यसै साता रुसमा प्रतिबन्ध लगाएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेमलिनसँगको तनाव अझै बढ्न सक्ने संकेत गरेका छन् । बढ्दो दबाबबिच दुई देशका उच्च प्रतिनिधिबिच केही साताअघि नयाँ चरणको वार्ता सुरु भएको थियो । वार्ताअघि वासिङटनले युक्रेनलाई शक्तिशाली टोमाहक मिसाइल आपूर्ति गर्ने विचार मिडियामा चुहायो । लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पबिच फोन वार्ता भयो । त्यसको केही समयपछि दुवै पक्षले बुडापेस्टमा अमेरिका र रुसबिच शिखर सम्मेलन हुने घोषणा गरे । तर, पछि एकाएक टोमाहक मिसाइल युक्रेनलाई दिने विषय वार्ता सूचीबाट हटाइयो ।
गत अगस्टमा यस्तै शृंखला देखिएको थियो । ट्रम्पले नयाँ प्रतिबन्धको धम्की दिइरहेका वेला पुटिनले अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकफसँग मस्कोमा भेटे । भेटमा अलास्कामा शिखर सम्मेलनको योजना बन्यो । तर, ट्रम्पले दिएको प्रतिबन्धको धम्की कार्यान्वयनमा आएन । त्यपछि पुटिनले ट्रम्पसँग गर्ने फोनवार्ताको परिणामबारे मस्कोमा ठुलो जोडघटाउ हुन थाल्यो ।
‘ट्रम्पसँग एकप्रकारको रणनीतिक खेल खेलिरहेको जस्तो देखिने पुटिनसँग विपक्षीको प्रयासलाई कमजोर पार्ने र वार्तामार्फत एउटा नयाँ गति निर्माण गर्ने सीप छ,’ क्रेमलिननिकट रहेका विदेश नीति विश्लेषक फ्योदोर लुक्यानोभले केही दिनअघि लोकप्रिय पत्रिका ‘आर्गुमेन्टी आई फक्टी’मा लेखेका थिए, ‘हामी देख्न सक्छौँ कि पुटिनका ‘लक्ष्य’ले उनले चाहेजसरी जवाफ दिइरहेका छन्, जसका कारण हामी एकप्रकारको चक्रमा फसेका छौँ ।’ तर, अहिले आएर त्यो पुरानो चक्र अन्त्य भएजस्तो देखिन्छ ।
अलास्का बैठकमा पुटिनले ट्रम्पलाई इतिहासको पाठ सिकाएको बताइन्छ । त्यसबाट निराश भएका ट्रम्पले यसै साता विदेशमन्त्री मार्को रुबियो र रुसी समकक्षी सर्गेई लाभरोभबिच सम्पन्न वार्तापछि भने धैर्यता गुमाए । वार्तामा रुसले युक्रेन सम्बन्धमा आफ्नो कुनै पनि अडानबाट पछि नहट्ने स्पष्ट पारेको थियो । लगत्तै बुधबार, ट्रम्पले बुडापेस्ट शिखर सम्मेलन स्थगित भएको घोषणा गर्दै रुसी राष्ट्रपतिप्रतिको आफ्नो निराशा व्यक्त गरे ।
मस्कोसँग ट्रम्पको अहिलेको मतभेदको मूलकारण तत्काल युद्धविरामको विषयमा केन्द्रित छ । ट्रम्प रुसले तत्काल युद्धविराम गरोस् र त्यसले शान्तिवार्ताको आधारका रूपमा काम गर्ने धारणा राख्छन् । पुटिनले भने द्वन्द्वको ‘मूल कारण’लाई सम्बोधन गर्ने विस्तृत सम्झौता नभएसम्म लडाइँ नरोक्ने बताएका छन् ।
‘हरेकपटक भ्लादिमिर पुटिनसँगको भेटमा राम्रो कुराकानी भए पनि त्यसले खासै सुखद प्रतिफल दिँदैन,’ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारलाई भने । त्यसलगत्तै ट्रम्प प्रशासनले रुसका दुई ठुला तेल उत्पादक र उनीहरूका लगभग तीन दर्जन सहायक कम्पनीमाथि अचानक प्रतिबन्धको घोषणा गर्यो । यस प्रतिबन्धले मस्कोको ऊर्जा राजस्वको मुख्य स्रोतलाई गम्भीर रूपमा कमजोर पार्न सक्छ । सिएनएनका अनुसार, प्रतिबन्धको तीव्रताले मस्कोलाई अचम्मित पारेको देखियो । दुई स्रोतहरूलाई उद्धृत गर्दै सिएनएनले लेखेअनुसार यस प्रतिबन्धले राष्ट्रपति ट्रम्पकै केही निकटसल्लाहकारसमेत आश्चर्यचकितमा परे ।
