रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

सहकारी ठगीसम्बन्धी रवि लामिछाने र छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा बिहीबारको सुनुवाइ स्थगित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक जोशीको मुद्दाको सुनुवाइका लागि बिहीबार संयुक्त इजलासमा पेसी तोकिएको थियो।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा दुवैको मुद्दा सुनुवाइका लागि चौथो नम्बरमा थियो। तर, जोशीका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न अनुरोध गर्दै निवेदन दिएपछि लगाउमा रहेको लामिछानेको मुद्दाको सुनुवाइ पनि स्थगित भएको हो। लगाउको मुद्दा भएकाले दुवैको सुनुवाइ स्थगित भएको मुद्दाको पेसी अब अर्को हप्ता तोकिने उनले बताए।

यसअघि गत असोज ३० गते सहकारी ठगी मुद्दामा बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने लामिछाने र जोशीको मुद्दाका फाइल एकसाथ पेस गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले आदेश गरेको थियो। त्यसको केही दिनअगाडि मात्रै जोशीको पनि कैफियत प्रतिवेदन उच्च अदालतमा प्राप्त भएको थियो।

लामिछाने र जोशीले बिगोबमोजिमको रकम बुझाएर थुनामुक्त रहँदै पुर्पक्षका लागि मुद्दा लड्न माग गरेकोमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले दुवैको फाइल एकैसाथ पेस गर्न आदेश दिएको थियो। यसअघि उनीहरूले जिल्ला अदालतमा सोही प्रकृतिको निवेदन दिएकोमा जिल्लाले अस्वीकार गरेपछि उच्चमा गएका थिए।

लामिछानेले जिल्लाको आदेश बदर गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ बमोजिम थुनामुक्तिको माग गर्दै मुद्दा दायर गरेका थिए। सहकारी ठगीमा आफ्नो संलग्नता नभएको बताउँदै आएका रविले आफ्नो भागको बिगोबराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा १९ साउनमा निवेदन दिएका थिए।

सुप्रिम सहकारीको सामूहिक बिगो १० करोड ९९ लाख ३६ हजारको चार भागको एक भाग अर्थात् दुई करोड ७४ लाख ८४ हजारबराबरको बैंक जमानतसहित उनले निवेदन दिएका थिए । तर, रुपन्देही अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको २६ साउनको इजलासले बिगो अस्वीकार गर्दै थुनामै पठाउन आदेश गरेको थियो। त्यही आदेशविरुद्ध लामिछाने उच्च गएका हुन्।

सुझावित समाचार