समर्पण, सदभाव र समानताको पर्व छठ

भक्ति, भाव, एकता र सामाजिक सद्भावको पर्व छठ करुणा, त्याग र समर्पणको पर्व पनि हो

सोमबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

छठ पर्वको उपवासले भगवान्को समीपमा आफ्नो ‘वास’ हुने र आफूले मातारानीको आशीर्वाद पाउनेमा भक्तजनहरू विश्वस्त हुन्छन् । छठपूजामा धनी, गरिबदेखि असहाय, अशक्त, निर्धनलगायत सबै भक्तजन एक समान हुने र सबै एउटै जलाशय, नदी, पोखरीमा गई पूजा गर्ने गरेको देखिन्छ । खासमा यो समानताको पर्व हो । 

छठ पर्वको अवसरमा मधेशी समुदायले मात्र होइन प्रजननमा समस्या देखिएका पहाडमा बस्ने पहाडी समुदायका महिला र पुरुषहरूले पनि छठको व्रत बसी पूजा गरी सन्तान प्राप्त गरेको दृष्टान्त पनि जनकपुर, विराटनगर, इटहरी, राजविराजलगायतका घाटमा सुन्न पाइन्छ । हुन त यो पर्व हिन्दुहरूको मात्र होइन । महोत्तरी जिल्लाको बथनाहा गाउँमा केही मुस्लिम परिवारका महिलाले पनि धेरै वर्षदेखि छठ मनाउँदै आएका छन् । यो पर्व सामाजिक एकताको पर्व हो । यो पर्व भक्तिभाव, अनेकतामा एकता बढाउने सामाजिक सद्भावको पर्व हो । भावना, करुणा, भक्तिभाव, त्याग, समर्पणको पर्व हो । 

नियम र निष्ठा :  छठ पर्व प्राचीनकालदेखि नेपाल र भारतमा मनाइने वैदिक पर्वमध्ये एक अद्वितीय पर्व हो । चार दिनसम्म मनाइने यस पर्वमा सूर्य भगवान् र उनकी पत्नी उषाको पूजा गरिन्छ । उषालाई नै छठी मैया भनिन्छ । कठोर व्रत बसी भक्तहरूले अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्छन् । भनिन्छ, पानीको निकटताले भक्तहरूलाई परमात्मासँग जोड्छ र परोपकारी सूर्य भगवान्ले उनीहरूको परिवारको मनोकामना पूरा गरी सुख, समृद्धि प्राप्त हुने आशीर्वाद दिन्छन् । छठ पूजा नेपालका मधेशी समाजमा र उत्तर भारतमा समेत सबैभन्दा व्यापक रूपमा मनाइने चाडमध्ये एक महापर्व हो । सामान्यतया, दीपावली पर्वको ६ दिनपछि छठ पर्व मनाइन्छ । ‘छठ’ शब्दले अंक ‘छ’ लाई जनाउँछ । यद्यपि, प्राचीन प्राकृतमा, ‘छठ’ भनेको छैटौँ हो । यो चाड हिन्दु क्यालेन्डरको चैत्र र कार्तिक शुक्ल पक्षको छैटौँ तिथिमा वर्षमा दुईपटक मनाइन्छ । 

‘जितिया दसे दशमी, दशमी पाँचे कोजाग्रत, कोजाग्रत पन्ध्रहे शुकराती (दिवाली), शुकराती छवे छैठ । अर्थात्, जितिया पर्वको १० दिनपछि दसैँ, दसैँको पाँच दिनपछि कोजाग्रत पूर्णिमा, कोजाग्रतको १५ दिनपछि दीपावली अनि दीपावलीको ६ दिनपछि छठ । अर्को सूक्तिले भन्छ– सुख शुकराती दियाबाती तकरे छवे छैठ । अर्थात्, छठ र दीपावलीको बिचमा ६ दिनको अन्तर छ ।

सामान्यतया, छठ पूजा ‘नहाय खाय’ बाट सुरु हुन्छ भन्ने मान्यता छ । तर, यो आंशिक सत्य मात्र हो । खासमा पर्व ‘माछ–मरुवा बारनाई’ (प्याज, लसुन र मांसाहारी खानेकुरा छठसम्म नखाने संकल्प) लिएको दिनबाट छठ पूजा सुरु हुन्छ । अर्थात् ‘नहाय खाय’भन्दा एक दिनअघिदेखि । 