‘रुसी तेलमाथि प्रतिबन्ध लगाउने विचारमाथि केही समयदेखि बहस भइरहेको थियो । यसका बाबजुद पछिल्लो प्रतिबन्ध मस्कोका लागि अप्रिय समाचारको रूपमा आयो,’ एक पूर्व उच्चपदस्थ रुसी अधिकारीले नाम नछाप्ने सर्तमा भने । प्रतिबन्धले रुसको अर्थतन्त्रलाई घाटा पुर्याउन सक्नेतर्फ पुटिनले समेत स्वीकार गर्दै बिहीबार पत्रकारलाई ‘केही घाटा अपेक्षित भएको’ बताए ।
तर, पहिलेका पश्चिमी प्रतिबन्धको शृंखलाजस्तै नयाँ कदमले क्रेमलिनलाई युद्ध त्याग्न दबाब दिनेमा भने विश्लेषकहरूले आशंका जनाएका छन् । रुसी राष्ट्रपतिले युक्रेन युद्धलाई आफ्नो विरासत परिभाषित गर्ने घटनाको रुपमा लिने गरेका छन् । उनले लामो समयदेखि रुसी जनताले आर्थिक कठिनाइ सहे पनि युद्धलाई निरन्तरता दिने संकेत गरेका छन् । ‘आर्थिक कठिनाइले उनलाई युद्ध अन्त्य गर्न बाध्य बनाउँदैन । युद्धका लागि देशवासीले केही न केही त्याग गर्नुपर्ने उनको धारणा छ । यस्तोमा दबाबले नै पुटिनको मन बदल्छ भनेर सोच्नु व्यर्थ छ,’ पूर्वरुसी अधिकारीले भने ।
मस्कोसँग ट्रम्पको हालको मतभेदको मूल कारण तत्काल युद्धविरामको विषयमा छ । ट्रम्प रुसले तत्काल युद्धविराम गरोस् र त्यसले शान्तिवार्ताको आधारका रूपमा काम गर्ने धारणा राख्छन् । अमेरिकी राष्ट्रपतिले दुवै पक्षलाई हालको युद्धमोर्चामै रोकिन आग्रह गरेका छन् । यो प्रस्ताव युक्रेन र यसका युरोपेली सहयोगीले समर्थन गरेका छन् । तथापि, पुटिनले भने द्वन्द्वको ‘मूल कारण’लाई सम्बोधन गर्ने विस्तृत सम्झौता नभएसम्म लडाइँ नरोक्ने बताएका छन् । तर, मस्कोले भनेका युद्धको ‘मूल कारण’ सम्बोधन गर्न युक्रेनको पूर्वी दोनबास क्षेत्र पूर्ण रूपमा रुसलाई दिनुपर्ने, युक्रेनको सशस्त्र सेनामा घटाउनुपर्ने र यसको घरेलु मामिलामा रुसी चासो देखाउनुपर्ने कुरा समावेश छ ।
‘मस्कोले अहिले नै युद्ध रोक्यो भने ट्रम्पमाथिको आफ्नो मुख्य प्रभाव त्याग्नुपर्ने हुन्छ,’ कार्नेगी रसिया युरेसिया सेन्टरका निर्देशक अलेक्ज्यान्डर गाबुएभले भने, ‘क्रेमलिनलाई लाग्छ कि उनीहरूले युद्ध जितिरहेका छन् । र, युक्रेनले बिस्तारै ठुलो हार भोगिरहेको छ । पुटिनलाई साँच्चै विश्वास छ कि युक्रेन अर्को वर्षभित्रै धराशायी हुन सक्छ । यस्तोमा आफ्ना लक्ष्यहरू प्राप्त नगरी अहिले युद्धविराम गरेपछि युद्ध पुनः सुरु गर्न अझ गाह्रो हुनेछ ।’
गाबुएभका अनुसार निरन्तरको रुसी बमबारी र नयाँ भर्तीमा कठिनाइ भोगिरहेको युक्रेनले आगामी ठन्डी मौसम सामना गर्नसमेत कठिन हुनेछ । पुटिनले पटक–पटक समय आफ्नो पक्षमा रहेको बताउँदै आएका छन् । यस महिनाको सुरुमा सोचीको ‘भल्डाइ छलफल क्लब’मा बोल्ने क्रममा पुटिनले आत्मविश्वासका साथ युक्रेनी सेना कमजोर भएको बताएका थिए । उनले विनाप्रमाण किभले एक महिनामै ११ हजार सेना गुमाएको र नयाँ भर्ती गर्न संघर्ष गरिरहेको दाबी गरे ।
अहिलेका लागि क्रेमलिन वासिङटनसँगको सम्बन्धमा हल्का गिरावट सहन इच्छुक देखिएको स्वतन्त्र रुसी राजनीतिक विश्लेषक तातियाना स्टानोभायाले बताइन् । तथापि, ट्रम्पको अस्थिर प्रकृतिका कारण उनको मन बदलिन सक्ने सम्भावना रहेको उनको भनाइ छ । ‘युक्रेनको अवस्था बिग्रँदै जाँदा वासिङटनले अन्ततः द्वन्द्वको मूल कारणका बारेमा रुससँग छलफल गर्नुसमाधानको एक मात्र विकल्प हुने पुटिनलाई लाग्न सक्छ । यो अवस्था पाँच महिनापछि आउने उनको विश्वास छ,’ स्टानाभायाले भनिन् ।
द गार्जियनबाट