नवलपुरमा देउसी–भैलो खेल्ने क्रममा कुटपिटबाट एकको मृत्यु, तीनजना पक्राउ

शुक्रबार, ८ कार्तिक, २०८२
डिजिटल संस्करण

नवलपुरमा देउसी–भैलो खेल्ने क्रममा कुटपिट हुँदा गएराति एकजनाको मृत्यु भएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ४ गोग्दीस्थित दुमकट्टामा देउसी–भैलो खेल्ने क्रममा कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ । देउसी–भैलो खेल्ने टोली र स्थानीय ४४ वर्षीय सन्तबहादुर ठाडामगरबिच वादविवाद हुँदा भैलो खेल्ने टोलीले सन्तबहादुर ठाडामगरलाई कुटपिट गरेको हो ।

कुटपिटबाट ठाडाको मृत्यु भएको छ । घटनामा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । कुटपिटबाट गम्भीर घाइते मगरको उपचारको क्रममा स्थानीय लुम्बिनी मेडिकल बगैँचामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

हत्या आरोपमा प्रहरीले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ४ दुमकट्टा निवासी २० वर्षीय धरन पाइजासहित तीनजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमध्ये दुईजना बालक रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनजना अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरमा रहेका छन् ।

See More On

सुझावित समाचार