प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको बताएकी छिन् । यस कार्यमा सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा आफू विश्वस्त रहेको उनले बताइन्।
नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको बताएकी हुन् ।
यस अवसरमा उनले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाप्रति श्रद्धासुमन अर्पणसमेत गरेकी थिइन् । 'नेपाल राष्ट्रलाई स्वतन्त्र र स्वाधीन बनाउन विभिन्न आन्दोलनमा ज्यान बलिदान दिएका ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गर्दै उनले भनिन्, ‘नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो। यसका प्रवर्तक शंखधर साख्वा एक व्यापारी हुनुहुन्थ्यो। तर, उहाँ केवल नाफा कमाउने व्यापारी मात्र नभएर एक महान् समाजसेवी र लोककल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो।’
‘नेपाल संवत् नेपाली धर्तीमा उत्पत्ति भएको हो। नेपाली जनताले यसको प्रादुर्भाव गरेका हुन्। तसर्थ नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर हो यो संवत्। यस संवतको प्रवर्तन गर्ने ती महान् व्यक्तित्व साख्वाबाट आज पनि हामीले सिक्ने कुरा के छ भने व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई राखी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्छ। २०८२ भदौ २३ र २४ गते जेन–जीले देशमा व्याप्त चरम भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा कलिला युवाहरूको अनाहकमा ज्यान गएको र सयौँको संख्यामा घाइते भएको घटनाले आफू अत्यन्त दु:खी भएको प्रधानमन्त्रीले बताइन् । आज यस समारोहमार्फत पनि उक्त आन्दोलनमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ उनले भनिन् ।
‘जेन–जी आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले ०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको छ। यस सरकारसँग नेपालको संविधानको अधीनमा रही जेन–जी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ,’ उनले भनिन्, ‘यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ। आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ।’