अलैँचीको मूल्यमा निरन्तर वृद्धि

‘खोल्सीको कालो सुन’को मूल्य उकालो लाग्दा किसान र व्यापारीमा उत्साह

सोमबार, ४ कार्तिक, २०८२
डिजिटल संस्करण

दसैँ सकिएपछि ताप्लेजुङमा ‘खोल्सीको कालो सुन’ भनेर चिनिने अलैँचीको मूल्य लगातार बढ्दै गएको छ । असोज लागेसँगै घट्दै गएको मूल्य दसैँपछि पुन: वृद्धि हुन थालेपछि किसान र व्यापारी दुवै उत्साहित बनेका छन् ।

फुङलिङ बजारमा हाल सामान्य गुणस्तरको अलैँची प्रतिमन (४० किलो) ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । ठुलो दाना भएको गुणस्तरीय अलैँची भने प्रतिमन ९० हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ । स्थानीय व्यापारी कमल बरालका अनुसार पछिल्ला चार–पाँच दिनयता अलैँचीको मूल्य दैनिक एक हजार रुपैयाँका दरले बढिरहेको छ । 

भदौ महिनापछि बजारमा आउन थालेको नयाँ अलैँची सुरुवाती चरणमा प्रतिमन ८८ हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । तर, असोज लागेपछि बजारमा माग घट्दै जाँदा मूल्य क्रमश: घट्दै गएर ८० हजार रुपैयाँमा झरेको अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिए । तर, दसैँ सकिएसँगै पुन: मूल्यवृद्धि सुरु भएको उनले बताए । ‘दैनिक पाँच सयदेखि एक हजार रुपैयाँका दरले मूल्य बढिरहेको छ । किसान र व्यापारी दुवैको मनोबल उच्च भएको छ,’ उनले भने । नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने भएकाले यसको दर कहिले घट्छ वा बढ्छ भन्ने निश्चित हुँदैन । माग, आपूर्ति र विदेशी व्यापारको उतारचढावसँगै यसको मूल्य निर्धारण हुने गरेको व्यापारीको भनाइ छ । गत वर्षको तुलनामा यस वर्षको सुरुवाती मूल्य राम्रो आएकाले किसान खुसी भएका छन् ।

ताप्लेजुङमा अलैँची प्रमुख नगदेबालीका रूपमा चिनिन्छ । जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङलुङ गाउँपालिका– ७, ओलाङचुङगोलाबाहेक सबै क्षेत्रमा यसको खेती हुने गरेको छ । कृषि ज्ञानकेन्द्र ताप्लेजुङका अनुसार हाल जिल्लामा चार हजार एक सय ६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको छ । गत वर्ष सो क्षेत्रबाट दुई हजार पाँच सय ३१ मेट्रिकटन अलैँची उत्पादन भएको थियो ।

अलैँची खेतीले ताप्लेजुङका हजारौँ किसानको जीवनयापनमा सुधार ल्याएको छ । पछिल्लो मूल्यवृद्धिले उनीहरूमा थप उत्साह र आत्मविश्वास जगाएको छ । यदि अन्तर्राष्ट्रिय बजार स्थिर रह्यो भने आगामी महिना अझै मूल्य बढ्ने सम्भावना रहेको व्यापारीहरू बताउँछन् । 

See More On

सुझावित समाचार