नहाय खायमा भक्तहरू र उनीहरूका परिवारका सदस्यहरूले गैरशाकाहारी खाना खान्छन् । लसुन, प्याजले बनेको खानेकुरा नखाने वाचा गर्छन् । यस दिन भक्तजनहरूले सूर्यदेवको पूजा–आराधना गरी नुहाएर भोजन गर्ने गर्छन् । भक्तजनले आफ्नै भान्सामा बनाइएका खानेकुरा खान्छन् । होटेल वा बजारबाट किनेका खानेकुरा उपभोग गर्नु अपवित्र मानिन्छ ।


छठ पर्वले जात, धर्म वा सामाजिक हैसियतका आधारमा कोही–कसैलाई भेदभाव गर्न नहुने सन्देश दिन्छ, प्रदूषणविरुद्ध एकजुट हुन प्रतिबद्ध गराउँछ र मौलिक खाद्यान्न तथा कृषि कर्ममा जोड दिन्छ
 

नहाय खायपछि ‘खरना’को उपवासलाई दोस्रो दिनका रूपमा लिइन्छ । भक्तजनहरू साँझ खरनाको समाप्तिसम्म व्रत बस्छन् । चामल, दुध र गुडले बनेको खिर भगवान्लाई चढाइन्छ र साँझ सूर्यास्तपछि परिवारका सदस्यमा बाँडिन्छ । खिर भने छुट्टै चुलोमा पकाइन्छ । 

छठ पर्वको विशेषता नै यही हो कि प्रसादहरू करेसाबारी, खेत, र किसानको कृषिकर्मबाट उत्पादन भएका सामानबाट बनाइएको हुन्छ । होटेलको परिकारलाई स्थान दिइन्न । धनी–गरिबदेखि निर्धनसम्मका लागि त्यही ठकुवा, भुसवा, केरा, उखु, नरिवल, मुला, अदुवा, सुथनी, भ्यान्टालागयत भगवान्लाई प्रसादका रूपमा अर्पण गरिन्छ । छठ पर्वमा प्रसाद प्रायः परम्परागत माटोको चुलामा पकाइन्छ जसलाई ‘चुल्हा’ भनिन्छ र सामान्यतया आँपको दाउरा नै त्यो चुल्हामा इन्धनका रूपमा प्रयोग गरिन्छ ।

अस्ताउँदो र उदाउँदो सूर्यको पूजा :  छठ पुजाको तेस्रो दिनलाई सन्ध्या अघ्र्य (साँझको अर्घ) भनिन्छ । यो पहिलो अघ्र्य पनि हो । यो दिन अधिकांश महिला भक्तजनका लागि सबैभन्दा कठिन दिन हो । खरनाको उपवास तोडेपछि अर्थात् खरनाको प्रसाद खाएपछि एक थोपा पानी पनि नपिई रातभरि व्रतमा बसी अर्को दिनभर पानीसम्म नपिई व्रतमा बसी साँझको समयमा जलाशयमा उभिई भगवान् सूर्यदेवलाई पूजा गर्दै सम्पूर्ण प्रसाद, फल, अर्घ अर्पण गरिन्छ, व्रत भने तोडिँदैन । 

भक्तजनहरू साँझमा प्रायः नजिकको पोखरी वा नदीमा नुहाउने गर्छन् र भगवान्को प्रार्थना सूर्यास्तसम्म चल्छ । उखु, कागती, केरालगायत फलफूल तथा आफ्नै, तर छुट्टै भान्सामा तयार पारिएका ठकुवा, भुसुवा, खाजा, मिठाईसमेतका प्रसाद लिएर सूर्यदेवको पूजा गरी भगवान्लाई अर्पण गरिन्छ ।

उषा, अघ्र्य अर्थात् बिहानको उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि मात्र भक्तजनले व्रत तोड्छन् । यो चौथो दिन हो । पानीमा नुहाएर जलाशयमा उभिई प्रत्येक प्रसाद सूर्यदेवलाई अर्पण गरिन्छ । यसरी हेर्दा, व्रतालुहरू ३६ घन्टाभन्दा बढी समयसम्म पानी पनि नखाई कठोर व्रत बस्छन् ।

