मंसिर पहिलो सातादेखि भैरहवामा लुम्बिनी महोत्सव हुँदै

भियतनामी महिलाले जलपरी बनेर प्रदर्शन गर्ने

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

उद्योग व्यापार संगठन रुपन्देहीको आयोजना भैरहवामा ३ मंसिरदेखि सातौँ लुम्बिनी महोत्सव–०८२ सञ्चालन हुने भएको छ।

‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजारको प्रवर्द्धन गरौँ, स्वदेशी वस्तुको प्रयोग गरौँ स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ भन्ने नाराका साथ ३ देखि २१ मंसिरसम्म भैरहवामा महोत्सव हुन लागेको संगठनका अध्यक्ष सचिन रोक्काले जानकारी दिए।

महोत्सवले विशेष गरी कृषि, पर्यटन, उद्योग र व्यापार प्रवर्द्धन गर्ने अध्यक्ष रोक्काको भनाइ छ। महोत्सवलाई आकर्षक बनाउन भियतनामबाट आएका कलाकारले जलपरीका रूपमा प्रर्दशन गर्नेछन्। साथमा फिस टनेल अवलोकन दर्शकका लागि अर्को आकर्षण बन्ने अध्यक्ष रोक्काको विश्वास छ। भियतनामबाट आएका महिलाले जलपरीको पहिरन प्रयोग गरी पानीमा रहेर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने व्यावस्था मिलाएका छाैँ,’ उनले भने।  

महोत्सवमा करिब २२० वटा स्टल रहनेछन्, जहाँ स्थानीय उत्पादन, घरेलु उद्योगका वस्तु, राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामग्री प्रदर्शन र बिक्रीका लागि राखिनेछन्। साथै, सांस्कृतिक कार्यक्रम, स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति, बालबालिकाका रमाइलो खेलकुद, खाद्य स्टल र लाइभ कन्सर्टसमेत रहनेछ।

लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको विकास गर्ने, उपभोक्तामुखी क्रियाकलापमा वृद्धि गराई स्थानीय वस्तुको बजार व्यवस्थापनमा सहयोग पुर्याउने, कृषिलाई वैज्ञानिक तथा व्यावसायीकरण गर्न सहयोग पुर्याउने, आधुनिक उपकरण नवीन प्रविधि र औद्योगिक उपकरणका बारेमा उद्यमी तथा व्यवसायीलाई जानकारी गराउने उद्देश्य महोत्सवको छ। 

महोत्सवमा फिस टनेल, जलपरी, आइफिल टावरलगायत बाल उद्यानको मनोरञ्जन र विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति मुख्य आकर्षण रहेको संगठनकी महासचिव लक्ष्मी अधिकारीले बताइन्।

सिद्धार्थनगर नगरपालिका–८, अञ्चलपुरमा सञ्चालन हुने उक्त महोत्सवका सञ्चालनका लागि एक करोड ३२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छन्।
 

सुझावित समाचार