सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीका ६ ठाउँबाट किसानको धान खरिद गर्ने भएको छ। भोलि बुधबारबाट धान खरिद सुरु गरिने कम्पनीको प्रादेशिक कार्यालय धनगढीले जनाएको छ।
खाद्यले धनगढी उपमहानगरको मोहनपुर, टीकापुर नगरपालिकाको टीकापुर बजार, टीकापुरकै सत्ती, गौरीगंगा नगरपालिकाको मसुरिया, जोशीपुर गाउँपालिकाको जोशीपुर र भजनी नगरपालिकाको भजनी बजारमा डिपो राखेर धान खरिद गर्न लागेको हो। केन्द्रले यहाँ ३५ हजार क्विन्टल धान खरिदको प्रारम्भिक कोटा तोकेर पठाएको कम्पनीको प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले जानकारी दिए।
केन्द्रले कोटा निर्धारणसहित धान खरिदको परिपत्र गरेपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको खरिद समितिको बैठक मंगलबार बसेर बुधबारबाट धान किन्न सुरु गर्ने निर्णय गरेको हो। खाद्यले सरकारले तोकेको समर्थन मूल्यमा किसानबाट धान खरिद गर्नेछ।
सरकारले यस वर्ष मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार ६२८.३३ रुपैयाँ तोकेको छ। तर, खाद्यले समयमै खरिद सुरु नगर्दा किसान व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्नुपरेको छ। व्यापारीले किसानबाट प्रतिक्विन्टल दुई हजार ५५० रुपैयाँसम्ममा धान खरिद गरिरहेका छन्। खाद्यले सुरु गरेसँगै व्यापारीले पनि मूल्य बढाएर धान गर्छन्।
किसान यकिन गर्न धान बिक्री गर्न आउनेहरूको नाम, ठेगानालगायत विवरण पनि संकलन गर्ने निर्णय खरिद समितिले गरेको समितिका सदस्यसचिवसमेत रहेका प्रादेशिक प्रमुख थापाले जानकारी दिए। खाद्यले गत वर्ष कैलालीबाट ५५ हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरे पनि बिक्रीका लागि किसान नआउँदा साढे ३४ हजार क्विन्टल मात्र खरिद गर्न सकेको थियो।
कैलाली धान उत्पादनको उर्वर जिल्ला हो। कृषि ज्ञान केन्द्र कैलालीका अनुसार यहाँ करिब ७२ हजार हेक्टर क्षेत्रमा बर्खे धानखेती गरिन्छ भने धानको उत्पादकत्व प्रतिहेक्टर ३.४ मेट्रिकटन छ।