नेपाल र भारतबिच इनरुवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्न संयुक्त उपक्रम (जे.भी.) तथा सेयरहोल्डर सम्झौतापत्र (Joint Venture and Shareholders' Agreement) मा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरको उपस्थितमा बुधबार नयाँदिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर समारोहमा भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्मा, भारतका विद्युतसचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो ।
सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट उपकार्यकारी निर्देशक सुभाषकुमार मिश्र र पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्चालन अधिकृत सञ्जयकुमार गुप्ताले हस्ताक्षर गरेका हुन् । संयुक्त लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै प्राधिकरण र पावर ग्रिडको लगानीमा दुवै प्रसारणलाइन निर्माणका लागि कम्पनी स्थापना गर्न बाटो खुलेको छ ।
कार्यक्रममा मन्त्री घिसिङले थप दुईवटा क्रस बोर्डर प्रसारणलाइन निर्माण अगाडि बढ्नु द्विपक्षीय एवं क्षेत्रीय विद्युत् व्यापारका लागि अर्को महत्त्वपूर्ण कोसेढुंगा भएको उल्लेख गरे । उनले अन्तरदेशीय प्रसारणलाइनको निर्माणबाट दुई देशबिच तथा क्षेत्रीयस्तरमा समेत नेपालमा उत्पादित विद्युत् निर्यात गर्ने आधार तयार भई अन्तर्राष्ट्रिय ऊर्जा बजारसम्म नेपालको पहुँच पुर्याई नेपालका जलविद्युतमा स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन थप सहज हुने बताए ।
भारतीय विद्युतमन्त्री खट्टरले थप दुईवटा क्रस बोर्डर प्रसारणलाइनको निर्माण सम्पन्न भएपछि नेपाल–भारतबिचको विद्युत् विनिमयलाई सारभूत रूपमा थप सुदृढ हुनुका साथै क्षेत्रीय ऊर्जा सुरक्षामा सुधार, सुदृढ ग्रिड बन्ने हुँदा यसले दुवै देशको आर्थिक वृद्धिमा योगदार पुर्याउने उल्लेख गरे ।
मन्त्रिपरिषद्को ३० असोजको बैठकले प्रसारणलाइन निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा नेपाल तथा भारत दुवै भूमिमा दुईवटा संयुक्त कम्पनी स्थापना गर्न र उक्त कम्पनीहरूमा स्वपुँजी (इक्विटी) लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो ।
कार्यक्रममा मन्त्री घिसिङले दुईवटा थप अन्तरदेशीय प्रसारणलाइनको निर्माणबाट दुई देशबिच तथा क्षेत्रीयस्तरमा समेत नेपालमा उत्पादित विद्युत् निर्यात गर्ने आधार तयार भई अन्तर्राष्ट्रिय ऊर्जा बजारसम्म नेपालको पहुँच पुर्याई नेपालका जलविद्युतमा स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन थप सहज हुने बताए ।
दुईवटा अन्तरदेशीय प्रसारणलाइनको भारतीय भूभागमा पर्ने खण्ड निर्माणका लागि भारतमा स्थापना गरिने संयुक्त कम्पनीमा प्राधिकरणको ४९ प्रतिशत र पावर ग्रिडको ५१ प्रतिशत सेयर हिस्सा रहनेछ । त्यस्तै नेपाली भूभागमा पर्ने खण्ड नेपालका लागि नेपालमा संस्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत सेयर हिस्सा रहनेछ ।
दुई प्रसारणलाइनको निर्माणमा ८० प्रतिशत ऋण र २० प्रतिशत सेयर पुँजी रहने गरी वित्तीय व्यवस्थापन गरिनेछ । इनरुवा–पूर्णिया प्रसारणलाइनको करिब २६ किलोमिटर खण्ड नेपाली र १०९ किलोमिटर खण्ड भारतीय भूभागमा पर्नेछ । लम्की–बरेली प्रसारणलाइनको करिब ३३ किलोमिटर खण्ड नेपाली र १८५ किलोमिटर खण्ड भारतीय भूभागमा निर्माण हुनेछ ।
नेपाल–भारत संयुक्त प्राविधिक टोलीले सन् २०१९ मा तयार पारेको अध्ययन प्रतिवेदनअनुसार इनरुवा–पूर्णिया प्रसारणलाइनको प्रारम्भिक लागत नेपाली र भारतीय खण्डको क्रमशः दुई अर्ब ६५ लाख र चार अर्ब १३ करोड भारतीय रुपैयाँ (भारु) लाग्ने अनुमान गरिएको छ । त्यस्तै, लम्की–बरेली प्रसारणलाइनको नेपालमा प्रारम्भिक लागत अनुमान नेपाली र भारतीय खण्डको क्रमशः दुई अर्ब ५७ करोड र ६ अर्ब १४ करोड भारु रहेको छ । प्राधिकरणले आफ्नै स्रोतबाट नेपाल र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा एक अर्ब र दुई अर्बबराबरको इक्विटी लगानी गर्नेछ ।
नेपाल र भारतबिचको विद्युत् व्यापार, अन्तरदेशीय प्रसारणलाइन संयोजन एवं सञ्चालन संयोजनसम्बन्धी सम्झौताको प्रावधनबमोजिम दुई देशका ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ फेब्रुअरी २०२५ मा भारतको नयाँदिल्लीमा सम्पन्न बैठकले प्रसारणलाइन निर्माण तथा सञ्चालन र लगानी मोडालिटीमा सहमति गरेको थियो । त्यसपछि प्राधिकरण र पावर ग्रिडबिच विभिन्न चरणमा भएका छलफलपछि २२ अप्रिल २०२५ मा प्रसारणलाइन निर्माणका लागि संयुक्त कम्पनी संस्थापना गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । दुवै लाइनको निर्माण सन् २०३० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
नेपाल र भारतबिच व्यापारका लागि हाल ४०० केभीको ढल्केबर–मुजफ्फपुर पहिलो क्रस बोर्डर प्रसारणलाइन सञ्चालनमा छ । बुटवल–गोखरपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माणाधीन छ । नेपालको चमेलियादेखि भारतको उत्तराखण्डस्थित जैलिजिबीसम्म २२० केभी प्रसारणलाइन निर्माण गर्न दुई देशबिच सहमति जुटिसकेको छ ।
त्यस्तै, भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यसँग जोडिएका १३२, ३३ र ११ केभीका प्रसारणलाइन पनि रहेकाछन् । प्राधिकरणले हाल ४०० र १३२ केभी प्रसारणलाइन संरचना प्रयोग गरी भारत एवं बंगलादेशतर्फ दैनिक रूपमा एक हजार मेगावाट विद्युत् निर्यात गरिरहेको छ ।