एकीकृत समाजवादीमा वाम एकताको औपचारिक प्रस्ताव

नेकपा छाड्न नसकिने, मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद मान्नुपर्ने, समाजवादी कार्यदिशा अँगाल्नुपर्ने

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा वाम एकतासहितको प्रस्ताव प्रस्तुत भएको छ । राजधानीमा बुधबार सुरु बैठकमा अध्यक्ष माधवकुमार नेपालले १७ पेज लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै एकताको विषय पनि प्रस्ताव गरेका हुन् ।

‘कम्युनिस्ट एकता आजको आवश्यकता हो । किनभने समाजवादी क्रान्ति सम्पन्न गर्नका निम्ति एउटा बलियो क्रान्तिकारी शक्तिको अवश्यकता पर्दछ । र, त्यो बलियो क्रान्तिकारी शक्तिको निर्माण यहाँका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबिचको एकताबाटै हुन सक्दछ,’ नेपालले राजनीतिक प्रतिवेदनमा भनेका छन् ।

पार्टी स्थापनादेखि नै क्रान्तिकारी कम्युनिस्टहरू, खासगरी समाजवादी कार्यदिशा र कार्यक्रम अँगालेका कम्युनिस्ट घटकबिच एकता हुनुपर्ने कुरामा जोड दिँदै आएको नेपालले स्मरण गरेका छन् । दसौैँ महाधिवेशनबाट पारित दस्ताबेजमा पनि एकतामा जोड दिइएको उनले बताएका छन् । नेकपा छाड्न नसकिने, मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद मान्नुपर्ने, लेनिनवादी संगठनात्मक सिद्धान्त हुनुपर्ने, रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुनुपर्ने, समाजवादी कार्यदिशा अँगाल्नुपर्नेजस्ता विषयमा सहमति कायम हुँदा एकतामा ढिलाइ गर्न नहुनेमा नेपालले जोड दिए ।

‘पार्टीको नाम नेकपा (...) हुनुपर्दछ । नेपाली क्रान्तिको जनवादी चरण पूरा भएको र मुलुक समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको मान्नुपर्दछ । आमनेपाली जनता र दलाल नोकरसाही पुँजीपति वर्गबिचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध मान्नुपर्दछ । पार्टी र क्रान्तिको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद मात्रै हुनुपर्दछ । पार्टीको संगठनात्मक सिद्धान्त लेनिनवादी संगठनात्मक सिद्धान्त नै हुनुपर्दछ । पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुनुपर्दछ । समाजवादी कार्यदिशा अँगाल्नुपर्दछ । नेपाली विशेषताको समाजवादी कार्यक्रम अंगीकार गर्नुपर्दछ र साम्राज्यवाद, प्रभुत्ववाद तथा नवउपनिवेशवादको विरोध गर्दै राष्ट्रको विकास, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, समानता र आमजनताका हक अधिकारको पक्षमा दृढतापूर्वक खडा हुनेर संघर्ष गर्ने प्रतिबद्धता हुनुपर्दछ । यी अवधारणा छाडेर कसैसँग पनि पार्टी एकता हुन सक्दैन, गरिँदैन । यदि यी सबै कुरामा समान धारणा राख्ने कुनै कम्युनिस्ट घटकसँग एकताको सम्भावना भएमा हामी नकारात्मक हुन पनि हुँदैन । यिनै सैद्धान्तिक अवधारणाका आधारमा पार्टी एकता गर्न सकिन्छ भने त्यसका लागि हामीले नै पहल गर्नुपर्दछ । त्यो जिम्मेवारी बहन गर्न हामी सदैव तत्पर रहनुपर्दछ,’ प्रतिवेदनमा छ । 

स्पष्ट आधार निर्माण नभईकन पार्टी एकता हुन नसक्ने उनले बताएका छन् । ‘पार्टी एकता हुनका लागि सबभन्दा पहिले पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, संगठनात्मक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिको कार्यक्रम, कार्यदिशा र कार्यनीतिजस्ता मूलभूत विषयमा एकरूपता हुनुपर्दछ । त्यसको साथै संगठनात्मक संरचना र कार्य प्रणाली कस्तो हुने हो भन्ने विषय पनि त्यत्तिकै महŒवपूर्ण हुन्छ । यी महŒवपूर्ण सवालमा समानता नभईकन कसैसँग पनि पार्टी एकता हुन सक्दैन । यी सबै विषयमा समानता भयो र सहमति पनि निर्माण भयो भने एकता गर्न नहुने कुरा मात्र होइन एकता सम्पन्न गर्न ढिलाइ गर्नुहुँदैन,’ नेपाले भनेका छन् ।

