राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारको सम्मान र संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ। शान्तिपूर्ण रूपमा भेला हुने, प्रदर्शन गर्ने, सभा–सम्मेलन गर्ने नागरिकको मौलिक हक र मानव अधिकारको विषय रहेको स्मरण गराउँदै आयोगले सरकारलाई सचेत गराएको हो।
‘नागरिकले राखेका मागहरू समयमै उचित सम्बोधन गर्न, समस्याको समाधानमा सबैको भूमिका सुनिश्चित गर्न तथा नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार एवं मानव अधिकारको सम्मान र संरक्षण गर्न आयोग नेपाल सरकारलाई आह्वान गर्दछ,’ आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुन आवश्यक रहेको औँल्याउँदै आयोगले प्रदर्शनरत पक्षलाई समेत आफ्ना मागहरू शान्तिपूर्ण रूपमा राख्न आह्वान गरेको छ।
‘विगतका केही अभ्यासहरू हेर्दा प्रदर्शनहरू ध्वंसात्मक र हिंसात्मक हुन पुगेको तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यसप्रकारका हिंसात्मक गतिविधि नहोऊन् भन्नेतर्फ सचेत रहँदै प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ। आगामी दिनमा हुने प्रदर्शनहरूमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको हुन्छ,’ विज्ञप्तिमा भनिएको छ।
