म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलोपटक अपाङ्गता भएका पर्यटकहरु पुगेका छन्। पछिल्लो समय आन्तरिक पर्यटकहरुको आगमन बढेको अन्नपूर्ण आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्ग हुँदै अपाङ्गता भएका व्यक्तिहरुले आधार शिविरसम्मको भ्रमण गरेका हुन्।
अपाङ्ग सञ्जाल अन्नपूर्ण गाउँपालिकाको आयोजनामा ६ प्रकारका अपाङ्गता भएका ९ जनाले यही कात्तिक ५ गतेदेखि नारच्याङको हुमखोलादेखि सुरु गरेको पदयात्रा कात्तिक ८ गते आधार शिविर पुगेर फर्किएको सञ्जालका सचिव विशाल विकले जानकारी दिए। नारच्याङदेखि हुमखोलासम्म सवारी यात्रापछि २२ किलोमिटर दूरीको पदमार्गमा पैदल यात्रा गरेर उनीहरुले अपाङ्गतामैत्री अन्नपूर्ण पदयात्रा गरेका हुन्।
चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल र चार हजार एक सय ९० मिटर उचाइमा रहेको अन्नपूर्ण प्रथम आधार शिविरसम्म पुगेर सो टोली फर्किएको हो। पदयात्रामा चोमु शेर्पा खुसी, ईश्वर बास्तोला, राजेश भण्डारी, सेरेवल पालसी, सङ्गीता शर्मा, विशाल विक, भीम गुरुङ, वासु थकाली रहेका थिए। उनीहरुको सहयोगीका रूपमा बन्दना राई सहभागी भएकी थिइन्।
पर्यटन क्षेत्रमा अपाङ्गतामैत्री नीति तथा भौतिक संरचनाको निर्माण र समावेशीताको सन्देश फैलाउनका लागि आयोजना गरिएको पदयात्रा सफल भएको सञ्जालका सचिव विकले जानकारी दिए।
‘अपाङ्गता भएका व्यक्तिहरुमा पनि प्रकृतिसंग रमाउने चाहना हुन्छ, तर पर्यटन पूर्वाधारहरुलाई अपाङ्गतामैत्री बनाउनतर्फ खास ध्यान पुगेको हुँदैन, हामीले पदयात्रामा साहसिक मानिएको अन्नपूर्ण प्रथम आधार शिविर पुगेर अपाङ्गतामैत्री पदयात्रालाई पूरा गरेका छाँै, यसले सरोकारवाला निकायलाई नीति र पूर्वाधार बनाउँदा रचनात्मक पृष्ठपोषण गर्ने छ भन्ने लागेको छ,’ उनले भने।
पदयात्रामा सहभागी भएका अपाङ्गता भएका पर्यटकहरुले पदमार्ग, होटललगायतका पूर्वाधारहरु अपाङ्गतामैत्री नभएकाले आगामी दिनमा संरचना निर्माण गर्दा अपाङ्गतामैत्री बनाउन आबश्यक रहेकोमा सरोकारवालाको ध्यानकर्षण गराएका थिए। टोलीमा सहभागीहरुले आफ्नो पदयात्रामा निस्किएका फोहोरका सामानसमेत आफैँ व्यवस्थापन गरेर सकरात्मक सन्देश प्रवाह गरेका छन्।
टोलीमा सहभागी बासु थकालीले साँकेतिक भाषामा अन्नपूर्ण आधार शिविर क्षेत्रमा फोहोर देखिएको भन्दै हरेक पदयात्रीहरुले आफुले लगेको फोहोरलाई आफैँले झोलामा फर्काएर व्यवस्थापन गर्न अनुरोध गरेका थिए। अन्नपूर्ण पदमार्ग र आधार शिविर क्षेत्रलाई फोहोररहित बनाउन पर्यटक, होटल व्यवसायी, स्थानीय तह र सरोकारवालाहरुले ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिएका छन्।