छठ पूजाको अर्को चाखलाग्दो विषय के हो भने उषा (उदाउँदो सूर्य) र प्रत्युषा (अस्ताउँदो सूर्य) दुवैको आराधना यस पर्वमा विशेष रूपले समावेश छ । प्रत्युषालाई सन्ध्या पनि भनिन्छ । उषा र सन्ध्या दुवै भगवान् सूर्यका पत्नी हुन् ।
बिहानको पहिलो सूर्यको प्रकाश ज्ञानको प्रतीक हो । उषाले अनुष्ठानको समापनमा केन्द्रीय भूमिका खेल्छिन् । दिनको अन्तिम सूर्यकिरणको प्रतिनिधित्व गर्ने प्रत्युषालाई साँझमा पूजा गरिन्छ । यो दोहोरो पूजाले सौर्य चक्रको परिवर्तनकारी शक्ति र जीवनको चक्रीय प्रकृतिको प्रतीक भएको विश्वास गरिन्छ । अर्थात्, भगवान्ले अन्धकारबाट उज्यालोमय जीवन बनाइदिने, सुख, समृद्धि, यश, काल, र कलंकबाट पनि मुक्ति प्रदान गर्ने विश्वास गरिन्छ । 

कृषकलगायत समग्र भक्तजनको भान्साघर सधैँ खाद्यान्नले भरिभराउ होस् र समाजमा कहिल्यै अनिकाल नहोस् भनेर भगवान्सँग प्रार्थना गरिन्छ र परोपकारी सूर्य र माता छठी माईले सबैको कल्याण गर्दै भुमी उर्वरताका लागि पनि आशीर्वाद दिने विश्वास गरिन्छ । यस अर्थमा कृषि उत्पादनको पर्व पनि छठ हो । यो मौलिकताको पर्व पनि हो । फेसन, स्टाइल र आधुनिकताको पर्व कदापि होइन । 

महत्वपूर्ण दिन, नियम र निष्ठा :
१. मरुवा माछ बारनाइ :  (कात्तिक ७ गते शुक्रबार)    यस दिन व्रतमा बस्ने श्रद्धालु र तिनका परिवारका सदस्यले आजदेखि छठसम्मका लागि लसुन, प्याज, मांसाहारी चिजबाट बनेका खानेकुरा नखाने संकल्प लिन्छन् । 

२. नहाय खाय :  (कात्तिक ८ गते शनिबार) यस दिन व्रतालुले नुहाएर, सूर्यको पूजा गरी शुद्ध खानेकुरा सेवन गर्छन् । 

३. खरना : (कात्तिक ९ गते रविबार) यस दिन व्रत बसी साँझ गुड र दुधले बनेको खिर केराको पातमा राखी भगवान्लाई चढाइन्छ र पछि त्यही प्रसाद सेवन गरी व्रतालु फेरि एक थोपा पानी पनि नखाई रातभरि एक्लै, छुट्टै, सफा ओछ्यानमा सुत्छन् । र, उषा अघ्र्यसम्म व्रतमा बस्ने संकल्प गर्छन् । 

४. साँझको अघ्र्य : (कात्तिक १० गते सोमबार) अस्ताउँदो सूर्यको आराधना, पूजा र प्रार्थना गरिन्छ यस दिन । व्रतालु पानीमा उभिएर सबै प्रसाद भगवान्लाई अर्पण गर्छन् । 

५. उषा अघ्र्य : (कात्तिक ११ गते मंगलबार) उदाउँदो सूर्यको पूजा गरी, जलाशयमा पानीमा उभिई सबै प्रसाद फेरि भगवान्लाई अर्पण गरी अनुष्ठानको अन्त्य गरी प्रसाद सबैमा बाँडिन्छ । 

घाटको नियम :  नदी, पोखरी, तालसमेतमा मनाइने छठ पर्वमा घाटको सरसफाइलाई विशेष प्राथमिकता दिइन्छ । घाटको सरसफाइमा जुटेका श्र्रद्धालुले घाट सफा बनाउँछन् । सहर–बजारमा त विभिन्न क्लब, संघ, संगठनले घाटको सरसफाइ गरी केही सामान्य शुल्कसमेत लिई घाट वितरण गर्छन् । 

