स्थानीयले बनाए समाजवादी गाउँ

सबै आम्दानी र खर्च सामूहिक हुन्छ, सबैको चुलोमा उस्तै खान्की पाक्छ

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

२१ सय मिटर उचाइमा रहेको एउटा गाउँ, जहाँबाट जुगल हिमशृंखला आमनेसामने देखिन्छ । वरिपरि जंगल र जडीबुटी अनि छङछङ झर्ने कञ्चन झरना । एउटै जातिको बसोबास । जुगल गाउँपालिका– ६ हगाम गाउँमा ८० घर तामाङ परिवार छ । तामाङ जातिमा पनि सबै परिवार पाख्रिन थरका मात्रै छन् ।

बस चढेर काठमाडौंबाट सात घण्टामा पुगिन्छ हगाम । काठमाडौंबाट चार घण्टामा जलवीरे पुगेपछि ग्रामीण बस्ती हेर्दै पैदल हिँडेर अर्काे चार घण्टामा हगाम पुगिन्छ । यहाँ पुगेपछि उत्तरतिर हिमाल र दक्षिणतिर राजधानी काठमाडौं देख्न पाइन्छ । 

प्राकृतिक सौन्दर्यले सजिएको यस गाउँलाई केही वर्षयता समाजवादी बनाएपछि सुनमा सुगन्ध थपिएको छ । साँच्चै यहाँको जीवन, सुख र दु:ख सामूहिक छन् । गाउँले आफ्नो बस्तीलाई हगाम ह्युलसेङ्डे भन्छन् । 

‘गर्न सक्छौँ, गरे हुन्छ, गरिहेरौँ’ भन्ने नारा यो गाउँको मूल सिद्धान्त हो । हगाम समाजवादी गाउँ कार्यकारिणी समितिका अध्यक्ष मिलन तामाङ पाख्रिन गाउँको विकास र समृद्धि गर्ने योजनाबारे सधैँँ समुदायमा भेटिन्छन् । पाख्रिन पर्यटन व्यवसायीसमेत हुन् । हगाम गाउँलाई समाजवादी बस्ती बनाउन योजना लिएर गाउँपालिका पुगेका मिलनलाई जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले प्राथमकितामा राखेर साथ दिए । त्यसपछि पालिकाकै लगानीमा पूर्वाधार निर्माण सुरु भयो । 

दुई वर्षयता हगाम समाजवादी गाउँमा रुपान्तरण भएको छ । यहाँको सबै आम्दानी र खर्च सामूहिक हुन्छ । सबैको चुलोमा उस्तै खान्की पाक्छ । काममा, अवसरमा र जीवनका सबै आयाममा सामूहिक र समानताको अभ्यास गरिन्छ । 

सिन्धुपाल्चोकको पहिलो सामुदायिक गाउँ बनेको हगाममा मुख्यत: पर्यटन, जडीबुटी उत्पादन र होमस्टेलाई आर्थिक उपार्जनको माध्यम बनाइएको छ । सबै उत्पादन र वितरण सामुदायिक दायित्वमा आधारित छन् । पर्यटनतर्फ तामाङ संस्कृतिमा आधारित पाख्रिन होमस्टे सञ्चालनमा छ । मञ्जुश्री पार्क तथा अध्ययन केन्द्र र सय वर्ष पुरानो गुम्बा पनि यहाँका महŒवपूर्ण स्थल हुन् । शिक्षाका लागि गाउँमै विद्यालय छ । स्वास्थ्यका लागि जेरीको रोड सामुदायिक हस्पिटल छ, जहाँ प्राकृतिक पद्धतिबाट उपचार गरिन्छ । 

सामुदायिक उत्पादनतर्फ धसिंग्रेको तेल पेलिन्छ । यो तेलको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिलिटर आठ हजार रुपैयाँ पर्छ । चिराइतो, कुट्की र चियाखेती सँगसँगै छन् । यसबाट मनग्गे आम्दानी हुन्छ । हगाम समाजवादी गाउँको विकास र समृद्धि यात्रा शिशु अवस्थामै रहेको बताउँदै कार्यकारिणी समितिका अध्यक्ष पाख्रिनले भने, ‘समाजवादी गाउँ निर्माणका लागि पाख्रिन समाजले पाँच आचारसंहिता तय गरेको छ । त्यो हो, कुनै पनि काम सजिलोबाट, नजिकबाट, सानो स्तरबाट सुरु गर्ने । जुन काम आजै र आफँैबाट सुरु गर्ने भन्ने हो ।’ परम्परागत रूपमा रहेको धान, मकै, कोदो र आलु खेतीलाई पनि सामूहिकतामै ढाल्ने प्रयास जारी रहेको उनले बताए । समूहमा मनमुटाव नआओस् भनेर वेलावेलामा बैठक, प्रशिक्षण, तालिम र मनोरञ्जनात्मक कार्यक्रम गर्ने गरेको उनले सुनाए । 

तीन सय २० जनसंख्या रहेको हगामका ६० युवा विदेशमा छन् । ती युवाले विदेशमा कमाएको रकमको निश्चित प्रतिशत सामुदायिक खेती र योजनामा प्रयोग हुने गरेको छ । दश वर्षभित्र हगाम समाजवादी गाउँलाई विकास र समृद्धिको नयाँ मोडलका रूपमा देखाउने पाख्रिन समुदायको धोको छ । जुन काममा उनीहरू निर्धक्कसँग लागेका छन् । 

हगाम समाजवादी गाउँलाई मोडल बनाएर पहिला पालिकाभर विस्तार गर्ने र समयक्रममा अन्यत्र विस्तार होस् भन्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष स्याङ्बो बताउँछन् । सोही योजनाअनुसार पालिकाले हगाम समाजवादी गाउँलाई वार्षिक पाँच लाख छुट्टै लगानी गरिरहेको छ । समाजवादी हगाम गाउँ निर्माण गर्न लमजुङको घलेगाउँबाट पनि अनुभव लिएको उनले बताए । 
 

सुझावित समाचार