काठमाडौंको तारकेश्वर नगरपालिका– ५, गोलढुंगा फूलबारीगेटनजिक बुधबार बेलुका खुकुरी देखाएर लुटपाट भएको छ । लुटपाटमा संलग्नहरूलाई प्रहरीले केही समयमै पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका– ५ घर भएका १९ वर्षीय श्रवण तामाङ सडक किनारामा बा.प्र. ०२–०५० प १६०२ नम्बरको मोटरसाइकल रोकी बसेको अवस्थामा राति १० बजेर ५० मिनेटको समयमा बा.४२प ४०६९ नम्बरको पल्सर मोटरसाइकलमा रहेका व्यक्तिले खुकुरी देखाएर धम्क्याई उनको ब्याग लुटेका थिए। प्रहरीले खबर पाएलगत्तै अस्थायी प्रहरी पोस्ट तिनपिप्लेबाट चेकिङमा खटिएका वरिष्ठ हवल्दार जीवन बुढाथोकीको टोलीले उनीहरूलाई तत्कालै पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मकवानपुर भीमफेडी गाउँपालिका– ५ घर भई हाल काठमाडौं जिल्ला बुढानीलकण्ठ बस्ने वर्ष २६ को सूर्यबहादुर घलान र सिन्धुली दुधौली नगरपालिका– १० घर भई हाल काठमाडौं जिल्ला बुढानीलकण्ठ बस्ने वर्ष २३ को मनोज चौधरी रहेका छन् । उनीहरूबाट लुटिएको झोला र लुट्न प्रयोग गरिएको खुकुरीसमेत बरामद गरिएको प्रहरी वृत्त बालाजुले जनाएको छ। ट्रामाडोल नामक लागुऔषधसमेत उनीहरूसँग भेटिएको छ ।