पासाङ ल्हामु निकोल निक्की अस्पतालको २०औँ वार्षिकोत्सव सम्पन्न

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

पासाङ ल्हामु निकोल निक्कि अस्पतालले २०औं वार्षिकोत्सव मनाएको छ। सो अवसरमा प्रमुख अतिथि स्विस राजदूत दानियल भेरोनिक मोलीले हिमालयको मुटुमा रहेको पासाङ ल्हामु निकोल निक्की अस्पताल स्विस–नेपाली एकताको प्रतीक भएको बताइन्।

समुन्द्री सतहबाट झण्डै २ हजार ९ सय मिटर उचाई लुक्लामा रहेको अस्पतालको २०औं वार्षिकोत्सवमा सामेल हुन पाउँदा आफूले गौरवान्वित महसुस गरेको उनको भनाई थियो। नेपालको दुर्गम क्षेत्रमा सुविधा सम्पन्न अस्पताल २० वर्षसम्म नियमित सञ्चालन आउनुलाई उनले उल्लेखनीय उपलब्धी भएको बताइन्।

कार्यक्रममा विशिष्ठ अतिथि खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले यो अस्पतालले स्थानीयबासी र बाह्य पर्यटकहरुको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। उनले भने, ‘यो अस्पतालले महिलाको पाठेघरको उपचार, सुत्केरीलगायतका संवेदनशील स्वास्थ्य उपचारदेखि आर्थिक अवस्था कमजोर हुने स्थानीयबासीलाई निःशुल्क उपचार गर्दै आएको छ।’

अस्पतालका संस्थापक निकोल निक्कीले यो अस्पतालसँग जोडिएको २० वर्ष वितेको पत्तै नपाएको बताइन्। उनले अस्पताल र फाउन्डेशनमार्फत मानवसेवामा जोडिन सहयोग गरेको भन्दै स्विजरल्याण्डका दाताद्वय रब र राल्फलाई विशेष धन्यवाद व्यक्त गरिन्।

अस्पतालका कार्यकारी निर्देशक पासाङकाजी शेर्पाले अस्पतालले हिमाली क्षेत्रमा बसोबास गर्ने निम्न आय भएका परिवारको स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गर्दै आएको बताए। 

कार्यक्रममा खुम्बु पासाङ ल्हामु गाउँ पालिकाकाका उपमेयर टाशी ल्हामु शेर्पा, पासाङ ल्हामु फाउन्डेसनका अध्यक्ष तथा स्पेनका लागि पूर्वराजदूत दावा फुटी सेर्पा, राष्ट्रिय विभूती पासाङ ल्हामु शेर्पाका भाई साइलो भाई क्याप्टेन आङ गेलु शेर्पा, निकोल निक्की फाउन्डेशनका सदस्य पासाङ ग्याल्जेन शेर्पालगायतको उपस्थिति थियो।

सुझावित समाचार