कर्णाली याक्स स्पोर्टस् प्रालिले एसियन पेन्ट्सलाई सहप्रायोजकको रूपमा भित्र्याएको छ। मंगलबार काठमाडौंको याक एण्ड यती होटेलमा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्सकी मार्केटिङ सहायक प्रबन्धक आस्था सत्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
यो सम्झौता दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि हो। सम्झौता कार्यक्रममा एसियन पेन्ट्सको तर्फबाट मार्केटिङ सहायक प्रबन्धक अंकिता श्रेष्ठको पनि उपस्थिति थियो।
निर्देशक घिमिरेले पेन्ट्ससँग जोडिँदा खुसी लागेको बताउँदै दोस्रो संस्करणका लागि तयार रहेको बताए। एसियन पेन्ट्स नेपालमा अन्तर्राष्ट्रिय पेन्टहरू उत्पादन गर्ने एक प्रमुख उत्पादक हो।
यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौंको होटेल याक एण्ड यती, नेबिको र प्लम्बर पाइप्ससँग सम्झौता गरेको छ।