मधेश प्रदेश सरकार विस्तारबारे रौतहटको चन्द्रनिगाहपुरमा सत्तापक्ष दलहरूको बैठक सम्पन्न भएको छ। गोल्डेन बैंक्वेटमा शुक्रबार बिहान ११ बजेदेखि बसेको बैठकमा जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) का नेताहरू सहभागी भएका थिए।
बैठकमा सरकार विस्तार, मन्त्रालय भागबन्डा, सरकारको कार्यक्षेत्र (टिओआर) तथा विश्वासको मत लिने तयारीलगायतका विषयमा विस्तृत छलफल भएको नेकपा (माओवादी केन्द्र) का नेता समीर भट्टराईले जानकारी दिए ।
उनका अनुसार छठ पर्वका कारण हाल विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि धकेलिएको भए पनि, बाहिर हल्ला भएजस्तो सरकार विश्वासको मत लिन असमर्थ हुने अवस्था भने नरहेको बताए । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता तथा विनाविभागीयमन्त्री कनिश पटेलले मन्त्रालय भागबन्डाकाे टुंगो नलागेको र विश्वासको मत लगत्तै टुंगाे लाग्ने बताए ।
गत असोज २९ गते पाँच दलको समर्थनमा लोसपा नेता जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका थिए । असोज ३० गते उनले पद तथा गोपनीयताको शपथग्रहण गरेको थियो । त्यसयता जनमत पार्टीका नेता महेशप्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का नेता कनिश पटेललाई बिना विभागीयमन्त्री नियुक्त गरिएको भए पनि मन्त्रालयको जिम्मेवारी अहिलेसम्म तोकिएको छैन।