प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा दिवंगत नेपाली विद्यार्थी विपिन जोशी सबैको मनमा रहिरहने बताएकी छिन्।
जोशीप्रति आज श्रद्धाञ्जली व्यक्त गर्दै उनले भनिन्, 'जोशीले आफ्नो देशको नाम त राखे राखे, इजरायली जनता र सरकारबाट पनि सम्मान पाए। त्यसैले उहाँलाई बहादुर युवा भन्नुपर्छ। यस्तो बहादुर छोरा जन्माउने आमा, उहाँको खोजीमा अथक संघर्ष गर्ने बहिनीप्रति पनि सम्मान छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री कार्कीले जोशीको शव नेपाल ल्याएसँगै विगत दुई वर्षदेखि जोशीलाई खोजिरहेका तीन करोड नेपालीका आँखा रसाएकाे बताइन्। उनले विपिनलाई सकुशल पाउने नेपालीको विश्वास आज निराशामा परिणत भएको उल्लेख गरिन्।