छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका ठुला पोखरी र कतिपय नदीकिनार (घाट) झकीझकाउ बनेका छन् । केही वर्षदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा समेत छठ पर्वलाई धुमधामसँग मनाउन थालिएपछि यहाँका अधिकांश पोखरी र नदी किनार श्रद्धालुहरूले झकीझकाउ बनाउने गरेका छन् । यस वर्ष पनि भोलि सोमबार (१० कात्तिक)मा मनाइने छठका लागि पोखरी र नदीनाला सरसफाइ गर्ने, पूजाआजा गर्ने ठाउँ व्यवस्थापनलगायत कार्य अन्तिम चरणमा पुगेको छ ।
काठमाडौं महानगरपालिकाले यस वर्ष छठ मनाउन कमलपोखरी, गौरीघाट, बोक्सी दह, बागमती दोभान, टंकेश्वर, बल्खु कुमारी क्लबनजिकै, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटमा स्थान तोकिएको छ । ललितपुरमा धापाखेलस्थित नागदह, शंखमूल, कुम्भेश्वर, कर्मनासालगायत स्थानमा छठ मनाउन सकिनेछ भने भक्तपुरको हनुमन्ते खोला किनार, सिद्धपोखरी, कमलपोखरीलगायत स्थानमा छठ मनाउन स्थान ताकिएको छ ।
छठ मनाउन तोकिएको स्थानमा झिलिमिली बत्ती राख्ने, सरसफाइ गर्ने, बस्न र पूजा गर्नका लागि टेन्ट राख्नेलगायत काम भइरहेको छ । उपत्यका तीनवटै जिल्लामा छठ पर्वमा नेपाल प्रहरी, स्थानीय तहलगायतले सहयोग गर्छन् । नेपाल प्रहरीले छठको सुरक्षार्थ उपत्यकाका तीन जिल्लामा पाँच हजारभन्दा बढी प्रहरी परिचालन गर्ने भएको छ । यस्तै, ललितपुर र काठमाडौं महानगरपालिकाले पनि छठ मनाउने स्थलमा नगर प्रहरी परिचालन गर्ने जनाएको छ ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरभित्र छठ मनाउने स्थलमा नगर प्रहरी परिचालन भइसकेको र सरसफाइ तथा आवश्यक पूर्वाधार निर्माण भइरहेको बताए । ‘छठ मनाउनका लागि उपत्यकाका सीमित ठाउँहरू छन्, त्यहाँ नगर प्रहरी परिचालनका साथै आवश्यक सहयोग पनि गरिरहेका छौँ,’ उनले भने, ‘कतिपय स्थानमा भक्तजनको भिडभाड हुने भएकाले अन्य सुरक्षा निकायसँगको समन्वयमा नगर प्रहरी परिचालन हुन्छ ।’