जेन-जी आन्दोलनमा आगजनी भएको निजीनिवासको अवलोकनमा ओली

बुधबार, ६ कार्तिक, २०८२
डिजिटल संस्करण

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा क्रममा भदौ २४ गते जलेको बालकोटको निजीनिवासको आज अवलोकन गरेका छन्। उनले घरको सबै ठाउँको अवलोकन गरेका छन्।

उनी घरको बार्दलीमा पुगेर खण्डहर बनेको घरको निरीक्षण गरे। यसैगरी, उनी पुस्तकालयमा पुगेर जलेको पुस्तकालयको पनि अवलोकन गरेका छन्। जेन-जी आन्दोलनमा आगलागी भएर पूर्ण रूपमा नष्ट भएको निजीनिवासमा उनी आज पहिलोपटक पुगेका हुन्। उनी पुस्तकालयमा धेरै समय रोकिएका थिए । 

विशेष गरेर शिव र बुद्धका मूर्ति चोरिएकोमा उनले दु:ख व्यक्त गरे। यसैगरी, सरस्वतीको मूर्ति पनि चोरिएको र त्यो फिर्ता आएको उनले बताए। काम नलाग्ने वस्तु छोडिएको छ र गिफ्ट आइटम सबै चोरिएको उनको भनाइ थियो।

घर लुटपाट गर्नेहरू विदेशी थिएनन्, ओलीले भने, 'सबै आसपासकै आपराधिक समूह थिए। केही मानिस चिनिएकै छन्। तर, सरकारले तिनीहरूलाई कारबाही गर्न खोजिरहेको छैन। सरकार र गृहमन्त्रीको मनोभाव तोडफोड, लुटपाट र आगजनीको पक्षमा देखिन्छ।'

'ममाथि सरकारको व्यक्तिगत दुस्मनी देखिन्छ,' ओलीले भने, 'यसले मलाई सरकारप्रति गम्भीर आशंका पैदा गरेको छ। आगामी दिनमा हेर्दै जाऊँ। एमाले जिउँदो पार्टी हो। यो पार्टी अवैध रूपबाट पलाएको सरकारको तमासासँग किन्चित डराउँदैन।'

'मेरो निजीनिवास राज्यकै सम्पत्ति थियो। हाम्रो निधनपछि यो सार्वजनिक सम्पत्ति हुने थियो। हामीले यो घर धरौटीमा राख्न पाउँदैनथ्यौँ र बेचबिखन गर्न पनि मिल्दैनथ्यो। किनकि यो राज्यको थियो,' ओलीले भने, 'हामी आगजनी, लुटपाट र चोरीका सम्बन्धमा मुद्दामामिला गर्दैनौँ, तर देशैभरका एमाले नेताका घरमा आगजनी, लुटपाट र चोरी भएको छ। उहाँहरू मुद्दा नलड्ने भन्ने हुँदैन।'

See More On

सुझावित समाचार