बंगलादेशमा चलिरहेको सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगिताको उपाधि होडबाट नेपाल बाहिरिएको छ । प्रतियोगिताको आइतबार अफगानिस्तानसँग सोझो ३–० को सेटमा पराजित भएसँगै नेपाल उपाधि होडबाट बाहिरिएको हो ।
ढाकास्थित इन्डोर हलमा अफगानिस्तानबाट नेपाल २५–१८, २५–१७ र २५–२१ को सेटमा पराजित भयो । प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । जितसँगै अफगानिस्तान चार खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।
समान खेलबाट ४ अंक रहेको नेपाल चौथो स्थानमा छ । यसअघि नेपाल तुर्कमेनिस्तानसँग ३–० को सोझो सेटमा र बंगलादेशसँग ३–२ ले पराजित भएको थियो । चौथो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले फाइनल खेल्ने सम्भावना कायम राखेको थियो । अफगानिस्तानसँगको हारसँगै नेपालको शीर्ष दुईमा रहने सम्भावना समाप्त भएको हो । प्रतियोगितामा शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।