नेपालमा लगानी गर्न अमेरिकी लगानीकर्तालाई ढकालको आग्रह

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले नेपालमा जताततै सम्भावना र अवसरहरू मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले यस्तो अवसर र सम्भावना कतै नदेखिएको समेत बताए । 

‘नेपालमा सम्भावना नै छैन, नेपालको पुँजीले केही हुँदैन, यहाँ व्यवसायको वातावरण नै छैन भन्नेजस्तो बनाएको मात्र सुन्छु,’ उनले भने, ‘तर, मैले भने नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिनँ ।’

अध्यक्ष ढकालले नेपालमा अझै धेरै क्षेत्रहरू एक्स्प्लोर गर्न बाँकी रहेको प्रसंग उल्लेख गर्दै भने, ‘यहाँ त हामीले केही गरेकै छैनौँ । जति धेरै एक्स्प्लोर गर्यो, त्यति नै अवसर भेटिन्छन् । ती अवसरलाई सम्भव बनाउन हामी लाग्नुपर्ने अवस्था छ । त्यसैले प्रयास नै नगरी नेपालमा सम्भावना नै छैन भन्नु गलत हो ।’

नेपालमा लगानीका लागि वातावरण नै नभएको भन्ने गरिए पनि त्यो सत्य नभएको भन्दै नेपालमा वैदेशिक लगानीका लागि अमेरिकामा रहेका लगानीकर्तालाई आग्रह गरे ।

‘महासंघको पहल र अगुवाइमा लगानीमैत्री वातावरणका लागि आवश्यक कम्तीमा पनि ३० वटा कानुन संशोधन गरिएको छ । अर्थतन्त्रको सुधारसम्बन्धी उच्चस्तरीय आयोगले दिएका सुझावको कार्यान्वयन सुरु गरिएको,’ उनले भने, ‘पछिल्लो समय नेपालमा लगानीका सम्भावनाको खोजी स्वदेश तथा विदेशी लगानीकर्ताले गरिरहेको अवस्था छ ।’

आफूहरूले नेपालमा लगानीको सम्भावना छ भन्ने कुरा प्रमाणित गर्न र ठुला लगानी गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि स्वदेशी व्यवसायी तथा गैरआवासी नेपालीको समेत संलग्नतामा हालसालै १० अर्ब रुपैयाँको नेपाल डेभ्लपमेन्ट पब्लिक लिमिटेड (एनडिपी) स्थापना गरेर काम नै सुरु गरिएको जानकारी दिए ।

निजी क्षेत्रमाथिको आक्रमणले राम्रो सन्देश दिएन
हालै जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रका प्रतिष्ठान तथा निजी सम्पत्तिमा समेत भएको आक्रमणले भने राम्रो सन्देश नदिएको उनले बताए । 

‘निजी क्षेत्रजस्तो मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान तथा ८६ प्रतिशत रोजगारी दिएको क्षेत्रलाई यसरी हतोत्साही हुने गरी भएको आक्रमणले राम्रो सन्देश नदिएको र यो एकदमै गलत काम भएको छ,’ उनले भने । 

अध्यक्ष ढकालले निजी क्षेत्र नै मुलुकको आर्थिक विकासको मुख्य इन्जिन हो भन्ने तथ्यलाई बिर्सिएर सामाजिक सञ्जाल एवं आममानिसमा व्यवसायीहरू भनेका नाफा मात्र कमाउने हुन् भन्नेजस्तो गलत भाष्य निर्माण गरिएकाले यस्तो गलत मानसिकतामा परिवर्तन जरुरी रहेको बताए । ‘मुलुकको अर्थतन्त्रमा र प्रत्यक्ष रोजगारीमा यति धेरै योगदान गरिरहेको निजी क्षेत्रप्रतिको सोच र आमधारणा अत्यन्तै गलत छ, यसलाई परिवर्तन गर्नुपर्छ’, उनले भने ।

सुझावित समाचार