चौथो दिन छठको कथाश्रवण गरिन्छ । छठको कथा एक महिला व्रतालुले सबैलाई सुनाउँछन् र सो कथाको वेलामा ‘अंकुरी’ (गेडागुडीमध्येको एक) घाटमा बाँडिन्छ । पूजा सकिएपछि त्यो अंकुरी प्रसादका रूपमा खाने गरिन्छ । 
घाटमा महिलाले सिउँदोमा निधारदेखि नाकसम्मको लामो सिन्दुरको टीका लगाउँछन् । यसो गर्दा पतिको आयु बढ्ने विश्वास गरिन्छ । घाटमा महिला तथा पुरुषले आफूभन्दा ठुलाबडालाई ढोग्ने गर्छन् । घाटमा दियो बलिरहनुपर्छ ।भक्तजनहरू घाटमा रहेको दियोमा समय–समयमा तेल थपिरहन्छन् । अन्तिम दिनमा घाटबाट परालमा दियो राखी जलमा प्रवाह गरिन्छ । भनिन्छ, यसो गर्नाले भक्तजनको मनोकामना पूर्ण हुन्छ । 

आस्था, समानता, सरसफाइको पर्व :  प्रायः महिलाद्वारा मनाइने यो पर्वमा पूजा गर्नका लागि पुरुष पुजारी वा मन्त्रको पठन वा जप आवश्यक छैन । यो पर्वले कसैलाई लिंग, जात वा आर्थिक हैसियतका आधारमा भेदभाव गर्दैन । सबै भक्तजन एकसमान हुन्छन् । पुरुष पनि व्रत बस्न पाउँछन् । एउटै घाटमा भक्तजन जुट्छन् । प्रसाद लगभग एकैनासका हुन्छन् । 

यस पर्वले नदी, पोखरी र जलस्रोतको सरसफाइमा जोड दिन्छ । कृषिकर्मबाट उत्पादित सामानले नै पर्वको प्रसाद बन्ने गरेको र प्रसाद राख्ने भाँडो पनि बाँसको टोकरी पनि कृषककै श्रम हो । माटोले बनेको सर्वा, घैलालगायत सामानमा प्रसाद राखिन्छ । बाँसको अधिक प्रयोग गरिन्छ । किनकि, बाँसले वंश वृद्धि हुने विश्वास छ । यस पर्वले भक्तहरूबिच समानता र भाइचारा प्रवद्र्धनमा जोड दिन्छ । सामाजिक सद्भावको वकालत छठले गर्छ । सारसंक्षेपमा भन्दा, स्वच्छता, समानता, समावेशिता र सामुदायिक सद्भाव प्रवद्र्धन गर्ने पर्व छठ हो । यो एक महान् उत्सव हो । 

समर्पण :  छठ परिवारका सदस्यको कल्याणका लागि एक भक्तिपूर्ण प्रतिज्ञा, प्रतिबद्धता र अनुष्ठान हो । यो पर्वले के दर्साउँछ भने हाम्रो समाजका महिला पतिको दीर्घायु र परिवारको समृद्धिका लागि सदैव तयार रहन्छन् । अनुष्ठानहरूले शुद्धता र अनुशासनलाई जोड दिन्छन् । समाजमा एकता र सामाजिक सद्भाव र भावनालाई बढावा दिन्छ ।

छठ पर्वले जात, धर्म वा सामाजिक हैसियतका आधारमा कोही कसैलाई भेदभाव गर्न नहुने सन्देश दिन्छ । प्रदूषणविरुद्ध एकजुट हुन प्रतिबद्ध गराउँछ छठले । मौलिक खाद्यान्न, कृषिकर्ममा जोड दिन्छ । शुद्ध आहार र विषादीरहित खाद्यान्नको परिकार मानवजातिका लागि सेवनयोग्य हुने सन्देश प्रवाह गर्छ यस पर्वले । हाम्रा व्रतालुहरू जतिसुकै कठिन अनुष्ठान बसी समाज र परिवारको उन्नतिका लागि प्रतिबद्ध रहेको र समाजलाई एकताबद्ध गर्ने, सामाजिक सद्भाव तथा आपसी समझदारीलाई समेत बढावा दिन्छ । यस पर्वको विशेषता नै यही हो । 

(झा ‘बिनिथ द सन : इक्वालिटी फर एभ्रिवान, द स्पिरिट अफ छठ फेस्टिभल’ पुस्तकका लेखक हुन्) 

सुझावित समाचार