म्यानचेस्टर सिटीको अपराजित यात्रा रोकियो

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण
  • गत अगस्टदेखि नौ खेलमा अपराजित म्यानचेस्टर सिटी प्रिमियर लिगमा एस्टन भिल्लासँग १–० ले स्तब्ध 

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको अपराजित यात्रा रोकिएको छ । लगातार नौ खेलसम्म अपराजित रहेको सिटी आइतबार राति एस्टन भिल्लाबाट १–० ले स्तब्ध भयो । सिटी अगस्टको अन्त्यदेखि अपराजित थियो । 

प्रिमियर लिगमा उच्च प्रदर्शन गरिरहेको एस्टन भिल्लाले लगातार चौथो जित निकाल्यो । घरेलु मैदान भिल्ला पार्कमा महत्वपूर्ण जित दिलाउने क्रममा सिटीविरुद्ध डिफेन्डर म्याटी क्यासले १९औँ मिनेटमा एक मात्र निर्णायक गोल गरेका थिए । सिटीमा मुख्य स्ट्राइकर एर्लिन हाल्यान्ड लगातार दोस्रो खेलमा गोलविहीन भए । 

यो जितसँगै एस्टन भिल्लाले अंक तालिकाको नवौँ स्थानमा उक्लेको छ । एस्टन भिल्लाले नौ खेलमा चार जित, तीन ड्र र दुई हारको सामना गरी १५ अंक जोडेको छ । नराम्रो हारको सामना गरेको सिटी १६ अंकका साथ पाँचौँ स्थानमा सीमित भयो । सिटीले नौ खेलमा पाँच जित, पाँचबराबर तथा एक हार खेलेको छ । शीर्ष स्थानमा आर्सनल रहेको छ । आर्सनलले नौ खेलमा सात जित निकालेको छ । समान एक हार र ड्र खेलेको आर्सनलले २२ अंक जोडेको छ । एस्टन भिल्लाका प्रशिक्षक युनाई एमरीले धेरैपछि क्लबलाई प्रिमियर लिगमा उत्कृष्ट सुरुवात दिलाएका छन् ।

भिल्ला पार्कमा सिटीका हालान्डले केही राम्रो अवसर पाए पनि गोल गर्न सकेनन् । उनको एक गोल अफसाइड भएको थियो । सिटी शीर्ष स्थानमा रहेको आर्सनलभन्दा ६ अंकले पछि परेको छ । आर्सनलले क्रिस्टल प्यालेसलाई १–० ले हराउँदै शीर्ष स्थान बलियो बनाएको हो । 

सिटीविरुद्ध उत्कृष्ट प्रदर्शन
घरेलु मैदानमा एस्टन भिल्लाले सिटीविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्यो । बल पोसेसनमा कमजोर भए पनि एस्टन भिल्लाले काउन्टर र आक्रामक खेल खेल्दै सिटीमाथि दबाब बनाएको थियो । एस्टन भिल्लाका प्रशिक्षक एभेरीले इंग्लिस प्रिमियर लिगमा क्लबलाई लगातार ६ खेलमा जित दिलाउने योजना छ । प्रिमियर लिगमा पछिल्ला सात खेलमा एस्टन भिल्लाले उत्कृष्ट प्रदर्शन गरेको थियो । यतिवेला एस्टन भिल्ला सन् १९३६–३७ पछि उत्कृष्ट फर्ममा छ । एस्टन भिल्लाका प्रशिक्षक एभेरीले सिटीविरुद्धको खेल महत्वपूर्ण रहेको बताएका छन् । ‘हामीले उत्कृष्ट सुरुवात गर्नुपर्ने थियो । जुन घरेलु मैदानमा सम्भव भयो,’ एभेरीले भने, ‘दबाबरहित खेल भयो । खेलमा कुनै पनि समय हामीले दबाब सामना गरेनौँ ।’ एस्टोन भिल्लाले यसअघि दुईपटक लगातार चार खेलमा जित निकालेको थियो । सन् १९६० र १९७५ मा चार खेलमा अपराजित रहेको थियो ।

सिटीले गुमाएको मौका 
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले स्ट्राइकर हाल्यान्डले धेरै गोल अवसर खेर फालेको प्रतिक्रिया दिएका छन् । शीर्ष स्थानमा रहेको आर्सनलसँग अंक दूरी घटनाउने अवसरसमेत खेर फालेको उनको भनाइ छ । ‘हामीले शीर्ष स्थानको अंक दूरी कम पार्ने मौका गुमाएका छौँ,’ सिटीका प्रशिक्षक पेपले भने, ‘एस्टन भिल्लाविरुद्ध गोल अवसर सिर्जना नभएको होइन, तर हाल्यान्डले केही सहज मौकामा गोल गर्न नसक्दा हारको सामना हामीले गर्यौँ ।’ नर्वेका स्ट्राइकर हाल्यान्ड सिटीमा आबद्ध भएयता दोस्रोपटक लगातार दुई खेलमा गोल गर्न चुकेका हुन् । उनको एक गोल अफसाइड भएको थियो । 

सुझावित समाचार