निहत्थामाथि गोली चलाउने र विध्वंस मच्चाउनेलाई कारबाही
नेपालले २३ भदौको जेन–जी आन्दोलनमा सरकारले बर्बर दमन गरेका कारण २४ भदौको विध्वंस निम्तिएको जिकिर गरेका छन् । २३ भदौमा निहत्था प्रदर्शनकारीमाथि गोली चलाउने र २४ भदौमा ऐतिहासिक धरोहरहरू र सार्वजनिक तथा निजी संरचना ध्वंश गर्ने यी दुवै गम्भीर आपराधिक कार्य भएको भन्दै नेपालले दुवैको गहिरो छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताएका छन् ।
जेन–जी पुस्ताले राष्ट्रिय सम्पत्ति र धरोहर ध्वस्त पार्न नसक्ने नेपालको जिकिर छ । ‘यस्ता निकृष्ट कुकृत्य त निहित स्वार्थ बोकेका कुतŒवहरूले मात्र गर्न सक्तछन् । अत: त्यस्ता कुतŒवको पहिचान गरी दण्डित गर्नेतर्पm सरकार विशेष अग्रसर हुन जरुरी छ,’ उनले भनेका छन् । जेन–जी पुस्ताले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्ने माग जायज रहेको उनले बताएका छन् । अहिलेको परिस्थिति उत्पन्न हुनुको मुख्य कारण देशमा आएको राजनीतिक परिवर्तनअनुरूप आर्थिक–सामाजिक रूपान्तरण हुन नसक्नु भएको नेपालले औँल्याएका छन् ।

वर्तमान परिस्थितिको मुख्य जिम्मेवार ओली
नेपालले अहिलेको परिस्थिति ल्याउनुको मुख्य जिम्मेवार एमाले अध्यक्ष केपी ओली भएको जिकिर गरेका छन् । तत्कालीन प्रधानमन्त्री ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेपछि मुलुक आन्तरिक विवाद, पार्टी विभाजन र राजनीतिक अस्थिरताको दिशामा गएको नेपालको दाबी छ । ‘अहिलेको परिस्थिति ल्याउनमा मुख्य जिम्मेवार ०७४ को आमनिर्वाचनपश्चात् बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओली हुन् किनभने करिब दुईतिहाइ बहुमतको त्यस एकल सरकारले मुलुकको आर्थिक–सामाजिक रूपान्तरण गर्ने गुरुयोजना बनाएर तीव्र गतिका साथ विकास निर्माणका काम गर्नुपथ्र्यो, तर गरेन । त्यस सरकारले विसं ०५१ मा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारले गरेजति जनपक्षीय काम पनि गरेन । पार्टीको नीति र निर्देशनमा सरकार चलाउनुपर्यो भन्दा नमानेर ओलीले प्रतिनिधिसभा विघटन गर्नेजस्तो प्रतिगामी कदम चाले । त्यसै विन्दुबाट मुलुक आन्तरिक विवाद, पार्टी विभाजन र राजनीतिक अस्थिरताको दिशामा गयो,’ प्रतिवेदनमा छ ।

उपलब्धि गुम्न नदिन समयमै निर्वाचन 
लामो संघर्ष र बलिदान गरेर प्राप्त उपलब्धिलाई गुम्न नदिन फेरि सचेत हुनुपर्ने नेपालले औँल्याएका छन् । जनताको हितलाई सर्वोपरी राखेर संवैधानिक रूपमै जेन–जी आन्दोलनका मागहरूको सम्बोधन गर्दै वर्तमान संकटलाई चिर्नुपर्नेमा नेपालले जोड दिएका छन् । निर्धारित समयमा निर्वाचन गराई ताजा जनादेशबाट बन्ने संसद्ले संविधान संशोधन गरेर जेन–जी पुस्ताका काम सम्बोधन गर्न सकिने उनले बताएका छन् । ‘हाम्रो राष्ट्रलाई असफल हुने खतराबाट जोगाउनुपर्छ । जनताको हितलाई सर्वोपरी राखेर संवैधानिक एवं कानुनसम्मत रूपमै जेन–जी आन्दोलनका मागहरूको सम्बोधन गर्नुपर्छ र वर्तमान संकटलाई चिर्नुपर्दछ । निर्धारित समयमा प्रतिनिधिसभाको चुनाव गराई ताजा जनादेशबाट बन्ने संसद्बाट वर्तमान संविधानको संशोधन गरेर जेन–जी पुस्ताले उठाएका मागको सम्बोधन गर्न सकिन्छ,’ प्रतिवेदनमा छ ।

एकता वार्ता कार्यदलका संयोजक भुसालको ‘ब्रिफिङ’ – एकीकृत पार्टीको नाम ‘नेकपा समाजवादी’, चुनाव चिह्न ‘तारा’
पार्टी एकताका लागि गठित कार्यदलका संयोजक एवं वरिष्ठ नेता डा. बेदुराम भुसालले एकता प्रगतिबारे बैठकमा ब्रिफिङ गरेका छन् । उनले माओवादीसहित विप्लव नेतृत्वको नेकपा, अशोक राई नेतृत्वको जसपा, महिन्द्र राय यादव नेतृत्वको नेसपा, प्रेमबहादुर सिंहको समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टीलगायत दलहरू र समूहहरूसँग वार्ता भएको जानकारी दिए । सबैसँगको वार्ता सकारात्मक रहेको भुसालको ब्रिफिङ छ । भुसालले एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) र चुनाव चिह्न तारा राख्न उपयुक्त हुने प्रस्ताव राखेका छन् । नेकपा समाजवादी कार्कीको नाममा छ भने तारा चुनाव चिह्न काफ्लेको पार्टी जनसमाजवादीको नाममा छ । यी दुवै पार्टी एकताका लागि तयार भएको भुसालले बताए । यद्यपि, माओवादीसहितका दलहरूसँगको छलफलपछि नाम र चुनाव चिह्नले अन्तिम रूप लिने उनले जनाएका छन् । भुसाल नेतृत्वको कार्यदलमा अर्का वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य छन् ।

सुझावित समाचार