सुरक्षा अवस्थाबारे बालुवाटारमा सूक्ष्म विश्लेषण

शनिबार, ८ कार्तिक, २०८२
डिजिटल संस्करण

देशको सुरक्षा चुनौतीको विश्लेषण  गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ।

प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखसहितको बैठकले सुरक्षा समीक्षा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत  गरेका थिए। सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको थियो। 

बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ। विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन्। आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्। राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ। सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौँ। संवादबाटै समस्याको समाधान चाहन्छौँ।’

अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढंगले प्रस्तुत भइदिन पनि उनले आग्रह गरेका छन्। 

निर्वाचनमा जानका लागि दलहरूले सुरक्षाको अवस्था राम्रो नभएको बताएको तथा तिहारपछि केही समूहले आन्दोलन गर्न लागेको सन्दर्भमा यो बैठक बसेको हो। 
 

सुझावित समाचार