकिन्छ । सबै तहका अधिवेशन हुँदा सबै तहकै संरचना चलायमान हुन्छन्,’ उनले भने, ‘पार्टीमा नेतृत्व मात्र होइन, नीति पनि प्रधान विषय हो । जेन–जी उमेर समूहले उठाएका मुद्दादेखि राजनीतिक मुद्दाहरू संविधान संशोधन गरेर जान नीतिगत परिवर्तन जरुरी छ । संस्थागत निर्णय गर्ने ठाउँ महाधिवेशन नै हो ।’

नयाँ नेतृत्व लिएर मात्र २१ फागुनको चुनावमा जानु उपयुक्त हुने उनको भनाइ छ । उनले २४ मंसिरभित्र वडा अधिवेशन सकेर पुस मसान्तभित्रै राष्ट्रिय महाधिवेशन गर्न सकिने जिकिर गरे । ‘२४ मंसिरभित्र वडा अधिवेशन गर्ने र पुस मसान्तभित्र महाधिवेशन सक्नुपर्छ,’ नेता पौडेलले भने, ‘यही नै कांग्रेसको अहिलेको समाधान हो । निर्वाचनमा जानका लागि कांग्रेसले गर्नुपर्ने काम पनि यही नै हो ।’ यसअघि महामन्त्री थापाले कार्यसम्पादन समितिमा दुईवटा विकल्प राखेर राष्ट्रिय महाधिवेशन गर्न सकिने प्रस्ताव गरेका थिए । तर, तत्कालीन सभापति शेरबहादुर देउवाले अनुमति नदिएपछि उनको प्रस्ताव एजेन्डा बनेन । 

सुझावित समाचार