छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइयो

सोमबार, ११ कार्तिक, २०८२
डिजिटल संस्करण

छठ पर्वको मुख्य दिन आज सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ। 

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्वअन्तर्गत सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइएको हो। 

छठ पर्वका अवसरमा तलाउ, पोखरीसहित नदी किनारबाट भक्तजनले अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएका छन् । छठका व्रतालु कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन्। 

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ।

लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्परा सुरु भएको किम्वदन्ती रहेको छ।

छठ पर्वमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ। 

षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।

सुझावित समाचार