- घटनामा संलग्नविरुद्धको किटानी जाहेरी नै नलिएको भन्दै महासंघले गरायो सरकारको ध्यानाकर्षण
निजी क्षेत्रले सरकारसँग पुन: सुरक्षा प्रत्याभूति मागेको छ । गत २३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा निजी सम्पत्ति तथा उद्योग–व्यवसायमाथि आक्रमण गर्नेलाई कारबाही गरी सुरक्षाको प्रत्याभूति दिलाउन निजी क्षेत्रले पुन: माग गरेको हो ।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड एवं आगजनीमा संलग्नलाई कारबाही गर्न माग गरेको हो । यसअघि महासंघसहित नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षा प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका थिए ।
सरकारले घटनामा संलग्नहरूको जाहेरी नै नलिएको गुनासो आएपछि सार्वजनिक विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । ‘जेन–जी आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग–व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
महासंघले ती घटनामा संलग्नहरूको जाहेरी नै नलिएको गुनासो सदस्यहरूबाट आइरहेको र यसले समाजमा दण्डहीनता मौलाउँदै जाने, व्यवसायी हतोत्साही हुने दाबी गरेको छ । ‘यी घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्ने मात्र नभई आर्थिक क्रियाकलापमै नकारात्मक असर पुर्याएको छ, यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ,’ महासंघले भनेको छ, ‘घटनाका दोषीहरूमाथि जाहेरी दर्ता नलिने र कारबाहीमा उदासीनता देखिएको सदस्य व्यवसायीबाट जानकारी प्राप्त भइरहेको छ, यसले दण्डहीनता बढ्न गई लगानीको वातावरणलाई गम्भीर चुनौती दिने देखिन्छ । रोजगारी सिर्जना, राजस्व संकलन, लगानी प्रवद्र्धन र समग्र अर्थतन्त्रमा नै दीर्घकालीन असर पार्नेछ ।’
सुरक्षा समितिमा प्रतिनिधित्व माग
यस्तै, महासंघले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिको सहभागिताका लागि पनि आग्रह गरेको छ । यसबारे औपचारिक आग्रह गर्दैै महासंघले गृह मन्त्रालयमा पत्राचारसमेत गरिसकेको जनाएको छ । ‘सबै तहमा सरकार–निजी क्षेत्र समन्वय र मुख्य गरी जिल्लास्तरीय सुरक्षा योजना, जोखिम मूल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा पनि व्यावसायिक समुदाय प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न महासंघले समितिमा आफ्नो र सदस्य संघहरूको सहभागिताका लागि आग्रह गरेको हो,’ विज्ञप्तिमा उल्लेख छ ।
आइतबार महासंघका पदाधिकारी, स्थायी समिति तथा समिति–फोरमका सभापतिहरू सम्मिलित छलफलमा महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले शान्ति सुरक्षा नभई स्थायित्व नहुने, स्थायित्व नभई उद्यम–व्यवसाय सञ्चालन हुन नसक्ने र उद्यम–व्यवसाय सञ्चालन नहुँदा अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न हुने हुँदा व्यवसायीको शान्ति सुरक्षा अपरिहार्य सर्त भएको बताए । उनले दण्डहीनता अन्त्य गरी भविष्यमा पनि उद्यम–व्यवसायीमाथि आक्रमण नहुने सुनिश्चितता गरिनुपर्ने बताए ।