नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय एकतासहित सामाजिक सदभाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्वको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।
छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै कार्यवाहक सभापति खड्काले सामूहिक भावना, अनुशासन, पारिवारिक एकता तथा सामाजिक सदभाव प्रवर्द्धन गर्न यस पर्वले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् ।
‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतायुक्त मुलुक हो, यहाँ मनाइने विविध चाडपर्वले हामी सबैलाई आपसी सदभाव, सहिष्णुता र राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरिरहेका छन् । हाम्रा यस्ता पर्वले सामाजिक सम्बन्धलाई सुदृढ पार्ने मात्र होइन, राष्ट्रिय पहिचान र समृद्ध समाज निर्माणमा योगदान पुर्याउने माध्यमका रूपमा समेत काम गरिरहेका छन्,’ शुभकामना सन्देशमा उल्लेख छ ।